स्वामी आनन्द अरुण: ओशो दर्शनका एक असल साधक

स्वामी आनन्द अरुण: ओशो दर्शनका एक असल साधक


२०औँ शताब्दीका महान बुद्धपुरुष ओशोका अन्तरंग शिष्य स्वामी आनन्द अरुण नेपालको आध्यात्मिक आकाशमा लोकप्रिय व्यक्तित्व हुन्। १६ जुन, उनको जन्म दिवस हो।

नेपालको मधेश प्रदेशमा रहेको धनुषाको पवित्र अध्यात्मिक योगभूमी जनकपुरको लोहना भन्ने गाउँमा जुन १६, सन् १९४४ तदनुसार बिस २००१ साल असार ३ गते बुवा केदारप्रसाद सिंह र आमा सुमित्रा देवीका पहिलो सन्तानको रुपमा स्वामी आनन्द अरुणको जन्म भयो। उनको बुवा तत्कालिन समयमा नेपाल सरकारको बडाहाकिम थिए र नेपालका विभिन्न जिल्लाहरुमा कार्यरत रहेका थिए । स्वामी अरुणले आफ्नो बुवा सरकारको बडाहाकिम रहँदा विभिन्न जिल्लाहरुको भ्रमण गरेका थिए । उनले बाल्यकालमा कपिलवस्तु, डडेल्धुरा, गोरखा, वाग्लुङलगायतका जिल्लाहरुमा बुवासँगै भ्रमण गरेका थिए। उनको आमा सुमित्रादेवी नेपालकी पूर्वसांसद हुन् र उनले एकपटक नेपालको प्रतिनिधित्व गर्दै शोभियत रुसको भ्रमण पनि गरेकी थिइन।

स्वामी अरुणको एक बहिनी किरण पनि छन् र उनी शिक्षिकाबाट अवकाश भई काठमाडौंको ताहाचलमा आफ्नो अवकाश जीवन बिताइरहेकी छिन्। स्वामी आनन्द अरुण बाल्यकालदेखि नै योग, ध्यान, अध्यात्म र धर्ममा आकर्षित भए। उनको अध्यात्ममा प्रवेश पेटको उपचार प्राकृतिक तरिकाले गर्ने क्रममा प्राकृतिक चिकित्साबाट सुरु भएको थियो। अध्यात्मको खोजमा उनले धेरै साधक र गुरुहरुलाई भेटे र त्यसबेला भारतमा नाम चलेका धेरै गुरुहरुसँग दिक्षापनि लिए तर उनको अध्यात्मप्रतिको प्यासलाई कसैले पनि तृप्त बनाउन सकेनन। उनको मामाघर भारतको बिहार राज्यको मजफ्पपुरमा पर्दछ। उनको स्कुल र आइएस्सीसम्मको पढाई प्रायः मजफ्पपुरमा नै भयो। त्यसपछि उनले केही समय त्रिचन्द्र क्याम्पसमा बिएस्सीपनि पढेका थिए।

पूर्वराष्ट्रपति रामवरण यादव उनी त्रिचन्द्रमा बिएस्सी पढ्दाका सहपाठी हुन्। तर उनको त्रिचन्द्र कलेजमा बिएस्सीको पढाई पुरा हुन नपाउँदै सरकारी छात्रवृत्तिमा उनी इन्जिनियरिङ स्नातक तह (बिई)अध्ययनको लागि पटना गए। भारतको बिहार राज्यको राजधानी पटनामा रहेको पटना युनिभर्सिटिमा सिभिल इन्जिनियरिङ शंकायको स्नातक तहमा अध्ययनरत रहँदा पटनाको सिन्हा पुस्तकालयमा २९ मार्च, सन् १९६९ को सन्ध्यामा उनले त्यसताका आचार्य रजनीशको रुपमा भारतमा उदाएका ओशोको पहिलो पटक दर्शन पाएका थिए।

