‘तिम्रा भुल्ला पुत्ताउनी’

‘तिम्रा भुल्ला पुत्ताउनी’

केन्द्रबिन्दु
0
Shares

खासगरी ओढ्ने ओच्छ्याउने लुगालाई सिरक या डस्ना भन्ने चलन छ तर सिरक या डसनाको अर्को स्वरूप पनि हुन्छ जसको परम्परागत नाम “भुल्लो’ हो ।‍‌‍‍‌ भुल्लो सानो भयो भने जाडो हुन्छ ।‍‌‍‍‌ जाडोमा भुल्लो धेरै चिसो हुन्छ ।‍‌‍‍‌

अझ दुखियारीहरु त गुनियाको भुल्लो ओढेर सुत्छन ।‍‌‍‍‌ गुनियाको भुल्लो ओढ्ने अत्यन्तै गरिवहरुले हो ।‍‌‍‍‌ नयाँ कपडा र कपासलाई मिलाएर चिटिक्क पारेर सिलाइएको ओढ्नेलाई सिरक भनिन्छ । ‍‌‍‍‌त्यसैगरी पुराना, फाटेका र फेरी लगाएर बाहिर निस्कन नसक्ने गरि उध्रेका कपडाहरु जोडजाड पारेर बनाइने सिरक आकारको ओढ्ने बस्तु नै ‘भुल्लो’ हो ।‍‌‍‍‌

अरु केहि नहुनेहरुले श्रीमतीले लगाएर थोत्र्याएको, बर्षौंसम्म घिसार्दा घिसार्दा जिर्ण बनेको, आइन्दा आंगमा बेर्ने अवस्थामा नरहेको गुनियो बटुल बाटुल पारेर भुल्लो सिलाउछ भने त्यो गुनियाको भुल्लो हुन जान्छ ।‍‌‍‍‌ हुनेखानेहरु भुल्लो ओढ्दैनन् अझ मर्दहरु गुनियाको भुल्लो त छुदै छुदैनन ।‍‌‍‍‌  ओढ्ने कुरा त धेरै परको कुरा भयो ।‍‌‍‍‌ त्यसैले भुल्लो गरिवको ओढ्ने हो, दु:खीको सिरक हो।‍‌‍‍‌

अझ श्रीमतीले लगाउदै आइएकै गुनियोलाई भुल्लो मानेर त्यहि ओढेर रात बिताउनेलाई जोईटिङ्ग्रे समेत भन्ने चलन छ ।‍‌‍‍‌ ‘कता गएछ फलानो…?’ भनेर कसैले कसैको बारेमा सोध्दा ‘स्वास्नीको गुनियाको भुल्लो बनाएर डल्लो पर्या होला … काँ जानु र त्यो जोईटिङ्ग्रे’ भनेर कसैले जवाफ दियो भने त्यहाँ त्यो एकै वाक्यमा भुल्लो ओढेर रात बिताउन परेको स्वास्नीपिडित मान्छेको बयान समेटिएको हुन्छ ।‍‌‍‍‌

भुल्लो समाजको अनुपम आविस्कार हो ।‍‌‍‍‌ ज्यानलाई चिसोबाट जोगाउन भुल्लो नभई हुदैन ।‍‌‍‍‌ एउटी आमाले भुल्लाको सहारामा आधा दर्जन केटाकेटी हुर्काउन सक्छिन ।‍‌‍‍‌ त्यहि भुल्लो ओढेर आधा दर्जन बच्चाहरुको झुण्ड बिस्तारै दर्जनोन्मुख हुदै जान्छ ।‍‌‍‍‌

