यसकारण महिला राजनीति अगाडि बढ्न सक्दैन

यसकारण महिला राजनीति अगाडि बढ्न सक्दैन

केन्द्रबिन्दु
0
Shares

 

– जयदेव गौतम

नेपाली राजनीतिमा अत्यन्त सम्भावना बोकेर उदाएकी लक्ष्मी कार्की वैवाहिक जीवनमा बाँधिएपछि भने क्रमशः राजनीतिको मैदानबाट ओझेल हुँदै गइन् । यद्यपि अहिले उनको निकटता नेकपा एमालेमा छ, तापनि निश्चित विश्रामपछि भने समाजसेवा र विकासे कार्यकर्ताका रूपमा उनले नयाँ पहिचान बनाइन् । उनीभित्र आफूमा क्षमता र अनुभव भएर पनि राजनीतिमा अगाडि बढ्न नपाइएको पीडा सधैँभरिलाई छ । एक प्रसङ्गमा उनको भावना यसरी अभिव्यक्त हुन्छ, ‘हाम्रा पारिवारिक जिम्मेवारीलाई सदस्यहरूको योग्यता र क्षमता आदि आधारमा सेयर गरेर त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्ने वातावरण हुनुपर्छ । सैद्धान्तिक रूपमा कुरा गर्दा गास, बास, कपास, शिक्षा, स्वास्थ्य आदि सबै अधिकारमा जनताले उपभोग गर्न पाउनुपर्छ भन्ने कुरा पनि हुन्छ र त्यसलाई राज्य र परिवारले पनि सहयोग गर्नुपर्छ । तर, महिला र पुरुष सबैमा भूमिका र जिम्मेवारीमा पनि समान साझेदारी हुनुप¥यो, अधिकार उपभोग गर्नका लागि सिद्धान्तमा मात्र सुनिश्चित भएर भएन बरु व्यवहारमा पनि त्यसलाई उपभोग गर्न पाउनु प¥यो । त्यसो भयो भने मात्र लोकतन्त्र आएको मान्न सकिन्छ ।’

दुई हजार छयालीस सालको आन्दोलन र त्यसपछिको समय थियो जतिबेला आफूले काम गरिरहेको संगठनभित्र मात्र नभएर मुलुकको प्रतिपक्षी राजनीतिमै लक्ष्मी कार्की निकै चर्चित र लोकप्रिय नाम थियो । राजनीतिमा उनको समर्पण, साहस र त्याग देखेर उनीप्रति सम्मानले शिर ननिहुराउने मानिस विरलै हुन्थे । होचो र दुब्लो पातलो शरीर भएर पनि उनी जुझारु एवं संघर्षशील स्वभावकी थिइन् । त्यसकारण तत्कालीन निरंकुश निर्दलीय पञ्चायती शासनले एक प्रतिपक्षी विद्यार्थी नेताका रूपमा जति यातना उनलाई दिएको थियो, त्यसको कल्पना पनि आम कार्यकर्ताले गर्न सक्दैनन् ।

स्कुले जीवनको सुरुमै उनी तत्कालीन नेकपा मालेको विद्यार्थी मोर्चा अनेरास्ववियुको प्रारम्भिक कमिटीमा सचिव बनाइएकी थिइन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्किनु परेन । उनको काम देखेर उनलाई साथीहरूले महिला हो भनेर कमजोर मानेनन् । स्ववियु चुनावमा पनि उनी सचिव पदमा उठेर जितिन् । क्याम्पसमा पनि उनले विभिन्न कमिटीमा बसेर काम गर्दै जाँदा त्यहाँ पनि महिला–पुरुष भन्ने भावना केही थिएन । तर, उनको अनुभवमा, विवाह गरेर घर प्रवेश गरेपछि र बालबच्चा भएपछि भने राजनीतिक कामलाई अगाडि बढाउने सन्दर्भमा छोरा र बुहारीबीच भेदभाव हुन थाल्यो । त्यो बेला पार्टीले निश्चित तहसम्म बच्चा हेरिदिएर महिलालाई राजनीतिमा लागिरहने वातावरण बनाइदिनु पर्छ भन्ने सोचेको भए मात्र पनि उनी मात्र होइन धेरै महिलालाई सजिलो हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ ।