स्वामी आनन्द अरुण सिन्हा लाइब्रेरीमा धर्म, दर्शनशास्त्र र ज्योतिषको अध्ययनका लागि नियमित जाने गर्दथे। त्यहाँ अत्यन्त दुर्लभ पुस्तकहरुको संकलन थियो। मध्यान्न पुस्तकालयबाट अध्ययन गरेर निस्किँदा उक्त पुस्तकालयको सूचना पाटीमा सोही दिन बेलुकी पुस्तकालयको लनमा आचार्य रजनीश प्रवचन हुने कुरा सूचित गरिएको थियो। त्यो भन्दा पहिला स्वामी आनन्द अरुणले त्यो नाम कहिल्यै सुनेका थिएनन्। २९ मार्च, सन् १९६९ मा जब ओशोको दर्शन पाए त्यसबेला ओशोको उमेर ३८ बर्षको थियो भने स्वामी आनन्द अरुणको उमेर २५ वर्षको थियो। स्वामी अरुणले २९ मार्च, १९६९ सन्ध्याको काव्यमय वर्णन आफ्नो पुस्तक अन्तर्यात्रामा ‘त्यो सौभाग्यशाली सन्ध्या’ शीर्षकमा गरेका छन्।

स्वामी आनन्द अरुण त्यसबेला कृष्णको भक्ति र उत्सव, बुद्धको शान्ति र ध्यान, बिबेकानन्दको तेज र सौर्य तथा गान्धीको सत्य र अहिंसा चारै दर्शनको बीच समन्वय र निचोडको खोजमा थिए। उक्त सन्ध्याको वर्णन गर्दै स्वामी अरुण भन्छन,‘त्यसदिन सिन्हा लाइब्रेरीमा साँझ ठिक ६ बजे सेतो लुंगी लगाएका र सेतो च्यादरले शरीर बेरेका, लामो चम्किलो दाह्री र कपाल, उन्नत ललाट र सम्मोहक आँखा भएका एक तेजस्वी युवा साधु मन्चमा उपस्थित भए। उनको उपस्थिति अत्यन्त सघन थियो र व्यक्तित्वमा एक अदभुत आकर्षण थियो। पहिलो कुरा जसले मलाई आकर्षित गर्यो त्यो हो उनको शारीरिक सौन्दर्य र व्यक्तित्वको तेज। मलाई उनी कुनै ऋषि लोकबाट अवतरित चिरपरिचित देवपुरुष जस्ता लागे।’

ओशोको पहिलो दर्शनको वर्णन गर्दै स्वामी अरुण भन्छन्, ‘आचार्यको संगीतमय मधुर स्वर गुन्जियो,‘मेरे प्रिय आत्मन’ आचार्य आफ्नो प्रवचनमा ब्रहमचर्य, गान्धीवाद र धर्मगुरुहरुको कठोर आलोचना गरिरहेका थिए जुन मेरो आजसम्मको शिक्षण, अध्ययन र संस्कारको पूर्ण बिरुद्दमा थियो। मेरो मस्तिस्क उनको विचारसँग असहमति प्रकट गरिरहेको थियो तर गहिराइमा मेरो हृदय उनको तर्कसँग पूर्ण सहमति जनाइरहेको थियो।’ ओशोलाई देखेपछि अनि उनको पहिलो प्रवचन सुनेपछि स्वामी अरुणलाई लाग्यो उनले अहिलेसम्म खोजिरहेको गुरु यिनै हुन्।

स्वामी आनन्द अरुणले पहिलो दर्शनपछि ओशोसँग निरन्तर पत्राचार गर्न थाले। ओशोका आफ्नै हातले लेखिएका सुन्दर अक्षरहरुले कोरिएका गहन अर्थले ओतप्रोत पत्रहरु स्वामी आनन्द अरुण समक्ष आइपुग्न थाले। आचार्य रजनीशले उनलाई पत्रमार्फत गुजरातको द्वारिकामा हुने शिविरमा निमन्त्रणा गरे उनी अक्टोबर, सन् १९६९ मा भारतको गुजरात राज्यको द्वारिकामा भएको आचार्य रजनीशको ‘मै मृत्यु सिखाता हुँ’ भन्ने ध्यान शिविरमा सहभागी भए। जन्म र मृत्युका रहस्यमय चर्चा अनि साधनाले ओतप्रोत भएको उक्त ध्यान शिविरमा आचार्य रजनीशले दिएको प्रवचनको संकलनबाट सुन्दर पुस्तक तयार भएको छ । उक्त ‘मै मृत्यु सिखाता हुँ’ भन्ने पुस्तक साधकहरुको लागि सुन्दर पुस्तक हो। उक्त ध्यान शिविरमा स्वामी आनन्द अरुणले पहिलो सतोरीको अनुभव गरे। द्वारिकामा आचार्य रजनीशसँग उनको पहिलो प्रत्यक्ष भेटघाट र कुराकानी भयो।

