काठमाडौं घोषणापत्र जारी गर्दै पोषणसेवा विस्तार अभियान सम्बन्धी विश्व सम्मेलन सम्पन्न

काठमाडौं घोषणापत्र जारी गर्दै पोषणसेवा विस्तार अभियान सम्बन्धी विश्व सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा आयोजित पोषणसेवा विस्तार अभियान सम्बन्धी ४ दिने विश्व सम्मेलन- २०१९ सम्पन्न भएको छ । विहिबार सम्पन्न  सम्मेलनले ‘काठमाडौं घोषणा–पत्र’ जारी गरेको छ ।

सम्मेलन संयुक्त राष्ट्र संघको पहल र सदस्य राष्ट्रहरूको नेतृत्वमा सन् २०१० बाट सुरूवात भएको पोषण सेवा विस्तार अभियान स्केलिङ अप न्युट्रिसन (सन) को पाँचौं विश्व सम्मेलन हो । सम्मेलन एशियामा पहिलो पटक नेपाल सरकार र सन मुभमेन्टको सहकार्यमा आयोजना गरिएको हो ।

‘मानवजाति र पृथ्वी दुवैका लागि पोषण’ नारा रहेको यस विश्व सम्मेलनको अन्तिम तथा चौथो दिन कार्यक्रम समापन गर्दै नेपाल सरकारका तर्फबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जापान सरकारका प्रतिनिधि, नेपालका लागि जापानी राजदूत मासामिचि साइगोलाई काठमाडौँ घोषणापत्र हस्तान्तरण गरे ।

अभियानसम्बन्धी आगामी विश्व सम्मेलन टोकियोमा हुने भएकाले उक्त घोषणापत्र जापानलाई हस्तान्तरण गरिएको हो । सन् २०२० मा जापान सरकारको आयोजनामा टोकियोमा न्युट्रिसन फर ग्रोथ नाम सम्मेलन हुँदै छ ।

समापन समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले नेपाल सरकार आफ्ना विभिन्न नीतिनियम तथा कार्यक्रमहरू मार्फत् नेपाली बालबालिकाको पोषण स्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपाली संविधानले नै स्वास्थ्यलाई मौलिक हक मानेको उल्लेख गरे ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले बालबालिकाको पोषण दिगो विकास लक्ष्यका सबै बुँदासँग प्रत्यक्ष गाँसिएको उल्लेख गर्दै अभियन्ताहरू प्राप्त उपलब्धि नगुमून् भन्ने कुरामा सचेत हुनुपर्ने बताए । उनले थपे, ‘आगामी पुस्ता अझ स्वस्थ र प्रतिभाशाली होस् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ ।’

राष्ट्रसङ्घकी सहायक महासचिव तथा पोषण अभियान संयोजक गेर्डा भेनबर्गले सम्मेलनका सहभागीहरूलाई आआफ्ना देशमा फर्किएर अझ सक्रियताका साथ काम गर्न आग्रह गरिन् ।

सम्मेलनमा ७३ राष्ट्रबाट सहभागिता रहेको थियो भने स्रोत व्यक्ति, साझेदार, पर्यवेक्षक र स्वयंसेवक गरी विश्वका विभिन्न १०१ देशबाट गरी करिव १ हजार २ सय जनाको सहभागिता रहेको थियो । सम्मेलन अवधिभर ४ वटा पूर्णसत्र र २५ वटा कार्यशाला सञ्चालन भएका थिए । नेपालको तर्फबाट यस सम्मेलनमा संघीय तथा प्रदेश सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सम्बन्धित मन्त्रालय तथा विभागका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरू, विकास साझेदार, प्राज्ञिक समूह,  निजी क्षेत्र तथा पोषण अभियन्ता लगायत प्रतिनिधिहरूको सहभागिता थियो ।

सन अभियानको काठमाडौं भेलामा सहभागी सदस्य राष्ट्रले चार विषयमा १८ प्रतिवद्धता व्यक्त गरेका छन् । जसमा पोषणको विषयलाई नीतिगत व्यवस्थामा अंगीकार गर्ने, पोषणको विषय हरेक व्यक्तिको सरोकारको विषय बनाउने, विश्वव्यापी चुनौतिलाई बहुक्षेत्रीय कारबाही गर्ने तथा समानता र सशक्तिकरणमा कसैलाई पछि नछाड्ने विषय रहेका छन् ।

 

 

Skip This
Logo