उनको अनुभवमा, ‘पहिले एक्लो शरीर हुन्थ्यो । जे गरे पनि, खाए पनि नखाए पनि, सुते पनि, नसुते पनि, बिरामी भए पनि जेजस्तो अवस्था पनि सहेर अगाडि बढ्न सकिन्थ्यो तर बच्चा भएपछि अर्थात् दुई शरीर भएपछि त त्यसो गर्नै सकिएन । परिवार र पार्टीले सुत्केरी र बच्चा स्याहारको अवस्थालाई राम्ररी हेर्न सकिने नीति नै ल्याएर सहयोगी भूमिका पूरा गर्ने हो भने विवाह अनि बच्चा भएपछि पलायनको बाटोमा हिँड्नुपर्ने महिला अवस्था रहने छैन मलाई लाग्छ ।’

उनी स्कुल तहमा स्ववियु सचिव थिइन्, क्याम्पसमा कोषाध्यक्ष र सचिव पनि भइन, अनेरास्ववियुको कास्की जिल्ला र गण्डकी अञ्चल कमिटीमा बसिन्, केन्द्रीय सचिवालय सदस्यसमेत भइन, गण्डकी र धवलागिरी अञ्चल इन्चार्जसमेत भएर काम गरिन् । सांगठनिक प्रशिक्षणका लागि भनेर गण्डकी, धवलागिरी, लुम्बिनीदेखि पूर्वका धनकुटा, चितवन, विराटनगर, धरानसम्म एक्लै पुगेकी हुन्थिन् । त्यो सबै उनको क्षमतालाई देखेर उनीमाथि विश्वास गरेर पठाइएको थियो । वास्तवमा उनको राजनीतिक लोकप्रियता पनि थियो र संगठनभित्र र आम जनतामा पनि ‘लक्ष्मी कार्की आइदिए हुन्थ्यो’ भन्ने माग हुन्थ्यो । यस मानेमा उनी एक राष्ट्रिय व्यक्तित्व बनिसकेकी थिइन् । उनलाई लाग्छ, ‘मलाई संगठनमा ‘महिला भएको हुनाले स्थापनाका लागि’ भनेर मात्र राखिएको थिएन, त्यो ठाउँ म आफैँले निर्माण गरेकी थिएँ ।’

लक्ष्मी कार्कीको जन्म स्याङ्जामा भएको हो । स्कुले जीवन पनि त्यहीँ बितेको हो । पछि क्याम्पस पढ्ने क्रममा उनी कास्की पुगिन् र विवाहपश्चात् पोखरेली हुन पुगिन् । राजनीतिमा लाग्दा उनी भर्खरकी कलिली किशोरी थिइन् र नबुझेरै पनि साथीहरूको लहैलहैमा २०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा होमिएकी थिइन् । दुई–तीन वर्षको अनुभवले उनलाई राजनीतिको वाहनमा सवार गरायो र बुझेरै उनी २०३८ देखि कम्युनिस्ट राजनीतिमा सक्रिय हुन थालिन् । यो राजनीतिक सक्रियता निकै उतार–चढाव हुँदै सोह्र वर्षसम्म निरन्तर जारी रह्यो र सम्बत् २०५४ मा आइपुगेर यो सक्रियतामा ब्रेक लाग्यो । केही समय विश्राम लिएपछि जिन्दगीले सामाजिक कार्यकर्ताको रूपमा आफूलाई अगाडि बढाउन थाल्यो, जुन अद्यापि निरन्तर छ ।

