५० लाख बजेटमा राजविराजकाे मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान

५० लाख बजेटमा राजविराजकाे मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान

केन्द्रबिन्दु
56
Shares

राजविराज(सप्तरी)। उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन्। गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन्।

राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण त्यसलाई कम गर्ने उदेश्यले सिसी क्यामरा जडान गरिएका हुन्। राजविराजको गजेन्द्र चोक, दर्शन चोक, राममन्दिर, अदालत रोड, पानीट्यङ्की रोडसहितका ठाउँमा निगरानी गर्न सिसी क्यामरा जडान गरिएका हुन्।

नगरपालिकाले नगरक्षेत्रभित्रको सुरक्षालाई मध्यनजर गर्दै नगरलाई उज्यालो बनाउने उद्देश्यले पाँच ठाउँमा फ्लडलाइट र १३ ठाउँमा मिनिफ्लडलाइट समेत जडान गरिएको राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिए। जडान गरिएका क्यामराको निगरानी जिल्ला प्रहरी कार्यालय तथा नगरपालिकाले गर्ने उनले बताए। बजारलाई व्यवस्थित गर्न नगरपालिका लागिपरेको उनको भनाइ छ।

राजविराज नगर क्षेत्रमा जडान गरिएका सिसी क्यामराका माध्यमबाट नगरको सुरक्षा व्यवस्थासँगै अपराध नियन्त्रण गर्न मद्दत पुग्ने प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले बताए।

Logo