फाइनलमा पुग्न नेपालले मलेसियालाई दियो चुनौतीपूर्ण लक्ष्य

फाइनलमा पुग्न नेपालले मलेसियालाई दियो चुनौतीपूर्ण लक्ष्य

केन्द्रबिन्दु
238
Shares

नेपालले एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता -२०२४ को फाइनलमा पुग्न घरेलु टोली मलेसियालाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन जोडेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन जोडिन् । साथै डली भट्टले २५ रन, कविता कुँवरले २३ रन तथा रुविना क्षेत्री बेलवासेले २० रन जोडे ।

बलिङमा मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन् ।

आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

नेपालले क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ/आठ विकेटले पराजित गरेको थियो ।

Logo