आदरणीय शेरबहादुर देउवाज्यू,

प्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस । "/>

प्रधानमन्त्री शेरबहादुर देउवालाई खरो भिडियो–पत्र

प्रधानमन्त्री शेरबहादुर देउवालाई खरो भिडियो–पत्र

केन्द्रबिन्दु
0
Shares

 

आदरणीय शेरबहादुर देउवाज्यू,

प्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस ।

यहाँलाई पत्र लेख्न बस्दा सप्तरी लगायत तराईका जिल्लामा बाढीले विध्वंश मच्चाएको समाचार आइरहेको छ । यो समाचारसँगै तपाईं पनि सप्तरी पुग्नुभएको अर्को समाचार पढ्न पाइएको छ । तर ‘तपाईं जहाँ, विस्फोट त्यहाँ’ भन्ने नयाँ सिद्धान्त सुरु भए झैं लाग्न थालेको छ । आफ्नो हुस्सु व्यवहारका कारण सप्तरीबाट फेरि एकपटक तपाईं भाइरल हुनुभएको छ ।

चार तारे झन्डामुनि जन्मिएकी र हुर्केकी मलाई भने तपाईंको एकपछि अर्को व्यवहारले पीडाबोध गराइरहेको छ । मान्छेका अगाडि नेपाली कांग्रेस हुँ भन्ने गर्व तपाईंका कदमहरूले निरन्तर खोसेका खोसै छन् । मेरो पहिलो प्रश्न छ, तपाईंले यस्तो रमिता अझै कति देखाउन बाँकी छ ?

नबुझिने बोली तपाईंको पुरानै परिचय हो । होस्ल्याङे व्यवहार समेत तपाईंले स्थापित गरिसक्नुभएको छ । हुँदा–हुँदा अनेकौं बदनामीले तपाईं अभ्यस्त बन्दै गएको मैले बुझिरहेकी छु । तपाईंका यस्ता परिचयले नेपाली कांग्रेसको सिद्धान्त मेट्दै लगेको छ । विपीको आदर्श खोस्दै लगेको छ । भन्नुहोस्, तपाईंका यी व्यवहार जानाजान भइरहेका छन् कि अन्जानमा ?

प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्कीलाई कुबेलामा महाअभियोग लगाउने र फेरि फिर्ता लिने निर्णय तपाईंको आफ्नै हो कि पराईको ? आइजिपी नियुक्तिको अधिकार सम्बन्धित निकायवाट खोसेर बुढानीलकण्ठ दरबारमा तान्ने असफल प्रयास के को लागि र किन थियो ? नेपाली कांग्रेसका तमाम कार्यकर्ताको शिर भने यिनै दुई प्रकरणले झुकाएका छन् । के अझै यस्ता बेतुके घटनाको नेतृत्व लिइरहने पर्खाइमा हुनुहुन्छ ?

एक चरणमा सक्नुपर्ने चुनावलाई तेस्रो चरणमा पुर्याएर पनि तपाईं गौरव गरिहरनुभएको छ । विगतमा प्रजातन्त्र राजालाई बुझाएको, नेपाली कांग्रेस फुटाएको, पाजेरो संस्कृति स्थापित गराएको, सांसद खरिद बिक्री गराएको आदि पुराना तपाईंका काम मलाई सम्झिरहनु छैन । तर प्रदेश र केन्द्रीय चुनाव तोकिएको समयमा हुन्छ कि हुँदैन भनेर सोध्न मन छ । किन पनि भने यही चुनावमा गणतन्त्र, संघीयता, नेपाली कांग्रेस र समग्रमा देशको भविष्य लुकेको छ ।

यो पत्र पढेर सुनाउनेलाई ‘तपाईं बढ्ता बोल्दै हुनुुहुन्छ’ भनेर चोरी औंला ठड्याउनुहुन्छ होला ? हरेक प्रश्नको जवाफमा ‘म ज्योतिष हुँ र ?’ भनेर झर्किनु हुन्छ होला ? तपाईं यसैगरी आफ्नो हुर्मत आफैं लिइरहनुहोला । तर नेपाली कांग्रेस र देशको हुर्मत लिने छुट यहाँलाई कदापि छैन ।

जवाफ नआए पनि मलाई प्रश्न गर्न मन छ, तपाईंका सल्लाहकार को–को हुन् ? यदि सल्लाहकार छन् भने ती तपाईंलाई किन सकाउन खोजिरहेका छन् ? सल्लाहकार छैनन् भने तपाईं आफैं किन सकिन खोजिरहनुभएको छ ? यो चौथो इनिङलाई तपाईंले इतिहासमा गरेका असरल्ल गल्ती सच्याउने मौकाका रूपमा लिनुपर्ने होइन र ?

मलाई खास सोध्न मन लागेको प्रश्न चाहिं तपाईं किन बारम्बार प्रधानमन्त्री भइरहनुभएको छ ? भन्ने हो । न कार्ययोजना, न त व्यवहार । न विकास, न त समस्याहरूको निकास ? तपाईंले राजनीतिक जीवनमा देश र जनताको पक्षमा गरेको एउटा मात्र उल्लेख्य काम के हो ? भन्नुहोस्– नेपाली कांग्रेसलाई कहिलेसम्म विपीको ब्याजले बचाइराख्ने हो ?

तपाईंसँग जवाफ नै छैन भने कृपया अन्तर्वार्ताका कार्यक्रमहरूमा नगइदिनुहोला । साझा सवालको त्यो कार्यक्रमको नियम के थियो, म भन्न सक्दिन । तर त्यहाँ प्रश्न गर्ने मानिसहरू सबै नेपाली थिए । र, उनीहरूले आफ्नै पीडा बोलेका थिए । के जनताको प्रश्नप्रति प्रधानमन्त्री यसरी तर्सन र तर्किन आवश्यक थियो ?

अरूले दिएको ज्ञापन–पत्र हो कि पढ्न ठिक पारेको भाषण ? कम्तीमा यति सुद्धि चाहिँ राखिदिुहोला । दागमाथि दाग र टाटामाथि टाटा थपेर हरेक दिन गाईजात्रा प्रहसन गर्नुभन्दा कृपया सिंहदरबार र बालुवाटार खाली गरिदिनुहोला । वर्तमानमा तपाईंले चाल्ने सबैभन्दा सही कदम यही हुने छ । बिन्ती छ, कांग्रेस र देश बचाइदिनुहोला ।
जय नेपाल  ।

सुलोचना खतिवडा
हाल – गठ्ठाघर, भक्तपुर ।
२०७४ असार २६

 

 

Logo