पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव हुने

पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव हुने

केन्द्रबिन्दु
28
Shares

कास्की। ‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो। यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने महोत्सव संयोजक एवं होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

नव वर्ष महोत्सवलाई भव्य बनाउने गरी आवश्यक तयारी भइरहेको छ। महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली नेपाली खानाको प्रवर्द्धन रहेको अध्यक्ष सुवेदीले बताए। विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका कक्ष पनि महोत्सवमा समेटिएका छन्।

अध्यक्ष सुवेदीले भने,’नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिइएको हो। पर्यटनको राजधानी घोषणापछि पहिलो पटक हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छौँ।’

महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। महोत्सवको तयारीका लागि २१ समिति गठन गरिएको छ। महोत्सवको अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए। महोत्सवका आकर्षणमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रदर्शन र पर्यटक दौड प्रतियोगितालगायत छन्।

कोभिड-१९ पछि पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेर होटल थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानैलयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यसवर्ष बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक समेत नेपाली नयाँवर्ष मनाउन पोखरा आउने अपेक्षा रहेको बताए। नववर्ष महोत्सवको नेपालका छिमेकी देश भारतसहित अन्तर्राष्ट्रियस्तमा समेत प्रचार भएकाले पर्यटक आगमन वृद्धि हुने उनले उल्लेख गरे।

होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ। कोरोनाका कारण दुई वर्ष सञ्चालन नभएको महोत्सव अन्य वर्षमा निरन्तर रहेको छ। पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नवीन पोखरेलले नव वर्ष महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनका माध्यमबाट आर्थिक उन्नयनमा योगदान गरेको बताए।

Logo