यस्तो हुन्छ साझा र विवेकशील मिल्दा

यस्तो हुन्छ साझा र विवेकशील मिल्दा

केन्द्रबिन्दु
0
Shares

समाचार टिप्पणी

दिवस गुरागाईं । काठमाडौं, ११ साउन ।

विवेकशील नेपाली र साझा पार्टी, ले बुधबार (साउन ११ गते) एकता गरेका छन् । उज्वल थापा र रवीन्द्र मिश्र नेतृत्वका ती पार्टी मिलेपछि यी दुवै प्रमुखहरू एकीकृत पार्टीका सह–संयोजक भएका छन् । अर्थात, आजको मितिमा दुई पार्टी मिलेर नयाँ दल ‘विवेकशील साझा पार्टी’ बनेको छ ।

पहिलो चरणको स्थानीय तहको मत परिणामले विवेकशील र साझा पार्टीको नेतृत्वलाई उत्साह थपिदियो । खासगरी काठमाडौं र ललितपुर महानगरपालिकामा प्रमुख पदहरूमा यी पार्टीका उम्मेदवारले पाएको मत उल्लेख्य र उत्साहजनक थियो ।

यी दुई पार्टीले तालमेल गरेर उम्मेदवारी दिएको भए ? निर्वाचनपछि यस प्रश्नमा चिया पसलदेखि सामाजिक सञ्जालसम्म गर्मिन थाल्यो । प्राप्त मत जोडेर जिब्रो टोक्न थाले शुभचिन्तकदेखि विरोधी पार्टीका कार्यकर्तासम्मले । अर्थात् काठमाडौं महानगरमा ६४ हजार ल्याएर एमाले उम्मेदवार विजयी हुँदा विवेकशीलले २३ हजार र साझाले १८ हजार मत प्राप्त गरे । नेपाली राजनीतिको भविष्य चिहाउन यही ४१ हजार मत काफी बनेको देखियो, उनीहरूका लागि ।

एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र दुवैको नेतृत्व हुने निर्णय गरियो । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुने र सुरुमा दुवै पार्टीबाट १७–१७ जना केन्द्रीय सदस्य मनोनीत हुनेछन् । बाँकी १७ जनाको पद हाललाई खाली राखिने छ । अर्थात, १७ पद देउसी खेलेर नेता भित्राउनका लागि छोडिने छ ।

साझा र विवेकशील दुवैको राजनीतिक धार, विचार र सोच बाहिर आएको छैन । आजका मितिसम्म यी दुवै पार्टीले गैरसरकारी संस्था (एनजिओ) ले झैं काम अघि बढाएको देखिन्छ । तर, दुवै पार्टी मिलाउँदा समेत संगठन तयार हुने देखिँदैन । पुराना पार्टीलाई झैं यस पार्टीलाई समेत प्रश्न सुरु भएको छ, पार्टी सञ्चालनको स्रोतका सम्बन्धमा । केही कोणबाट आरोप पनि लाग्दै आएको छ, खासगरी विवेकशीललाई । अर्थात, पारदर्शिताको सवालमा शंकाहरू छन् ।

पुराना दुई पार्टी मिलाएर एउटै बनाउँदा नेतृत्वमा रहेकाहरू समान पदमा रहिरहने परम्परा छ, पुराना पार्टीहरुमा । अर्थात, ६ पार्टी मिलेर बनेको मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा) मा महासचिव मात्र अढाई दर्जन छन् । प्रवक्ता ८ जना छन् । संयोजक त ६ जना हुने भइहाले । त्यस्तै यी दुई नयाँ पार्टी मिल्दा दुईजना नै उत्तिकै शक्तिशाली भएर त्यही झल्को नदिएको भए राम्रो हुन्थ्यो । उनीहरूले को संयोजक भन्ने प्रश्नको जवाफ नभेटेको हुनाले नै हो, दुवैजना सह–संयोजक भएको । यो पार्टीमा अध्यक्ष वा संयोजकको कुर्सी खाली छ । अर्थात ब्यक्तिगत रुपमा मियो छैन यस पार्टीको ।

प्लस प्वाइन्ट पनि छ, यो नयाँ पार्टीको । सबैभन्दा महत्वपूर्ण र चर्चाको स्रोत पनि हो, सामाजिक सञ्जालको लोकप्रियता । धेरै पत्रपत्रिका, अनलाइन र टेलिभिजनभन्दा सामाजिक सञ्जालको शक्तिलाई ओजनदार मान्न थालिएको छ । यस्तो वर्तमानमा यी दुई पार्टीको पकड त्यहाँ हुनु सकारात्मक पक्ष मान्नुपर्छ । अनलाइनहरूमा पनि रवीन्द्र मिश्र र उज्वल थापा जमेका छन् । यस्तो लाग्छ, सम्भावनामा मात्र होइन, आकारमा पनि यी बृहत् छन् ।

त्यसैगरी काठमाडौं र ललितपुरको स्थानीय चुनावी परिणामले उनीहरूप्रति उपत्यकाका युवा वर्गमा आकर्षण रहेको पुष्टि गरेको छ । काठमाडौं महानगरबाट ल्याएको ४१ हजार र ललितपुरबाट प्राप्त १३ हजार मत युवाहरूकै मानिएको छ । साझाका उम्मेदवार किशोर थापाले प्राप्त गरेको मतलाई बुज्रुकको मत ठानिएको छ । त्यसैगरी केही बनिबनाउ स्टार र अपवादमा चुनावले बनाएका स्टारहरू पनि छन् यस पार्टीमा । जसका कारण भोलिका दिनमा संगठन गर्न पक्कै सजिलो पर्ने छ ।

एकीकृत पार्टीको नेतृत्वले आफ्नो झण्डामा तराजु चिन्ह राख्ने पनि सहमति गरेको छ । कुनै अमुख न्यायमूर्तिका अगाडि एउटा दृश्यविहीनले बोकेर उभिएको जस्तो तराजु पक्कै होइन यो । यस तराजुलाई जनताको अदालतमा उभ्याएर न्याय–अन्यायको कसी लगाउनु पर्ने छ । यी सबै अनुत्तरित प्रश्नको जवाफ मात्र भविष्यले दिने छ ।

विवेकशील साझा पार्टी

प्लस प्वाइन्ट
१. सामाजिक सञ्जालमा प्रिय
२. उपत्यकाका युवा वर्गमा आकर्षण
३. नेतृत्वमा स्टारहरू

कमजोरी
१. राजनीतिक धार छैन ।
२. संगठन छैन ।
३. पार्टी सञ्चालनको स्रोत ?

Logo