भानुभक्त, प्रवासी नेपालीलाई जोड्ने सूत्रधार (भिडियो सहित)

भानुभक्त, प्रवासी नेपालीलाई जोड्ने सूत्रधार (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

आशिष अर्याल । २९ असार, काठमाडौं ।

भानुभक्तले लेखेका थिए, ‘तेस् घाँसीले कसरी आज दिएछ अर्ती, धिक्कार हो मकन बस्नु नराखि कीर्ति ।’ ठ्याक्कै आजको दिन उनको जन्म भएको थियो, २ सय ३ वर्षअघि । यत्तिका अवधिमा पनि भानुभक्त जागा छन् । बाँचिरहेका छन् ।

भनिन्छ, आदिकवि भानुभक्तले ‘नाम् केहि रहोस् पछि भनी’ घाँसीबाट प्रेरण लिएका थिए । भलै यो विषय विवादमुक्त छैन । यद्यपि यो किस्सा उति नै चर्चित छ, जति भानुभक्तले भावानुवाद गरेको रामायण । उनले संस्कृत भाषाको वाल्मिकी रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए । यही कर्मले उनको यश रहन गयो । हुन त उनका प्रश्नोत्तरमाला, भक्तमाला, वधूशिक्षा कृतिहरू पनि चर्चित नभएका होइनन् ।

नेपाली साहित्यका आदिकवि हुन् उनी । उनलाई ‘आदिकवि’ मान्ने कि नमान्ने भन्नेमा एकमत भने छैन । कतिले श्रीकृष्णचरित्र काव्यका लेखक वसन्त शर्मालाई नेपाली साहित्यका आदिकवि मान्ने गरेका छन् । आखिर जे भए पनि साहित्यानुरागीका निम्ति भानुभक्त यस्तो आदर्श हुन् जसको योगदान अतुलनीय छ ।

त्यसैले त, हरेक वर्ष भानुभक्तलाई सम्झिने गरिन्छ । उनका रचना र योगदानलाई स्मरण गरिन्छ । भानु जयन्ती मनाउने शैली र स्वरूप पनि भिन्न छ । आदिकविको जन्मोत्सव कुनै कोठाभित्र कविता वाचन गरेर वा साहित्यिक कार्यक्रम गरेर मात्र मनाइँदैन । यस अवसरमा भानुभक्तको सग्लो स्वरूप उतारिने गरिएको छ । चाहे त्यो काठमाडौंमा होस् वा बाहिरी जिल्लामा, देशमा होस् वा प्रवासमा ।

बिर्खे टोपी र दौरा सुरुवालमा ठाँटिएका भानुभक्तलाई दुरुस्तै उतार्ने चलन छ, अहिले पनि । यस्तै हुलियामा विद्यार्थीदेखि साहित्य पारखीहरू देखिने गर्छन् । उनीहरू हातमा रामायण बोकेर चोक–गल्ली–सडकको यात्रा गर्ने गर्छन् । आजको भानु जयन्तीमा पनि यही उपक्रम दोहोरियो । यो तामझामले भानु जयन्तीको रौनक अरूभन्दा भिन्न हुने गर्छ ।

दार्जीलिङले गर्ने भानुको भक्ति
तनहुँको रम्घामा जन्मिएका भानुभक्तको यश देशको भूगोलभित्र मात्र सीमित छैन । पूर्वोत्तर दार्जीलिङदेखि समुन्द्रपारिका मुलुकहरूमा समेत फैलिएको छ । यी सबै क्षेत्र भानु जयन्तीसँगै साहित्यिक रंगमा रंगिने गरेका छन् ।

दार्जीलिङसँग भानुभक्तको साइनो सुमधुर र बलियो छ । किनभने, भानुजयन्ती मनाउने श्रीगणेश दार्जीलिङबाटै भएको हो । त्यसअघि नेपालमा भानु जयन्ती मनाउने प्रचलन नै थिएन । दार्जीलिङले नै पहिलोपटक भानुभक्तको प्रतिमा ठड्याएको हो । त्यसअघिसम्म नेपालमा भानुभक्तको प्रतिमा नै थिएन । भनौं, दार्जीलिङसँग भानुभक्तको निकटता ईष्र्यालाग्दो ।

किन ?
किनभने, दार्जीलिङमा भानुभक्त कवि मात्र होइनन्, आदिकवि मात्र पनि होइनन् । उनी आम नेपालीभाषीलाई एकताको सूत्रमा बाँध्ने सूत्रधारसमेत हुन् । उनलाई गोर्खा समुदायलाई एकताको मालामा उन्ने मुख्याका रूपमा मानिँदै आएको छ ।

त्यही कारण त भारतीय लेखक पी. अर्जुनले यसअघि लेखेका थिए, ‘क्षेत्रीयतालाई नाघेर जातीय गोष्ठीहरू विश्वव्यापीस्तरमा रूपान्तरण भइरहेछन् । विश्व साहित्यको सन्दर्भमा नेपाली भाषा पनि विस्तारित हुँदै पूर्णतया विश्वस्तरीय भइरहको छ । आदिकवि भानुभक्त नेपालीभाषी संसारका आद्यप्रणेता हुन् ।’

भानु जयन्तीको तामझाम स्वदेशमा भन्दा बढी विदेशमा हुने गर्छ । अझ भनौ, दार्जीलिङमा । चौरस्तामा उभिएको यही भानुभक्तको प्रतिमाले पनि त्यस क्षेत्रमा भानुभक्तको यशलाई सग्लो राखेको छ । उल्लेखनीय पक्ष, दार्जीलिङमा भारत सरकार अन्र्तगतको सूचना तथा संस्कृति विभागले नै भानु जयन्ती मनाउने गर्छ ।

दार्जीलिङले भानुको भक्ति कतिसम्म हुने गर्छ भन्ने कुरा त त्यहाँको तामझामले पनि पुष्टि गर्छ । अघिल्लो वर्ष भारतीय राष्ट्रपति नै भानुजयन्तीका प्रमुख अतिथि बन्न आइपुगेका थिए, दार्जीलिङमा ।

हुन त यतिबेला दार्जीलिङ अशान्त छ । बेचैन छ । पृथक गोर्खाल्यान्ड आन्दोलनले थिलथिलो हुँदैछ । तर, सामान्य अवस्थामा यो भूगोलले आदिकवि भानुभक्तलाई कहिल्यै नमर्ने गरी ब्युँत्याउँने गरेको छ ।

 

Logo