‘मोबाइल खेलाएको भरमा पैसा कमाउँछन् भन्ने बुझाइले सेयर बजार सुस्तायो’

‘मोबाइल खेलाएको भरमा पैसा कमाउँछन् भन्ने बुझाइले सेयर बजार सुस्तायो’


वि.सं. २०३३ देखि सुरु भएको नेपाली सेयर बजार अहिलेको अवस्थासम्म आई पुग्दा मेचुअर्ड हुनुपर्ने हो । तर, आजको दिनमा पनि सेयर बजार बामे सर्दै गरेको अवस्थामा छ । बामे सर्दै गरेको यो सेयर बजारमा लगानीकर्ता मात्रै दोषी छन् या अन्य पनि भनेर बुझ्न जरुरी छ । किनभने लगानीकर्ता सन्तुष्ट हुनका लागि सेयर बजारको नीति नियम स्थायित्व हुनुपर्यो । तीन वर्षदेखि निरन्तर घटिरहेको बजारको बिन्दु लयमा फर्काउनको लागि सम्बन्धित निकायले पनि पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

हामीले नियामक निकायलाई सेयर बजारका सुधार गर्नुपर्ने आवश्यक विषयहरूलाई समेटेर बुझाएका पत्र आज सम्बन्धित निकायका डस्टबिन वा दराजमा थन्काइएको छन् । ५/६ वर्ष अघि दिएका सुझावलाई कार्यान्वयन नै गर्न सकिँदैन भने सेयर बजार प्रति राज्य कति गैर जिम्मेवार छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । हामीले बुझाएका ती नीति नियमको कार्यान्वयन नगरेसम्म बजार निराशाजनक तरिकाले नै चली रहन्छ ।

जबसम्म निष्पक्ष तरिकाले बोर्ड सम्हाल्ने व्यक्ति आउनु हुन्न तबसम्म सेयर बजारको अवस्था यस्तै रहन्छ ।

क्यान्सर भइसकेको सेयर बजारको उपचारका लागि पक्रिया अगाडि बढाउनु पर्ने ठाउँमा नियामकले सामान्य सिटामोल दिएर टार्ने काम गरिरहेको छ । लगानीकर्ताको मनोबल बढाउन नीति नियममा सहजीकरण हुनुपर्छ । नेपाल राष्ट्र बैंकले नियमन गर्ने बाहानमा सङ्कुचित नीति लिएर सेयर बजार नियन्त्रण गरिरहेको छ । सेयर बजारको भलो चाहने हो भने अहिलेको अवस्थामा यसलाई लचिलो बनाउँदै जानु पर्छ ।

यसमा लगानीकर्ताको दोष कति र नियमनकारी निकायले के गर्नु पर्थ्यो, राज्यले कसरी हेर्नु पर्थ्यो भन्ने विषय चाहिँ ठुलो छ । भगवानलाई भाकल गरेर, क्लब हाउसमा छलफल गरेर बजार बढ्दैन । लगानीकर्तालाई चाहना बजार बढोस् नै भन्ने हुन्छ । त्यसैले बजारलाई दिगो बनाउनका लागि राज्यले सोही अनुसार सुधार र सेयर बजारको विकासको परिकल्पना गर्नुपर्छ । सेयर बजारका लागि सही नीति नियमको आवश्यकता ठहर गरी आवाज उठाउँदै आए पनि सुन्नाई नहुनु चाहिँ विडम्बनाको विषय हो ।

क्यान्सर भइसकेको सेयर बजारको उपचारका लागि प्रक्रिया अगाडि बढाउनु पर्ने ठाउँमा नियामकले सामान्य सिटामोल दिएर टार्ने काम गरिरहेको छ ।

कुनै बेला बजार बढेर ३२ सयसम्म पनि पुग्यो । तर, त्यो बेला सेयर बजारको जग नै बलियो नभएका कारण नेप्से परिसूचक १८ सयको आसपासमा आएर खुम्चिनुपर्यो । लगानीकर्ताहरू अब बजार बढ्छ । यो कम्पनीको किन्नुहोस् त्यो किन्नु होस् भन्ने धेरै जनाले बताइ रहेको पाउँछु । तर, त्यो भन्नु गलत हो भन्छु । किनभने बजारको जानकारी पर्याप्त कसैलाई हुँदैन ।

मैले आजसम्म बजार बढ्छ, बजार घट्छ, यो किन्नु होस् त्यो किन्नु होस् भनेर कहिले पनि भनेको छैन । नीतिलाई टिकेर हिँडी रहेको छु र त्यही अनुसार काम पनि गर्दै आएको छु । राज्य सेयर बजार प्रति गैर जिम्मेवार भएकै कारण आज आम लगानीकर्ता निराशाजनक हुनु परेको भन्ने मेरो बुझाइ छ । अहिलेको अवस्थामा सेयर बजारले परिपक्वता चाहेको छ । कुनै अर्थमन्त्री आउँदा सय अंकले बढ्ने, अर्को आउँदा बजार सोही अंकले घट्ने गरी बजार फितलो अब हुन हुँदैन ।