पहिलो पटक आचार्य रजनीशको द्वारिकामा भएको ध्यान शिविरमा सहभागी भएको बेलाको अनुभूतिको वर्णन स्वामी आनन्द अरुणले उनको पुस्तक ‘अंतर्यात्रामा’ सुन्दर ढंगले गरेका छन्।

नेपालमा ओशो अभियानको विजारोपण उक्त ध्यान शिविरमा स्वामी आनन्द अरुणको सहभागिताबाट भएको थियो। त्यसपछि स्वामी आनन्द अरुणले ओशोको आदेश अनुसार आफ्नो इन्जिनियरिङको अध्ययन पुरा गरे। इन्जिनियरिङको अध्ययनपछि उनी नेपाल फर्किए र नेपाल सरकारको स्वामित्वमा रहेको नेशनल कन्स्ट्रक्सन कम्पनी अफ नेपाल ‘एनसीसीएन’मा इन्जिनियरको रुपमा जागिर सुरु गरे।

गुरुको आदेश अनुसार उनले ताहाचलमा एउटा सानो घर पनि बनाए। त्यसपछि उनी गुरु ओशोसँग दिक्षा लिन भारतको महाराष्ट्र राज्यको पुना शहरमा भर्खरै बन्दै गरेको श्री रजनीश आश्रम, कोरेगाऊ पार्क गए। उनले अक्टोबर ११, १९७४ मा कोरेगाउ पार्क, पुना आश्रममा ओशोबाट विधिवत रुपमा दिक्षा लिई अरुण कुमार सिंहबाट स्वामी आनन्द अरुण बने। दिक्षाताका उनले करिब तीन महिना पुना आश्रममा बिताए। त्यसपछि ओशोको आदेश अनुसार स्वामी अरुण नेपाल फर्किए र डिसेम्बर २१, १९७४ मा काठमाडौंको ताहाचलमा रहेको उनको सानो घरबाट ‘आशिष रजनीश केन्द्र’ सुरुवात गरे। यसरी ताहाचलमा रहेको उनको घरबाट नेपालको ओशो मुभमेन्ट सुरु भयो। ओशोको सन्यासी बनेपछि अनि ओशोको दर्शनलाई नेपालमा प्रचार गर्दा सुरुका दिनहरु उनको अत्यन्त संघर्षमय थिए। उनले न्युरोडको पिपलबोट फुटपाथबाट ओशोको साहित्य बिक्री गर्न सुरु गरेका थिए। तत्कालिन समयमा ओशोको सन्यासी बन्नु, उनका नवीन ध्यानहरु गर्नु अनि उनको क्रान्तिकारी देशनालाई समाजमा फैलाउने प्रयास गर्नु धेरै चुनौतिपूर्ण काम थियो। उनी ति क्रान्तिकारी गुरु ओशोका साहित्यहरु बिक्री गर्ने क्रममा पक्राउ परी केहि दिन प्रहरी हिरासतमा पनि परेका थिए। त्यस्ता संघर्षमय दिनहरुलाई रोचक ढंगले छिचोल्दै अनि ध्यान साधनालाई निरन्तर अघि बढाउँदै उनले अध्यात्मिक उचाई प्राप्त मात्र गरेनन् नेपाललाई ओशोमय बनाए। रहस्यदर्शी ओशोको देशनाको प्रचारलाई नयाँ गति दिए।