यो त भयो भुल्लाको महिमा ।‍‌‍‍‌ अब एकछिन चर्चा गरौँ “भुल्ला पुत्ताउनी” उखानको बारेमा ।‍‌‍‍‌ “भुल्ला पुत्ताउनु” एक किसिमको गाली हो ।‍‌‍‍‌ मान्छेको मृत्यु भएपछि उसले प्रयोग गर्दै आइरहेका सरसामानहरु र उसले बिमारी हुँदा अथवा जिन्दगीका अन्तिम समयमा प्रयोग गरेका कपडा जुन मैलिएका हुन्छन फाटेका हुन्छन अथवा लामो समयसम्म प्रयोगमा आइसकेको कारण भुल्लिएका भकुल्लिएका या एकै ठाउमा डल्ला परेका हुन्छन त्यस्ता भुल्लाहरुलाई कतै जंगलमा लगेर जलाउने प्रचलनलाई ‘भुल्ला पुत्ताउने’ भनिन्छ ।‍‌‍‍‌

कसैको भुल्लो पुत्तिनु उसको अन्त्य हुनु हो ।‍‌‍‍‌ कसैको मृत्युलाई तुच्छ शब्दमा बयान गर्नुपर्दा ‘फलानाको भुल्लो पुत्तियो’ भन्ने चलन छ ।‍‌‍‍‌ कसैलाई निर्ममतापुर्वक गाली गर्दा पनि “तेरा भुल्ला पुत्ताएको यिनै आँखाले देख्न पाम जईपर्मेस्वारी” भनेर गाली गर्ने प्रचलन छ ।‍‌‍‍‌

यस्ता गालीहरु प्रत्यक्ष गाली खाने मान्छेले सुन्ने गरि भन्दा पनि जसलाई लागि गाली गरिने हो या जुन मान्छेलाई गाली दिईने हो उसले नसुन्ने गरि दिईन्छ ।‍‌‍‍‌ साँच्चै अरुको कुभलो चाहाने अमानवीय किसिमका सुन्दा कर्कस र हेर्दा मुर्कट्टा जस्ता लाग्ने अनि अरुको राम्रो भएको देख्न नसक्ने कै जस्तो चरित्र भएका हरुले यो गाली लुकेर अरुले नसुन्ने गरि भगवान पुकार्दै धारेहात लगाउदै फलाक्ने गरेको पाईन्छ ।‍‌‍‍‌

यस्तै “तिम्रा भुल्ला पुत्ताउनी’ भन्ने उखानलाई गालीको रुपमा नभई हासो या मजाकको रुपमा प्रयोग गरेको पनि देख्न पाईन्छ ।‍‌‍‍‌ “तँलाई हैजाले खानी” “हैजाले लान नसकेको” “दैबको जुठो” “तलाई हैजाले बढार्न पर्नी” लगायत उखानरुपी गालीहरु पनि मृत्युसंगै सम्बन्धित छन् तर यी गालीहरु हासी मजाक हुँदा या रमाइला कुराले भित्रैसम्म छोयो भने अनायासै प्रयोगमा आउछन ।‍‌‍‍‌

जस्तै –“ए दिदि हउ नि – हिजो त स्वस्थानीमा कति रमाइलो त भयो नि …! मेरी आओई नि ! दिदि तिमी आईनौ क्यारे, ति गाजने सुर्जे दाइले तिम्लाई सोधेको सोधेई गरेका थिए ।‍‌‍‍‌ आइनन र फुल्मयाँ भनेर खोजेका खोज्यै थिए” भनेर कुनै छुटेको रमाइलोको कुरा एउटी छिमेकी मन मिल्ने बहिनी कोइराल्नी माईलीले अर्की मन मिल्ने छिमेकी दिदि फुल्मयाँलाई सुनाउदा फुल्मयाँले –“तँ हैजाई जुठिले मलाइ छोडेर गईस केरे ! म क्यारी आम्त” भनेर ठुस्किनु अथवा मलाई किन खोजेको रैच रई त्यो सुर्जे मुर्दारले ? भेट हुँदा कैलेई एक बचन मिठो बोल्दैन त्यो “त्यल्लाई हैजाले लान नसकेको, दैबको जुठो” राती स्वस्थानियाँ मलाई किन खोन्न परो तेल्ले” ! भनेर फुल्मयाँले बोल्छिन भने यो किसिमका वार्तालापहरुमा प्रयोग हुने यस्ता उखानहरु प्रेमाभाव दर्शाएर बोल्दा पनि प्रयोग गर्न मिल्छ ।‍‌‍‍‌