स्कुले जीवनमा उनले विद्यार्थी र पार्टी काम सँगै अनि क्याम्पस जीवनमा आएपछि पूर्णकालिन कार्यकर्ता भएर काम गरेकी थिइन् । क्याम्पसपछि पार्टी राजनीतिमा, अखिल नेपाल महिला संघ, प्रजातान्त्रिक राष्ट्रिय युवा संघ आदिमा रहेर काम गरिन् । उनले अन्य सबै संगठनमा केन्द्रीय तहमै बसेर काम गरिन् भने पार्टीस्तरमा चाहिँ जिल्ला तहमा रहेर काम गरेकी थिइन् ।

उनलाई राजनीतिमा चासो कसरी पलाएको होला ? उनी भन्छिन्, ‘परिवारको पृष्ठभूमि हेर्दा मेरो आमामथि बुहारी भएको हिसाबले, महिला भएको हिसाबले र उहाँमाथि भएको कार्यबोझ देखेर पनि असन्तुष्ट थिएँ । समाजमा देखा परिरहने अन्याय–अत्याचारबाट पनि म असन्तुष्ट थिएँ । यही बेला केही किताब पढ्ने मौका मिल्यो । ती किताबमा मैंले विद्यार्थीको हकअधिकारका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काम गर्छ भन्ने जान्न पाएँ भने महिलाहरूको अधिकारका लागि अखिल नेपाल महिला संघले तथा समग्रमा उत्पीडित जनताका लागि कम्युनिस्ट पार्टीले काम गर्छ र त्यसबेला नेकपा माले मात्र थियो भन्ने ती किताबबाट जान्ने मौका पाएँ । महिला संघले निकाल्ने महिला मुक्ति अंक १ र २, संसार बनाउने श्रमजीवी जनता हुन्भन्ने सानो किताब र अरु यस्तै विभिन्न अन्तर्राष्ट्रिय महिलाहरू जसले सामाजिक आन्दोलनमा सहयोग गरे वा भाग लिएका जीवनीसम्बन्धी किताब पढ्न पाएकी थिएँ । पहिले ती किताब पढें । साथीहरूले पनि बुझाउनुभयो, सम्झाउनुभयो । अनि म संगठनमा संगठित भएँ ।’

सुरुमा राजनीतिमा लाग्दा घर–परिवारबाट उनलाई त्यसो नगर्न निकै गाली गर्ने, धम्क्याउने र हतोत्साहित पार्ने प्रयास गरियो । उनकी आमालाई उनकै कारणले अनेक मानसिक यातना पनि दिइयो तर भारतको सरकारी जागिरमा रहेका पिताले भने इन्दिरा गान्धीलाई रोल मोडेल बनाउँदै उनलाई प्रेरणा र समर्थन दिने गरेकाले अन्य पारिवारिक व्यवधान उनले जित्न सकिन् ।

पञ्चायती शासनको समय थियो । उनी सम्झिन्छन्, ‘राजनीतिमा अगाडि बढ्ने क्रममा मविरुद्ध राजकाज मुद्दा लाग्यो, जसले गर्दा दिउँसोमा खुलेर म क्याम्पसभन्दा बाहिर आइजाइ गर्न सक्दिन थिएँ । त्योबेला विद्यार्थी संगठन र पार्टीको कामका लागि त बाहिर गइरहनु पर्दैनथियो, बिहान र दिउँसोको सिफ्टका विद्यार्थीबीच पार्टी र संगठनको काम गर्न सकिहाल्थेँ तर महिला संगठनको कामका लागि भने म पोखरा र त्यस वरपरका गाउँहरूमा जानु पर्ने हुन्थ्यो । अनि खाना खाइसकेपछि रातमा म भेष बदलेर महिला संगठनको कामका लागि बाहिर जाने गर्थें, मिटिङ र अन्य काम गर्थें र बिहान तीन–चार बजेतिर फेरि क्याम्पस फर्किसकेकी हुन्थेँ ।’

