मलाई मेनपावर कम्पनी र विभाग मिलेर धेरै रुवाए

मलाई मेनपावर कम्पनी र विभाग मिलेर धेरै रुवाए

केन्द्रबिन्दु
0
Shares

दरवीर यादव ।
बैदेशिक रोजगार विभागका कर्मचारीसँग मिलेर धेरैले दुख दिए ।

मेरो घर सिराहा जिल्लाको थर्लाकठा हो । सामाखुसीमा रहेको जीआर इन्टरनेष्नल मेनपावर कम्पनीले १५ महिनाअघि मलाई ‘ड्राइभिङ’ पेशाकोलागी साउदी अरव पठाएको थियो । १८ सय रियाल पाउने सर्त भएपनि कम्पनीले मलाई तोकिएको रकम दिएन । मुस्किलले खान पुग्ने पैसा मात्र दियो । त्यही कारण म १३ महिनाभन्दा बढी बस्न सकिनँ । स्वदेश फर्केर आएँ ।

यो १३ महिना मैले देश छोडें, परिवार छोडें र साँच्चै भन्ने हो भने मैले आफैंलाई पनि गाऊँमा नै छोडेर गएको थिएँ । प्रदेश गएर काम गर्ने कुरा प्रिय थिएन । तर स्वदेशमा पनि काम नभएकाले जान बाध्य थिएँ । गएँ । किनभने त्यसवेला नै मेरो टाउकोमा ७ लाखभन्दा बढी ऋण थियो ।

कामको सिलसिलामा औंलो काटिएर अंगभंग भएको छु । तोकिएको तलव नदिएकाले गाऊँमा लिएको ऋणको ब्याज बढेर अर्को तनाव थपिदै गयो । यिनै कारण म स्वदेश फर्केको थिएँ । तर, तोकिएको तलव नपाएपछि क्षतिपूर्तिको ब्यवस्था भएकाले मैले सुरुमा सम्बन्धित मेनपावर कम्पनीलाई जानकारी गराएँ । उसले मनपरी गाली गरो । एकपैसा पनि नदिने जानकारी दियो । त्यसपछि म सरकारी निकाय बैदेशिक रोजगार विभाग गए । निवेदन दिएँ । तर उनीहरुले मेनपावर कम्पनीकै भाषा बोले । म छक्क परें ।

त्यसपछि बैदेशिक रोजगार विभागका कर्मचारीको दैनिकी जस्तो मेरो पनि दिन त्यसैगरी वित्न थाले । विहान १० बजे विभाग पुग्ने र त्यहाँका कर्मचारीको निर्देशन अनुसार ५ बजेसम्म कुरेर बस्ने । आज कम्पनीको मानिस बोलाईदिन्छु भन्ने तर नबोलाईदिने । सायद उनीहरुले मलाई यत्तिकै गलाएर भगाउने सोच राखेका थिए । तर म न्यायकालागी धाउन बाध्य थिएँ ।

बैदेशिक रोजगार विभाग धाउन थालेको दुई महिना भइसक्दासम्म मैले न्याय पाईंन । गौशालाको एउटा गेष्ट हाउसमा बसेर म विभाग धाउथेँ । यही कारण मेरो टाउकोमा ४० हजार ऋण थपिएको थियो । काठमाण्डौंको महंगीमा खाने र बस्ने भन्ने कुरा चानचुने होइन रहेछ ।

यसवीचमा न्याय पाउनु त कता हो कता, मानसिक यातना, धम्की र निरासा नै निरासा मात्र हात लागेको थियो । विभागका कर्मचारीको रुखो ब्यवहार र जीआर मेनपावर कम्पनीको धम्कीले मलाई निरास वनाउँदै लगेको थियो । काठमाण्डौंमा मेरो आफ्नो भन्ने कोही थिएन । कुनै–कुनैवेला यस्तो लाग्थ्यो, साउदी अरव र काठमाण्डौं मेरालागी उस्तै छन् । दुवै ठाऊँ म उस्तै बेसाहारा हुँदा यस्तो लाग्नु स्वभाविक पनि हो ।