पूँजी बजारको जग बलियो भएपछि मात्र बजार बढ्छ । त्यसको लागि सुधार गर्नुपर्ने काम धेरै छन् । अहिले तुलनात्मक रूपमा बजार घटेको छ । राज्य पनि बजार प्रति सकारात्मक बन्यो भने बजार बढ्छ । वर्तमान अर्थमन्त्रीले आउने बित्तिकै ६२ लाख लगानीकर्ताको भावनासँग खेल्नु भएको छ । किनभने लगानीकर्ताहरू जुन समस्याबाट गुज्रिरहेका थिए । ती समस्याको समाधान गर्छु भनेर उहाँले भन्नुभएको थियो । त्यसको हामी पनि पूँजी बजारका समस्या लिएर उहाँभए ठाउँमा पुग्यौं । उहाँले हामीलाई प्रश्न गर्नुहुन्थ्यो खासमा बजारलाई कति अंकमा लगेर राख्नुपर्छ भनेर ।

पूँजी बजारको जग बलियो भएपछि मात्र बजार बढ्छ ।

लगानीकर्तालाई आगामी आर्थिक वर्षको बजेटमा अरू अर्थमन्त्रीले गर्न नसकेको काम सुधार अहिलेको अर्थमन्त्रीले गर्नु हुन्छ भन्ने लागेको थियो । तर, अहिलेको बजेट पनि पुरानै विषयहरू दोहोरिएका छन् । राष्ट्र बैंकले बजारलाई बढी नै हस्तक्षेप गर्छ । हिजो ३२ सय पुगेको सेयर बजार आज १७/१८ सयको हाराहारीमा घुमी रहँदा राष्ट्र बैंकले नीति नियममा अलिकति लचकता ल्याउनुपर्छ जस्तो मलाई लाग्छ । सङ्कुचित नीति नियम हुँदा बजार धराशायी हुँदै गएको छ । आउने मौद्रिक नीतिले पश्चात् यस क्षेत्रमा केही सुधार आउने अपेक्षा लगानीकर्ताको हो । मौद्रिक नीति अघिल्ला वर्षमा पनि आएका हुन् । तर, बजार खासै बढेको छैन । त्यसैले बजार बढ्नको लागि हामीले दिएका सुझावहरू सम्बोधन हुनु पर्याे । यी विषयको सुधार गर भनेर नेताको ढोकामा गएर लाइन बस्दा पनि केही भएन ।

बजेट राम्रो आउला, मौद्रिक नीति राम्रो आउला अनि बजार बढ्ला भन्ने आसैमा लगानीकर्ताकाे दिन बित्ने गरेको छ । नयाँ मौद्रिक नीतिपछि बजार कता तिर जान्छ भनेर त्यसको नीतिले फरक पार्छ । हामीले राष्ट्र बैंकलाई मौद्रिक नीतिमा समेटिनु पर्ने विषयहरू सुझावको रूपमा दिइसकेका छौं ।

बजारलाई गतिशील बनाउने भन्दै लगाइएको क्याप पूर्ण रूपमा खारेज गर्नपर्छ । अब मौद्रिक नीतिमा कस्तो कुराहरू आउँछ त्यही अनुसार बजारले गति लिन्छ । हाम्रो संघलाई महासंघ बनाउने विषय धेरै समय पहिलादेखि आएको हो । मलाई महासंघ भन्दा पनि त्यसको काम, उसको उद्देश्य के हो ? त्यसले पूर्णता पायो कि पाएन भन्ने विषय चाहिँ ठुलो लाग्छ । महासंघ बनाउने विषयलाई लिएर ५/६ वर्ष अघि पनि कुरा चल्दै थियो । आज पनि चलिरहेको छ । यो ठुलो कुरा हैन । त्यसले निस्किने परिणाम चाहिँ के भनेर हेर्न जरुरी छ ।

हामीले धितोपत्र बोर्डले गर्ने काम गरिरहेका छौं । मैले आफ्नै खर्चमा ४३ जिल्लामा म आफै उपस्थित भएर सेयर बजार सम्बन्धित ट्रेनिङ दिएको छु । र, दिँदै जाने पनि छु । महासंघ भन्ने बित्तिकै अहिलेका ठुलो बल हुन्छ भन्ने मात्र हो ।

‘बोर्डको अध्यक्ष निष्पक्ष हुनुपर्‍यो’