प्रसङ्ग अन्तै गयो ।‍‌‍‍‌ हाम्रा गाममा एकजना दाइ छन् “पाठक डल्ले” ।‍‌‍‍‌ मेरी आमाको बुढा मावल पट्टिकि तीन पुस्ता नजिकैकी दिदीसंग डल्ले दाइको बिहे भएको हो र यसरी हाम्रो नाताभित्र बिहे गरेका कारण डल्लेकी श्रीमतीले मेरी आमालाई दिदि भन्थिन, मैले पनि उनलाई दिदि भन्छु- त्यसैले ‘पाठक डल्ले’ मेरा भिनाजु हुन् उनको वास्तविक नाम मित्रलाल पाठक हो ।‍‌‍‍‌

हाम्रो सेरोफेरोमा कोहि मान्छे सुखी छ र अन्तर आत्मादेखि खुसि छ भने त्यो मान्छे पाठक डल्ले नै हो ।‍‌‍‍‌ कहिल्यै कसैसंग रिस छैन, कुनै बैरभाव छैन कसैसंग । कुनै पनि बिषयमा झगडा छैन उनको ।‍‌‍‍‌

दुइटा भान्जा र दुई ओटी भान्जी डल्ले दिदि भिनाजुले राम्रोसंग हुर्काउनु भो । अब त बिहेवारी पनि भैसक्यो होला भान्जा भान्जीहरु पनि सेटल भैसके होलान ।‍‌‍‍‌ समय सररर बितिरहेको छ । लगभग बीस बर्षै पो हुन लागेछ मैले डल्ले भिनाजुलाई भेटेको छैन ।‍‌‍‍‌ भान्जा भान्जी कता छन् के गर्दैछन पत्तोफाँट छैन मलाई ।‍‌‍‍‌

‘पाठक डल्ले’ या नि मेरा मित्रलाल भिनाजु आफु भुल्लो ओढेर सुत्नपर्ने मान्छे थिएनन ।‍‌‍‍‌ कृषि उनको मुख्य पेसा भए पनि व्यापारमा निकै चाख थियो ।‍‌‍‍‌ उमाकोटदेखि हुँगीघाटसम्म पुगेर खसीबोका ल्याएर बेच्नु अनि भैसी पालेर दुध बेचेर आम्दानी गर्नु उनको जिन्दगी चघर बनाउने मिस्त्री पनि हुन् । उनी  यस्तै यस्तै अनौपचारिक कामहरु उनका आयका श्रोत थिए ।‍‌‍‍‌

काम गर्न कहिल्यै झन्झट नमान्ने र अरुलाई गरेको सहयोगमा रमाउन सक्ने डल्ले भिनाजु सदैव खुशी भएर बाच्न सक्ने प्राणी हुन् ।‍‌‍‍‌ र “भुल्ला पुत्ताउनी” मेरा डल्ले भिनाजुको बोलीचालीको थेगो हो ।‍‌‍‍‌

गाउँमा रोपाईंको समयमा खेतको काम गर्ने बाउसेलाई हाम्रातिर “ठिंयार” भन्छन ।‍‌‍‍‌ ठिंयार भएन भने हल चल्दैन ।‍‌‍‍‌ टारी खेतमा एकहल गोरु चलाउन चार जना ठिंयार चाहिन्छ तर चारजाना पुर्याउन नसक्नेहरुको मेलो पनि पाठक डल्ले एक्लै चलाइदिन्थे।‍‌‍‍‌ मेलो सकेर खाजा खाने बेलामा कसैले आज त एक्लै पो हो रोपाईमा डल्ले दाई भनेर सोध्यो भने उनको मुखबाट अनायासै निस्कन्थ्यो – नजिस्क्या है मुर्दार ! साह्रै थाकियो आज त –“तेरा भुल्ला पुत्ताउनी”  तिमोरु (तिमीहरु) पो चार/चार जना भएर मेलो भ्याएयु त ! म त एक्लै छु क्यारम्त ! यसका भुल्ला पुत्ताउनी” ।‍‌‍‍‌ (परिस्थितिको भुल्लो पुत्ताउने) ।

