चीन जोड्ने कोदारी राजमार्ग क्षतविक्षत, २६ किमीको सडक पार गर्न ५ घण्टा !

चीन जोड्ने कोदारी राजमार्ग क्षतविक्षत, २६ किमीको सडक पार गर्न ५ घण्टा !

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।
छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्ग अन्तर्राष्ट्रियस्तरको सडक हो । तर, सडकको दुरावस्थाले आवतजावत गर्नै समस्या परेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाली सेना र अन्य निजी निकायले ल्याउने स्वास्थ्य सामग्री यही सडक भएर राजधानी भित्रिन्छन् । भूकम्प र बाढीले क्षतिग्रस्त सडक गतवर्ष चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले मर्मत गरेको थियो । वर्ष दिन अघि चिनियाँ कम्पनीले भरेको पातलो कालोपत्रे निरन्तर परेको बर्षासँगै बगेर भोटेकोशीमा मिलिसकेको छ । भर्खरै खोलेको कच्ची ट्र्याकमा चलेझैं सवारी साधन जसोतसो गुडिरहँदा सरकारी निकायको नजर यो सडकमा परेको छैन ।

भन्सारबाट छुटेका ट्रक र कन्टेनर तातोपानीबाट बाह्रबिसे आइपुग्न पाँच घण्टा लाग्छ । स्वास्थ्य उपकरण, स्याउ, लसुन र हाइड्रोपावरका सामग्री बोकेर भन्सारबाट राजधानी हिँडेका कन्टेनर भ्यान कहाँ पुगेर दुर्घटनामा पर्ने हो निश्चित छैन । सडकको दुरावस्थाले सवारी साधनलाई जोखिममा पारेको छ ।

बाह्रबिसेदेखि तातोपानी मितेरीपुलसम्मको २६ किलोमिटर कोदारी सडक जीर्ण देख्दादेख्दै सरकारी नम्बरप्लेटका महङ्गा गाडी मुश्किलले गुडाइन्छ । बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, तातोपानी भन्सार र सडक डिभिजन चरिकोटका जनप्रतिनिधि र उच्च अधिकारी दिनदिनै यही सडकबाट आउजाउ गर्छन् । स्थानीयले पटकपटक औँला ठड्याएर सरकारका निकायलाई खबरदारी गर्दा पनि कसैले चासो दिँदैनन् ।

छब्बीस किलोमिटर सडक कम्तीमा ३० ठाउँमा बिग्रिएको छ । कतै पहिरो त कतै ठूल्ठूला खाल्डाखुल्डी छन् । सडकको दुरावस्थाले बिरामी बोक्ने एम्बुलेन्स बाह्रबिसेबाट भोटेकोशी गाउँपालिकातर्फ जानै मान्दैनन् । दर्जनौँ पहिरा र खाल्डाखुल्डी छिचोलेर बाह्रबिसे आउने जाने एम्बुलेन्सले रु तीन हजारसम्म भाडा असुल्छन् । बोलेरो गाडीमा आउँदा रु एक हजार भाडा तिर्नुपर्ने बाध्यता छ ।

“जीर्ण सडक र महङ्गो भाडाले सीमा क्षेत्रका स्थानीय मारमा परेका छन्,” सिन्धुपाल्चोक चेम्बर अफ कमर्शका कोषाध्यक्षसमेत रहेका स्थानीय ग्याल्साङ शेर्पाले भने । बर्खा नलाग्दै कोदारी राजमार्गको अवस्था खराब बनेको उनले सुनाए । ठाउँठाउँमा सडक किनार भत्केर र पहिरो लागेर भोटेकोशी नदी थुनिँदै गएकोले सीमा क्षेत्रका स्थानीय उच्च जोखिममा परेका छन् । सडककै दुरावस्थाले कतिपय विकास निर्माणका काम प्राय ठप्प छन् । मध्यभोटेकोशी जलविद्युत् आयोजना, माथिल्लो भोटेकोशी र भोटेकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिकाको विकास निर्माणका योजना अलपत्र परेका हुन् ।रासस

Logo