‘उपत्यकामा भएको जनशक्तिबाटै अर्थतन्त्र चलायमान बनाउँ’ : मेयर शाक्य

‘उपत्यकामा भएको जनशक्तिबाटै अर्थतन्त्र चलायमान बनाउँ’ : मेयर शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सोमबार उपत्यकामा थप तीन जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले थप सजग हुनुपर्ने बताएका छन् ।

उनले उपत्यकावासी दुई महिना बढी समयदेखि लकडाउनको पूर्ण पालना गरेर बसेका भए पनि केहीले पहुँचका आधारमा र लुकिछिपी लकडाउनको अवज्ञा गर्दै उपत्यका प्रवेश गर्नेहरुका कारण संक्रमितको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरे । अझै पनि राज्यले सजगता नअपनाउने हो र सञ्चारमाध्ययमको भूमिका प्रभावकारी नहुने हो भने भयावह अवस्था आउन सक्ने भन्दै सबै नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।

उपत्यकाका जनप्रतिनिधिको आग्रहलाई मध्यनजर गर्दै गृह मन्त्रालयले केही दिन अघि मात्रै उपत्यका प्रवेशमा कडाई गर्न जारी गरेको परिपत्रको स्वागत गर्दै शाक्यले भने, ‘गृहले उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सील गर्न आग्रह गरेको छ । गृहले परिपत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरेको छ । यो सकारात्मक छ ।’

उनले उपत्यकाका सबै सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरेर उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्नुको विकल्प नभएको पनि बताए । ‘पहिला पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भयो अब त्यस्तो समस्या दोहोरिनु हुन्न,’ उनले भने, ‘त्यसका लागि गृह प्रशासनले कडाईका साथ कदम चाल्नुपर्छ । हामी समन्वय गर्न तयार छौँ ।’ उनले उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्नु पूर्व नै सुरु प्रस्थान जिल्लामै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्न र आगमन कडाइका साथ लागु गर्न आग्रह गरेका छन् ।

कोराना अघि–अघि, राज्य पछि–पछि नहोस्

प्रमुख शाक्यले पछिल्लो समय आरडीटी र पीसीआर परीक्षण गर्नेको होडबाजी चलेको भन्दै त्यसमा समेत नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । उनले एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने कुरालाई पूर्ण रुपमा नरोक्ने हो भने परीक्षण गरेर मात्रै कोरोना रोकथाम र नियन्त्रण नहुने पनि बताए । ‘अहिले उपत्यकामा लकडाउनका बेला उपत्यकाभित्र र बाहिर आउ–जाउ गर्ने नै अधिकांश संक्रमित भएको देखिएको छ । अझै पनि यो निरन्तर रहने हो भने उपत्यका झन भयावह हुन सक्छ,’ उनले भने, ‘उपत्यका प्रवेशमा कडाई नगर्ने अनि लुकिछिपी र पहुँचका आधारमा उपत्यका प्रवेश गरेका संक्रमित र उनीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दै जाने हो भने कोरोना अघि–अघि, राज्य पछि–पछि हुन्छ र संक्रमण पनि नियन्त्रण बाहिर गएर भयावह हुनसक्छ । नियन्त्रण पनि कठिन हुन्छ । हामीले पटक–पटक यहि सुझाव दिदैँ आएका छौं ।’

पीसीआर परीक्षणमा होडबाजी होइन, सीमाका क्वारेन्टाइनमा जोड

उनले उपत्यका प्रवेशमा कडाई गर्न आग्रह गर्दै आरडीटी र पीसीआर परीक्षणमा हुने खर्चले सीमा–सीमामा सुविधा सम्पन्न क्वारेन्टायन निर्माणमा ध्यान दिन सुझाव दिए । ‘अहिले सीमा–सीमामा भारतबाट आउने नेपाली नागरिकको चाप बढेको, क्वारेन्टाइनमा खाने–बस्ने सुविधा नभएको, क्वारेन्टाइनबाट संक्रमित र अन्य भाग्ने गरेको भन्ने समाचार आइरहेका छन्,’ उनले भने, ‘उपत्यका जनघनत्व बढी भएको क्षेत्र हो । उपत्यका असुरक्षित हुँदा एकै पटकको परीक्षणमा करोडौँ रुपैयाँ खर्च हुन्छ । त्यसैले उपत्यकालाई सुरक्षित बनाउने रणनीति बनाऔँ । अनि यहाँ परीक्षणमा हुने खर्चलाई सीमाका क्वारेन्टाइनलाई व्यवस्थित गर्ने र परिक्षणको दायरा बढाउनेमा ध्यान दिउँ । त्यसले सरकारप्रतिको विश्वास पनि बढेर जान्छ ।’

क्वारेन्टाइनमा राम्रो खाना १४ दिनसम्म खाने व्यवस्था, बस्ने सुविधा राम्रो भयो भने सरकारको विरोध पनि कम हुने उनले दाबी गरेका छन् । ‘लकडाउनको अवज्ञा गर्दै पहुँचका आधारमा र लुकिछिपी एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमित एक जनाका कारण सयौँ जनाको परीक्षण गर्नुपर्ने र क्वारेन्टाइनमा राख्नु पर्ने हुन्छ,’ उनले भने, ‘त्यसमा पनि थप केहीको पीसीआर पोजेटिभ देखियो भने हजारौंको परीक्षण गर्नु पर्ने हुन्छ । जसका कारण राज्यको करोडौँ खर्च हुन्छ । एक व्यक्तिको गल्तीका कारण राज्यको करोडौँ खर्च हुने अनि संक्रमित अघि–अघि राज्य पछि–पछि कुद्नु पर्ने अवस्था आउन सक्छ । यो विषयमा पनि राज्य गम्भीर हुन जरुरी छ ।’

अर्थतन्त्र चौपट
पछिल्लो समय परीक्षण–परीक्षण मात्रै भनेर अर्थतन्त्रका बारेमा ध्यान नदिंदा थप जटिलता पैदा भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । ‘परिक्षण–परीक्षण मात्रै भनिरहेका छौँ, त्यसको पछिको आर्थिक पाटोका बारेमा हामीले सोचेकै छैनौँ,’ उनले भने, ‘पहुँचका आधारमा संक्रमणको दायरा भित्र नपरेका व्यक्तिमा समेत पीसीआर गर्नुपर्छ भन्ने होडबाजी चल्ने हो भने राज्य खोक्रो हुन्छ । राज्यले सित्तैमा गर्ने हो पहुँच लगाएर परीक्षण गरौँ भन्ने लहडमा हामी हिड्यौँ भने मुलुकको अर्थतन्त्र नियन्त्रण भन्दा बाहिर जान सक्छ ।’

लकडाउनको अवज्ञा गरेर लुकीछिपी राज्यको आँखा छलेर जथाभावी हिड्ने व्यक्तिका कारण कोरोना संक्रमण फैलिने अवस्था आयो भने त्यस्ता व्यक्तिलाई दण्डित गर्ने सम्मको तयारी राज्यले गर्नु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘शंकास्पद व्यक्ति हो भने त्यसलाई जहाँ हो त्यहिं रोकेर क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने गर्नुपर्छ,’ शाक्यले भने, ‘तर, पहुँचका आधारमा जथाभावी परीक्षण गर्ने होडका कारण सिमित स्रोत–साधन भएको हाम्रो जस्तो मुलुकमा संक्रमितले परिक्षण नपाउने र संक्रमण झन भयावह हुने खतरा बढी हुन्छ ।’

Logo