दशैं आयो भिनाजु एउटा कालो बोको मलाई है ! मैले एउटा बोको मागें ।‍‌‍‍‌ लैजान्त लैजा, बरु कुन लान्छ्स रोज न ।‍‌‍‍‌ हो, यो कतिको हो भिनाजु ? यो अठार सयको हो । बाह सयमा दिनु न मलाइ – हजुरकै सालो हुम केरे –ल्याउन त हजुरले आठै सयमा ल्याको होला फेरि पनि बाह्र सय दिएँ ! पाइन्छ बाह्र सयमा तेरा भुल्ला पुत्ताउनी मुर्दार, सत्र हालेको हो सत्र …!

एक पटकको तिहारमा देउसीभैलो खेल्ने पैसा उठाउने र बनभोज जाने सल्लाह भयो ।‍‌‍‍‌ मापुरे सुब्बादाई त्यो देउसी भैलो समुहका अगुवा भए ।‍‌‍‍‌ हामी सानै थियौं, पाठक डल्ले, गिर्वासे माल्दाई लगायत गाउन र बजाउन जान्नेहरुको पछाडी लागेर हामी देउसी खेल्न गाउँ छिरियो ।‍‌‍‍‌ फलाक्नेले फलाकेपछि “देउसी रे” भनेर समूहले स्वर मिलाउन पर्नेमा गिर्वासे माल्दाई “सासुरे –सासुरे” भनेर चिच्याउदै थिए ।‍‌‍‍‌

हस्ताबारी तिरको कुनै घरमा देउसी खेल्दा किन गिर्वासे माल्दाईले “सासु रे ! सासु रे”  भनेर देउसी खेले त्यो मैले बुझ्दै बुझिन तर जव त्यो घरबाट देउसी खेलेर हाम्रो समुह मतेडाँडातिर निस्कियो तव पाठक डल्ले मुर्छा परुन्जेल हास्न थाले – माइलाले सासुरे सासुरे पो भन्यो –यसका भुल्ला पुत्ताउनि ! त्यो घरमा सासु रे सासु रे फलाकेर माइलादाईले मनको कुन खुन्स्याहट पोखेका हुन् मैले अझै बुझ्न सकेको छैन ।‍‌‍‍‌

हिउदमा सुख्खा भएर बगर मात्र देखिने अर्जाङ्गदी खोलो वर्षायाममा पानि परेपछि केहि समय गड्गडाएर बग्छ ।‍‌‍‍‌‍ के साह्रो बढ्यो यसपाली त अर्जाङ्गदी पनि “यसका भुल्ला पुत्ताउनी” बारीको पाटाको छेउमा आएर बिस्तारै गुनगुनउछन पाठक डल्ले ।‍‌‍‍‌

अब त समय धेरै बित्यो ।‍‌‍‍‌ रमाइला मित्रलाल भिनाजुसंग मैले भेट्न पाएको छैन।‍‌‍‍‌ अर्जाङ्गदीले बर्षा याममा जति धेरै पानी बगाए पनि सदावहार बग्ने भनेको त पंचमुलको पानी नै हो ।‍‌‍‍‌ पंचमुलबाट सुरु भएको च्याङ्गदी खोलाले र्याले, डुम्रीकोट पात्लेटारी हुँदै डौवा फाँटलाई उसरी नै सिंचित गर्दै होला, र मेरा डल्ले भिनाजु उस्तै सुखी र खुशी होलान अनि मुस्कुराउदै भन्दै होलान –’ल कथा पो लेखेछ दुर्गेले’ – यसका भुल्ला पुत्ताउनी !

Logo