गुरुको आदेश अनुसार स्वामी अरुणले सन् १९७४ मा इन्डियामा पहिलो ध्यान शिविर संचालन गरे। उनले अहिलेसम्म आफ्नो अध्यात्मिक यात्राको क्रममा लगभग नौंसय ध्यान शिविरहरुको संचालन गरि एकसय भन्दा धेरै देशका करिब १२, ५००० साधक तथा साधिकाहरुलाई ओशोको नवसंयासमा दिक्षित गरेका छन् । उनको प्रेरणाबाट विश्वका विभिन्न स्थानमा १ सय ५० भन्दा बढी आश्रम तथा ध्यान केन्द्रको स्थापना भएको छ। स्वामी अरुणद्वारा अमेरिका, क्यानडा, अष्ट्रेलिया, रुस, जापान, युरोपका विभिन्न राष्ट्रहरु अनि भारत तथा नेपालमा ध्यान शिविर, प्रवचन तथा सत्संग कार्यक्रम नियमित भइरहन्छ।

उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचारमाध्यममा नियमित रुपमा समसामयिक तथा अध्यात्मिक बिषयमा आफ्नो विचार राख्दछन तथा उनको अध्यात्मिक बिषयमा विभिन्न पत्रपत्रिकामा लेखहरु प्राय प्रकाशित भइरहन्छन्। जुन २९, सन् १९८४ मा ओशोले अरुणलाई आचार्य र बोधिसत्त्व घोषणा गरे। यस्तै, सन् १९८६ को नोभेम्बरमा मुम्बइमा अरुणलाई ओशोले नै रजनीशः Mystry स्कुलको Meditation and Spiritual Growth शंकायको निर्देशक घोषित गरे। मार्च २१, १९९० मा स्वामी आनन्द अरुणले केही ओशो सन्यासीको सहयोगमा ओशो तपोबन स्थापना गरे। ओशो तपोबन विश्वभरका अध्यात्मका खोजीहरुको लागि लोकप्रिय अध्यात्मिक रुपान्तरण केन्द्रको रुपमा बिकसित हुँदै गइरहेको छ।

स्वामी आनन्द अरुण पेशाले सिभिल इन्जिनियर हुन् र नेपालमा उनी संलग्न रहेको Building Design Authority (BDA)भन्ने इन्जिनियरिङ डिजायन कन्सल्टेन्सी छ। आफ्नै कम्पनी खोल्नुअघि उनि लामो समयसम्म नेपाल सरकारको स्वामित्वमा रहेको NCCN कम्पनीमा कार्यरत रही उक्त कम्पनीबाट राजपत्र अंकित द्वितीय श्रेणीको इन्जिनियर पदबाट राजिनामा दिई आफ्नै कम्पनी खोलेका हुन् । भौतिक जगतमा सफल रुपमा कम्पनी चलाइरहेका, ओशो दर्शनको प्रचारमा सक्रिय रही साधनाको उचाई चुमेका स्वामी आनन्द अरुणमा ओशो दर्शनको प्रसारक बनेका छन्।

स्वामी अरुणकै निर्देशन र संरक्षणमा ओशो जेतबन लुम्बिनी र ओशो उपबन पोखरामा ध्यान केन्द्र संचालित छन्। उनकै प्रेरणाबाट नेपालमा अरुपनि धेरै ओशो कम्युन र ध्यान केन्द्रहरु संचालनमा आएका छन। उनकै निर्देशनमा अमेरिकामा ओशो निर्बाणाकम्युन र अष्ट्रेलियामा पनि ओशो आस्था मेडिटेसन सेन्टर सक्रिय रुपमा नेपालीहरुबाट संचालित छ। उनी १२ वटा बेष्ट सेलर अध्यात्मिक पुस्तकका लेखक समेत हुन् ।

