पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण

पूर्वाधार विकास कार्यालयद्वारा सडक र पुल निर्माण

केन्द्रबिन्दु
98
Shares

म्याग्दी। पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा १२ किलोमिटर पक्की सडक निर्माण गरेको छ। सो कार्यालयमार्फत क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दाबढी योजना कार्यान्वयन भएका छन्।

कार्यालयले आठ किलोमिटर सडक कालोपत्र गर्नुका साथै चार किमी सडक ढलान गरेको कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले बताए। यस क्रममा दुई मोटरेबल पुल, एउटा झोलुङ्गे पुल तथा ३१ वटा कल्भर्ट निर्माण गरिएका छन्। बाह्र किमी सडक ग्राभेलसमेत गरिएको छ।

अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन भएको प्रमुख पौडेलले बताए। आर्थिक वर्ष २०८०/८१ मा रु ६९ करोड ३२ लाख पुँजीगत बजेट रहेको सो कार्यालयले रु ५१ करोड ९६ लाख ७६ हजार खर्च गरेको छ।

लेखा शाखाका प्रमुख त्रिविक्रम शर्माका अनुसार गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी कालोपत्र तथा केही ठाउँमा सडक ढलान र ग्राभेल गरिएको छ। मालिका गाउँपालिकाको वडा नं १ र मङ्गलाको वडा नं ५ लाई मालिकाको केन्द्र दरबाङ बजारसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण भएको छ। बेनी–दरबाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरिएको छ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमाना अर्जेखोलामा २५ मिटर मोटरेबल पुल निर्माणको क्रममा छ। मालिका गाउँपालिका–३ र ४ को सिमाना अधिभारामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्ने कार्य भइरहेको छ। अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी र वडा नं ५ पाउद्वार तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ।

Logo