काठमाडौं
भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगत बहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए । "/>

ज्यानमारा बन्दै तीनकुने–सूर्यविनायक ६ लेन सडक : चालू आर्थिक वर्षमा १५ को मृत्यु

ज्यानमारा बन्दै तीनकुने–सूर्यविनायक ६ लेन सडक : चालू आर्थिक वर्षमा १५ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
भक्तपुर थिमीका ६६ वर्षीय फर्निचर व्यवसायी जगत बहादुर श्रेष्ठ बुधबार मध्यपुर थिमी चारदोबाटोमा जेब्राक्रसिङमा ठहरै भए । बिहान साँढे पाँच बजे काठमाडौ तिरबाट आएको सवारी साधनले ठक्कर दिँदा उनको जेब्राक्रसिङमै मृत्यु भएको हो । द्रुतगतिको ठक्करका कारण उनको शरीर जेब्राक्रसिङबाट पूर्वतिर दुई सय मिटर टाढा हुत्तिएको थियो ।घटनापछि मृतकका आफन्त र स्थानीयले बुधबार करिब ३ घण्टा यो सडक अवरुद्ध गरे । सडक बन्द हुँदा स्कुले बालबालिका र कलेजका विद्यार्थीले सास्ती झेल्नु पर्‍यो । जिल्ला प्रशासन कार्यालयको प्रयासपछि बिहीबार मात्र आफन्तले मृतकको दाहसंस्कार गरे । श्रेष्ठ सधैंजसो जेब्राक्रसिङबाटै बाटो पार गर्दै थिए । घटना लगत्तै प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर भक्तपुर अस्पतालमा शव पुर्‍याउँदा सम्म मृतकका आफन्तले थाहा पाएका थिएनन् । यो अवधि करिब तीन घण्टाको थियो ।

जेब्राक्रसिङमा बाटो काट्ने क्रममा सवारी साधनको ठक्करबाट ज्यान गुमाउने श्रेष्ठ प्रतिनिधि पात्र मात्र हुन् । यो खण्डमा दैनिक धेरै संख्यामा दुर्घटना हुने गरेका छन् । दुर्घटनाका कारण ज्यान गुमाउने बर्सेनि बढेका छन् । यो वर्ष मात्र करिब ३० जनाले यो सडक खण्डमा ज्यान गुमाएको हुन सक्ने स्थानीयले बताए । ‘सडकमै मृत्य भएको रेकर्ड प्रहरीसँग हुन्छ । कतिको त अस्पताल पुगेर उपचारका क्रममा मृत्यु हुन्छ, त्यो कुरा कसैलाई थाहा नै हुँदैन,’ स्थानीय पसले रोकश श्रेष्ठले भने । उनी भन्छन्, ‘यो सडकमा दुर्घटना भएपछि बाँच्ने सम्भावना अत्यन्त कम हुन्छ ।’

महानगरीय ट्राफिक महाशाखाको दुर्घटना विवरण अनुसार यो सडक खण्डमा पाँच वर्षको अवधिमा ७८ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको माघ महिना भित्र मात्र १५ जनाको मृत्यु भइसकेको छ । तीनकुने देखि सूर्यविनायक सम्म ९ किलोमिटर सडक खण्डमा यति ठूलो संख्यामा व्यक्तिको ज्यान गएको हो । मध्यपुर थिमी चारदोबाटो, सूर्यविनायक लगायतका स्थानमा दिनहुँ दर्जनौं दुर्घटना हुन्छन् । ‘दिनहुँ दुर्घटना कति हुन्छ, हिसाब गरी साध्य छैन,’ चारदोबाटो सडक खण्डमा खटिएका ट्राफिक प्रहरी दिलबहादुर थापाले भने ।

महाशाखाकै अभिलेख अनुसार यो खण्डमा ६ लेनको सडक बनेको पाँच वर्षको अवधिमा ४ हजार ६६२ वटा दुर्घटना भएका छन् । ती मध्ये १ सय ६ जना गम्भीर घाइते र १ हजार ६ सय १९ जना सामान्य घाइते बनेका छन् । स्थानीयका अनुसार यो सडकमा दुर्घटना हुनेमा तीव्र गतिमा चल्ने ट्रक, टिपर र मोटरसाइकल बढी देखिन्छन् । यो अवधिमा सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल परेको देखिन्छ । दुर्घटनामा परेका सवारी साधन मध्ये १४ सय ६८ मोटरसाइकल छन् भने ५ सय ५५ टिपर र ट्रक छन् । यो अवधिमा जम्मा ४ हजार ६ सय ६२ वटा सवारी साधन दुर्घटनामा परेको तथ्यांक छ ।
नागरिकबाट

Logo