यो कम्पनीको सेयर बढ्छ, यो किन्नु होस् भनेर भन्ने प्रचलन बेठिक हो भनेर कुरा उठाउँदै आएका छौं । त्यस्तालाई कारबाही गर्नुपर्छ भनेर सम्बन्धित निकायलाई भनी पनि रहेका छौं । किनभने कसैले भन्न सक्दैन सेयर बजार कहाँ जान्छ भनेर । राजनैतिक अवस्था, तरलता, समय–समयमा फैलिने अखबारका आदिका कारण पनि यसलाई असर पुर्याएको हुन्छ । कसैले बजार यो हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । बजारका पण्डितहरूले बजार यतिले अंकले बढ्छ वा यति अंकले घट्छ भनेर भनेको मलाई ठिक हो जस्तो लाग्दैन । किनभने बजारलाई कुन अवस्थामा लाग्छ भन्ने विषय नीतिले निर्धारण गर्छ । थोरै समय यस्तो अवस्थाले कमाउन सकिएला । तर, दीर्घकालीन रूपमा त्यसलाई लगानीकर्ताहरूलाई घाटा नै बेहोर्नुपर्छ ।

हामीले सेवनको अध्यक्षको लागि खबरदारी गर्दै आएका छौं । जबसम्म निष्पक्ष तरिकाले बोर्ड सम्हाल्ने व्यक्ति आउनु हुन्न तबसम्म सेयर बजारको अवस्था यस्तै हुन्छ । अगाडि नेतृत्व गर्नेहरूलाई पनि हेरौं । अध्यक्ष एउटा न एउटा विवाद भएर निस्किनु नै भएको छ । बोर्ड लगानीकर्ताको पिता हो । पिता राम्रो भएपछि मात्र बच्चाको भविष्य राम्रो हुने भएकाले निष्पक्ष अध्यक्ष बोर्डको आवश्यकता हो ।

अहिले दर्जनौं आईपीओ पाइपलाइनमा अड्किएर बसेका छन् । राज्यले बोर्डलाई सही नेतृत्वकर्ता प्रधान गर्न सक्दैन भने यति धेरै नागरिकलाई कसरी सुरक्षा प्रधान गर्छ ? बोर्डले अध्यक्ष समयमै नपाउनु दुःखको कुरा हो । अहिले थोत्रे कम्पनीहरूले प्रिमियममा थपेर ल्याउने र लगानीकर्तालाई भिडाउनु चाहिँ एकदमै नराम्रो काम हो । यसमा मैले बहस पनि गर्दै आएको छु । कुनै पनि हालतमा प्रिमियम रोकिनुपर्छ भन्ने मेरो मान्यता हो ।

राज्यले लगानीकर्तालाई यो देशका नागरिक नै मान्दैन । सेयर बजारमा पूँजी पति वर्ग मात्रै छन् भन्ने तरिकाले सरकारले बुझ्छ । तर, सेयर बजारमा सडकमा बसेर साग बेच्नेदेखि पूँजीपति वर्गसम्मले लगानी गरेका हुन्छन् । उनीहरूले मोबाइल खोलाएको भरमा पैसा कमाउँछन् भन्ने बुझाइले पनि सेयर बजारलाई उपेक्षित गरिएको लाग्छ ।

मौद्रिक नीति ६२ लाख लगानीकर्ताले सम्झिने बनाउने हो कि सधैंका बिर्सिने बनाउने त्यो गभर्नरकै हातमा छ ।

सेयर बजारप्रति मान्छे अनुसारको बझाई फरक छ । सेयर बजार सबैले बुझ्न आवश्यक छ । यसको बारेमा सबैलाई बुझाउँदै अगाडि बढ्यो भने सेयर बजारको भविष्य सुन्दर छ । धेरै युवा लगानीकर्ताहरू सेयर बजारमा लागि रहेका छन् ।
लगानीकर्ताहरूले आफ्नो व्यापार व्यवसाय छाडेर सबै लगानी सेयर गर्नु उचित हैन भन्ने मलाई लाग्छ । किनभने बजार खट्दा उनीहरूले घाटा पनि धेरै बेहोर्नुपर्ने हुन्छ । हामी होल्ड होल्ड भनी रहेका हुन्छौं । तर, कति होल्ड गर्ने भन्ने हुँदो रहेछ । तीन वर्षसम्म होल्ड गर्नेहरू आज बजारमा ५० प्रतिशत पनि छैन होला ।

बजारको ट्रेन्ड अनुसार लगानीकर्ता चल्नु पर्ने हुन्छ । स्मार्ट लगानीकर्ता बनेर लगानी गर्न सक्यो भने आम्दानी पनि उसले राम्रो गर्न सक्छ । बजार बढ्दा मातिने र घट्दा आत्तिने लगानीकर्ताले पनि गर्नुभएन । मौद्रिक नीतिको पर्खाइमा लगानीकर्ता छन् । गभर्नरको पनि कार्यकाल सकिन लाग्यो । ६२ लाख लगानीकर्ताले सम्झिने बनाउने हो कि सधैंका बिर्सिने बनाउने त्यो उहाँकै हातमा छ । सङ्कुचित बनाएका नीति नियमलाई खुकुलो उहाँले बनाइदिनु भयो भने बजारले गति लिन्छ ।

(पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् । उनीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)

Logo