विजय चौथाइवालेको नेपाल दौडधुपले के अर्थ राख्छ?

विजय चौथाइवालेको नेपाल दौडधुपले के अर्थ राख्छ?

केन्द्रबिन्दु
0
Shares

लामो समयपछि भारत नेपालमा राजनीतिकरूपमा सक्रिय भएको छ। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमण नेपालमा भारतको राजनीतिक सक्रियताको सूचक हो।  

सन् २०१४/१५ यता नेपालसँगको सम्बन्धलाई भारतले ‘कर्मचारीतन्त्र’ तहमा सीमित गर्दै आएको थियो। नेपाल–भारत सम्बन्धमा भारतीय कर्मचारीतन्त्रका ‘बाबु’हरूको बोलबाला थियो। अब भने सम्बन्ध राजनीतिकस्तरमा जाने देखिन्छ।   

दक्षिणी छिमेकीले नेपालको राजनीतिलाई लामो समयदेखि प्रभाव पार्दै आएको हुँदा सानो हलचलले पनि ठूलो अर्थ राख्छ। चौथाइवालेको भ्रमणले वर्तमान परिप्रेक्ष्यमा के अर्थ राख्छ त? भारतको यस किसिमको सक्रियताका पछाडि कारण के होला? चर्चा गरौँ। 

नयाँ सरकार र भारतको भूमिका 
नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकारको बहिर्गमनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ। देउवाको नेतृत्वमा सरकार बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वासको मत प्राप्त नहुन्जेल बधाई नदिनुलाई विभिन्न कोणबाट व्याख्या गरिए पनि त्यसका पछाडि अन्य केहीभन्दा पनि भारतका तर्फबाट देउवाको स्पष्ट सत्तारोहणको प्रतिक्षा नै थियो। अहिले चौथाइवालेको भ्रमण र भेटघाटसँगै देउवाको भारत भ्रमणको पनि चर्चा हुन थालेको छ। 

देउवा पश्चिमा केन्द्रसँग लामो समयदेखि निकट छन्। हाल भारत र पश्चिमा केन्द्र एक भएर लागिपरेका छन्। त्यसैले देउवालाई भारतको साथ र समर्थन छैन भन्नु गलत हुन्छ। 

चौथाइवालेले प्रधानमन्त्री देउवा, माओवादी नेता प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायत नेतासँग भेट गरिसकेका छन्।

चाहे ओली हुन् वा देउवा, नेपालमा सत्ता परिवर्तन भएर जोसुकै आएपनि भारतसँग निकटस्थहरू नै आउने गर्छन्। साथै नेपालमा सत्ता परिवर्तनमा भारतको भूमिका रहने गर्छ भन्ने कुरा पनि फेरि पुष्टि भएको छ। ओलीको सरकार ४१ महिनाको अन्तरालमा ढलेपछि राजनीतिक स्थिरताबाट बिचलन भएको नेपालमा भारतको एक हिसाबले माथिल्लो हात त परेको छ नै। त्यसमाथि आगामी दिनमा थप खुला भूमिकामा भारत देखिन सक्ने चौथाइवालेको भ्रमणबाट आँकलन गर्न सकिन्छ।
 
चौथाइवालेले प्रधानमन्त्री देउवा, माओवादी नेता प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाललगायत नेतासँग भेट गरिसकेका छन्। नेपाली राजनीतिमा बोलबाला भएका यी अनुहारहरूसँग चौथाइवालेको भेट नेपालमा विकास भएको पछिल्लो घटनाक्रमको अध्ययन र त्यसै अनुसार भारतीय सक्रियताको तयारी हो।    

अफगानिस्तानमा तालिवानको उदय र भारतको शक्ति क्षय
२० वर्षको अन्तरालमा अफगानिस्तानको शासन सत्ता फेरि तालिवानको नियन्त्रणमा आएको छ। सन् २००१ यता अफगानिस्तानमा रहेको अमेरिकी सेना फर्कंदै गर्दा तालिवानले अफगानिस्तानको सत्तामा रहेको अमेरिकासमर्थित सरकारलाई अपदस्थ गर्यो। शासनको बागडोर सम्हालेका राष्ट्रपति असरफ घानी देश छोडी युएई पुगेका छन्। 

हिन्दुत्वको नारा दिएर सत्तामा पुगेका नरेन्द्र मोदी र इस्लामी पाकिस्तानसँगको सम्बन्ध उनको सत्तारोहण भएदेखि नै खस्कँदो क्रममा छ। वैश्विक मञ्चमा तल परेको अमेरिकाको दक्षिण एसियामा क्षेत्रीय साझेदार भारत हो। अमेरिकाको हार उसका साझेदारहरूका लागि साझेदारी भरपर्दो छैन भन्ने सन्देश हो। अर्कोतर्फ अमेरिकाको हारले अमेरिकालाई भन्दा भारतलाई असर गरेको छ। 

तालिवानको सत्तारोहण र त्यसप्रति रुस र चीनको उदारतालाई सूक्ष्म रूपमा अध्ययन गर्दा क्षेत्रीयरूपमा भारतको तुलनामा चीन र पाकिस्तानको हातमाथि परेको स्पष्ट हुन्छ। 

चीन र पाकिस्तानलाई कमजोर तुल्याउन अमेरिकासँग साझेदारी गरेको भारतसहित अमेरिकाका अन्य शक्ति साझेदारहरूको भविष्य अन्योलमै परेको छ भन्दा पनि फरक नपर्ला। अमेरिकाको शक्ति क्षय हुँदै गर्दा सिर्जना भएको ‘भ्याक्युम’मा चीन र रुस (विशेषगरी चीन)ले स्थान लिने क्रम जारी छ।  

यस्तो अवस्थामा छिमेकलाई लामो समयसम्म बेवास्ता गरेको भारत सक्रिय हुनु स्वभाविक छ। चीनसँग सीमाना भएको नेपाल, जहाँको राजनीतिमा कुनै न कुनै किसिमको भारतीय प्रभाव रहँदै आएको छ, त्यहाँ भारतको सक्रियताले उसको क्षय हुँदै गएको शक्तिलाई केही हदसम्म राहत दिन सक्छ। 

समग्रमा भारतीय सक्रियता छिमेक र क्षेत्रियस्तरमा उसको खस्कँदो उपस्थितिको प्रतिफल हो।

(अर्थराजनीति विज्ञ भूर्तेलसँग केन्द्रबिन्दुका कुशल बस्नेतले गरेको कुराकानीमा आधारित)

Logo