सन्त दर्शन, अंतर्यात्रा, संतगाथा, मिस्टिक एण्ड मिराकललगायत उनका सुन्दर पुस्तकहरु नेपालमा लोकप्रिय छन् । उनी जीवन दर्शन, अध्यात्म, योग र ध्यान बिषयमा राम्रो प्रवचन र मार्ग निर्देश दिने बक्ता पनि हुन्। हरेकले आफ्नो जन्म दिनमा कम्तिमा पाँचवटा रुख रोपौं भन्ने अभियान चलाएका उनी ‘जन्म दिवसमा रुख रोपौं’ अभियानका अभियन्ता पनि हुन्। उनले बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रुपमा मनाउनु पर्दछ भनि वकालत गर्दै आएका छन्। जसरी विश्व योग दिवसको प्रस्ताव भारत सरकारले संयुक्त राष्ट्र संघमा लगी पारित भयो त्यसैगरी गौतम बुद्धको जन्मभूमि नेपालले पनि बुद्ध पुर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लानु पर्नेमा उनले जोड दिँदै आएका छन्। साथै नेपालको जनकपुरमा सृजना भएको अस्टबक्र जनक सम्बाद ‘अस्टबक्र महागिता’ लाई नेपालले राष्ट्रिय पुस्तक घोषणा गर्न उनी लागिरहेका छन्।

ओशोले सन् १९८१ देखि १९८५ सम्म रजनिशपुरममा आफ्नो दर्शन बमोजिम अध्यात्मको प्रयोग गरे। पहिला कसैले किन्न पनि नमानेको त्यो मरुभूमी जस्तो बन्जड भूमिमा ओशोको निर्देशन बमोजिम सन्यासिहरुले चार बर्षभित्र त्यसलाई अध्यात्मिक शहर बनाए। त्यो ध्यानीहरुको एउटा अध्यात्मिक शहर बन्यो। स्वामी आनन्द अरुण पनि रजनिशपुरममा सन् १९८२ र सन् १९८४ मा गरि दुई पटक गई अवलोकन गरेको बताउँछन्। पछि रजनिशपुरमको उक्त शहरमा गरिएको प्रयोगलाई मानिषहरुले रुचाएनन् र नष्ट गर्दिए। रजनिशपुर टुटेपछी ओशो सन् १९८५मा कुल्लु मनाली गए। त्यहाँपनि स्वामी अरुण ओशोसँगै बसे। मनाली पछी फेबुअरी ३, सन् १९८६ मा ओशो नेपाल आए। काठमाडांैको सोल्टी होटेलमा उनी ४५ दिनसम्म बसेका थिए।

ओशोलाई नेपाल ल्याउनको लागि स्वामी आनन्द अरुणले नै पहल गरेका थिए। ओशो नेपाल आउँदा उनलाई भब्य स्वागत गर्ने, उनको नेपाल बसाईको ब्यबस्थापन गर्ने, उनको प्रवचन कार्यक्रमको आयोजना गर्नेलगायत ओशोका यावत कुराको ब्यवस्थापन अरुण नै गरेका थिए । ओशो नेपालमा रहँदा ४५ दिनमा ६ सय भन्दा बढी व्यक्तिहरुले ओशोको नव सन्यासमा स्वामी अरुणमार्फत दिक्षा लिएका थिए।

नेपालमा रहँदा ओशोले राजधानी काठमाडौं नजिकै एउटा कम्युन बनाउन स्वामी आनन्द अरुणलाई आग्रह गरेपछि उनले नागार्जुन हिल्समा ओशो तपोवन स्थापना गरका हुन्। ओशो नेपाल बस्न खोजेका थिए तर त्यो सफल हुन सकेन।

नेपालमा ४५ दिनको बसाइपछि ओशो ग्रीसहुँदै विश्व भ्रमणमा निस्किए। विश्व भ्रमणपछि भारत फर्किएका आशोसँग आनन्द अरुणले पुन केही समय बिताए। सुमिला हाउसको बसाईपछि ओशो सन् १९८७ मा फेरि पुना आश्रम फर्किए। सन् १९८७ देखि सन् १९९० सम्म ओशो पुनामा रहेको समयलाई ओशो जगतमा पुना २ भन्ने गरिन्छ।

स्वामी आनन्द अरुणले पुना २ मा पनि पटक पटक पुना कम्युनमा ओशोसँगै साधना गरे। यसरी ओशो जगतमा स्वामी आनन्द अरुण एक अमूल्य निधि हुन् र ओशो देशनाको प्रचारमा उनको योगदान अतुलनीय रहेको छ।
(लेखक ओशो शिष्य सदस्य हुन्। उनी ओशो तपोवनमा क्रियाशील छन्।)

Logo