दुइ हजार पैंतालीस सालमा भारतले नेपालमाथि नाकाबन्दी लगायो । त्यसका विरोधमा आन्दोलनका लागि जनचेतना फैलाउँदै उनी पनि गाउँगाउँ डुल्दै हिँडिन्, स्कुलस्कुलमा हडताल गराउँदै हिँडिन् । सिडिओले उनलाई घुँडाभन्दा तल गोली हान्नु, घुँडाभन्दा तल भाँचिदिनु भन्ने आदेश पब्लिक आमसभामा नै दिएको थियो, गोली हान्ने प्रहरीलाई पुरस्कार दिन्छु पनि भनेको थियो । राति पञ्चहरूको बैठक बस्थ्यो, त्यसमा चाहिँ सिडिओले लक्ष्मी कार्कीलाई मारिदिए पनि हुन्छ भन्ने आदेश जारी गरेको पछि सार्वजनिक भएको थियो ।
छयालीस सालको आन्दोलन, जुन फागुन ७ गतेदेखि औपचारिक तवरले सुरु हुनेवाला थियो, पञ्च प्रसाशन र प्रहरीले पहिले नै प्रि–प्लान गरी विद्यार्थीले योजना गरेको बृहत् विरोधसभाको आयोजना गरेको दिन फागुन १ गते नै पृथ्वीनारायण क्याम्पसभित्र प्रवेश गरी आक्रमण गरियो । अरू साथीहरूसँगै लक्ष्मी कार्की पनि गिरफ्तारीमा परिन् । जेलमा अनेक किसिमले यातना दिइयो, असहनीय यातना खप्नु प¥यो । यही आन्दोलन क्रममा उनलाई हत्या गरियो भन्ने चर्चाले सनसनी मच्चिएको थियो । पछि त्यो जनआन्दोलन सफल भएर पञ्चायती व्यवस्थाको अन्त्यमा र बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै लक्ष्मी कार्कीहरू पनि रिहा भएका थिए ।

लक्ष्मी कार्कीलाई लाग्छ, महिलालाई राजनीतिमा अगाडि बढ्न नदिने सबैभन्दा ठूलो बाधक पित्तृसत्तात्मक सोच हो । अहिले पनि महिलालाई नेतृत्वमा ल्याउनु प¥यो, उसको इच्छा पनि छ, ऊ सक्षम पनि छ, उत्ति नै त्याग पनि गरेको छ भने पनि पूर्णकालिन पार्टी काम दिने सवालमा निर्णायक तहमा उहिले पनि र अहिले पनि बस्दै आएका पुरुषहरूको दिमागमा त्यो महिलाभन्दा बरु अक्षम नै भए पनि कम समर्थ पुरुषको नाम नै अगाडि आउँछ । यद्यपि, महिलामा आफू पनि नेतृत्वमा जानु पर्छ भन्ने व्यक्तिगत इच्छा आकांक्षा भित्रैदेखि आमरुपमा आएको छैन तर सार रूपमा यो पुरुष नेतृत्वमा रहेको पित्तृसत्तात्मक सोचको परिणाम नै हो ।

उनी भन्छिन्, ‘अहिले कस्तो छ भने पुरुषहरूको लगानी छ, उनीहरूले पनि राजनीतिमा लगानी धेरै गरे, योगदान पनि धेरै गरे । त्यसकारण मौका पाउन पाए हुन्थ्यो भन्ने उनीहरूले इच्छा गर्छन् तर त्यसरी मौकाका ठाउँमा महिलालाई ल्याइयो भने आफ्नो मौका गुम्ने वा खोसिने भयो भन्ने सोच्छन् र त्यसकारण जानीबुझी पनि महिलालाई अगाडि ल्याउने काम गर्दैनन् । अर्कोचाहिँ नजानिकनै उनीहरूमा रहेको पहिलेको ‘रुटेड माइन्ड’ले गर्दा पनि निर्णयहरू लिँदा महिलालाई उनीहरू सम्झिँदैनन् । अहिलेको अवस्थामा महिलालाई राजनीतिमा स्वतन्त्रतापूर्वक अगाडि आउन नदिनमा यो पनि एउटा चुनौती हो ।’

लक्ष्मी कार्की
०००

Logo