४० हजार रुपियाँ काठमाण्डौंमा खाएको र बसेकोमा थपिएको थियो र अझ प्रतिदिन ऋण बढ्दै पनि थियो । घरको संझना आउँछ । बालबच्चा संझन्छु । अनि एक छाक खाएर ज्यान जोगाउने र ऋण नबढाउने सोच राख्दै क्रमश रोजगार विभाग धाउथेँ ।

मेनपावर कम्पनीको मालिक र विभागका कर्मचारीहरु मलाई पकिट खर्च दिएर खेद्न चाहान्थे । तर मेरो हिसावमा ५ लाख ५५ हजार पाउनु पर्छ भन्ने थियो । उनीहरुको धम्कीले गल्दा–गल्दा म १ लाख दिएभनेपनि छोड्दिन्छु भन्ने लाग्न थाल्यो । र, एकदिन भनिपनि दिएँ । तर उनीहरु ५० हजारभन्दा बढी दिन तयार भएनन् ।

यस्तैमा एक दिन कान्तिपुर टिभीवाट हरेक सुक्रबार वेलुका ७ बजेर ३० मिनेटमा प्रशारित हुने कार्यक्रम ‘सेफ माईग्रेसन’को टिमसँग मेरो भेट भयो । उहाँहरुले मलाई रोजगार विभागका महाप्रबन्धकसँग भेटाएर कुरा राख्ने अवसर जुटाईदिनु भयो । मलाई मधेसे भनेर तथानाम गाली गर्ने कर्मचारीहरुलाई महाप्रबन्धकको अगाडि उभ्याएर माफी मगाईदिनु भयो । तर, महाप्रबन्धकले भनेजस्तोगरी मेनपावर कम्पनी मान्न तयार भएनन् । फेरि ‘सेफ माइग्रेसन’का साथीहरुले मलाई श्रममन्त्री कहाँ गएर कुरा राख्ने अवसर जुटाइदिनु भयो । मन्त्रीले महाप्रबन्धकलाई बोलाएर तत्काल मेरो काम गरिदिन निर्देशन दिनु भयो । त्यसपछि मेनपावर कम्पनीले बोलाएर १ लाख रुपियाँ दियो । मैले यही पैसामा खुसी मान्नु पर्ने भयो ।

भनिन्छ, समयमा न्याय नदिनु पनि अन्याय गरेजत्तिकै अपराध हो । अझ पीडितलाई न्याय माग्ने ठाऊँ बैदेशिक रोजगार विभाग भित्रै पनि ज्यानमार्नेसम्मका धम्की आउनुले सरकारको निरिहता बुझ्न यो घटना काफि छ । यस वीचमा मलाई ज्यान मार्नेसम्मका धम्की पनि आए । मेरो गल्ती के थियो ? मेले कहिल्यै बुझ्न सकिनँ ।

पढेलेखेको नभएका कारण मैले नजानी र उनीहरुले जानेर मलाई धेरै ठाउँ ल्याप्चे लगाउन लगाएका रहेछन् । पछि थाहा भयो, जस्तो भएपनि सहन्छु भन्ने भाषा उल्लेख गरेर ल्याप्चे लगाउन लगाएका रहेछन् । औंला काटियो । तर उपचार गर्दाको प्रमाण ल्याउन नसकेर त्यसवापातको पाउने क्षतिपूर्तिवाट पनि बञ्चित भएँ । विदेश भन्ने सुन्न नसक्ने भएर फर्केको छु ।

अव ८ लाख ऋणको भार बोकेर स्वदेश नै बस्ने सोच पालेको छु । तर, फेरि मनमा प्रश्न आउँछ, यहाँ बसेर चाहिं के गर्नु ?

(यादवसँग केन्द्रविन्दु संवाददाताको कुराकानीमा)

Logo