लुम्बिनी। विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन्।
परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल(एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन्।
मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गरेका गर्दै उनीहरूले बुद्धजन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश दिएका छन्। नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण बनाएको सन्देश पनि उनीहरूले विश्वभर प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन्।
नेपाललाई लगानी गन्तव्यका रुपमा चिनाउन आगामी महिना लगानी सम्मेलन आयोजना हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने अवसरको रुपमा शुक्रबार सम्पन्न समृद्धिका लागि विश्व शान्ति सम्मेलन फलदायी हुने अपेक्षा उनीहरूको छ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा शान्ति, समृद्धि र आर्थिक विकासका विषयमा घनीभूत छलफल भएको थियो । त्यस क्रममा लगानी बोर्डका अधिकारीले नेपालमा लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी दिएका थिए। कृषि, ऊर्जा, पर्यटन पूर्वाधार, उद्योगलगायत क्षेत्रमा गरिने लगानीबाट मनग्ये प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरिएको थियो।
एचसिसीएनका प्रमुख विष्णुकुमार अग्रवाल, उपप्रमुख चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसात् गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको थियो। उनिहरूले विश्व शान्तिको केन्द्र भगवान्को बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित सम्मेलन शान्तिपूर्ण र समृद्ध विश्व बनाउने आधारशिला निर्माणमा उपयोगी भएको विश्वास व्यक्त गर्दै आफ्नो देशका लगानीकर्तालाई नेपाल आकर्षक गन्तव्य भएको जानकारी दिन आग्रह गरेका थिए।
सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूत सहभागी थिए ।
प्रतिक्रिया