काठमाडौँ, ३ माघ
“रानीपोखरीभित्रको कालोमाटो, बालुवा र इँटा कहाँ लगियो ? त्यसबारे नागरिकलाई जानकारी दिनुप¥यो”, कामपावासी शैलेन्द्र शाक्यको माग छ ।
“पुनःनिर्माणको बहानामा ऐतिहासिक सम्पदालाई व्यापारीकरण गर्न खोजिएको छ, त्यसका नाममा भएको अनियमितता छानविन गर्नुपर्छ,” उहाँले अगाडि भन्नुभयो ।
रानीपोखरी जीर्णाेद्धारबारे आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा विज्ञ समूहलाई सुझाव दिँदै सहभागी सर्वसाधारणले ऐतिहासिक सम्पदाको ऐतिहासिकरुपमा नै पुनःनिर्माण गरिनुपर्ने र त्यसो नभए विरोध हुने बताए ।
सामाखुशीका विश्वनाथ श्रेष्ठले पनि पुनःनिर्माणका क्रममा पोखरीको चार कुनामा रहेको विभिन्न देवताको प्रतिमालाई पनि जस्ताको तस्तै राख्नुपर्ने धारणा राख्नुभयो ।
ऐतिहासिक सम्पदा नागरिकको सम्पत्ति भन्दै अर्का महानगरवासी महेन्द्रमान सिंहले उक्त स्थानमा प्रवेश गर्दा टिकट लिने व्यवस्था गर्न नहुने र पसल र क्याफे पनि सञ्चालन गर्नदिन नहुने विचार व्यक्त गर्नुभयो ।
रानीपोखरीको बालुवा चोरी भएको र यसबारे सम्बन्धित निकायबाट छानविन हुनुपर्ने अर्का सहभागी राजाराम श्रेष्ठको माग थियो ।
मोनालिसा महर्जनले विसं २०७२ वैशाखमा गएको भूकम्पले बालगोपालेश्वर मन्दिरमा मात्र क्षति पुगेको तर पोखरी केही पनि नभएको भन्दै पुनःनिर्माणका नाममा पोखरी भत्काएको दुखेसो पोख्नुभयो ।
दुई वर्षअघि माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट रानीपोखरीको पुनःनिर्माणको काम शुरु गरिएपनि कामले तीव्रता पाएको थिएन । करिब डेढ वर्षअघि कामपाले वल्र्डवाइड कँडेल केएन केजी जेभीलाई यसको पुनःनिर्माणका जिम्मा दिएको थियो ।
पछिल्लो समय पुनःनिर्माणका क्रममा कंक्रिट प्रयोग गरिएको विषयमा विवाद सिर्जना भएको हो । पुनःनिर्माणलाई व्यवस्थित रुपमा छिटो अघि बढाउन गत पुस १३ गते कामपाले ११ सदस्यीय विज्ञ समूह बनाएको थियो ।
विज्ञ समूहका संयोजक पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले स्थानीय बासिन्दा र विज्ञहरुको सुझावका आधारमा पोखरीको निर्माण गरिनेमा कुनै दुई मत नभएको बताउनुभयो ।
सुनुवाइका क्रममा उहाँ भन्नुभयो, “यो छलफल हो । सबैको धारणा र विचारलाई सम्बोधन गरी काम अघि बढाइनेछ । त्यसमा ऐतिहासिकतालाई ध्यान दिँदै सौन्दर्यकरण गर्नेबारेमा पनि विचार गर्नुपर्ने देखिन्छ ।”
कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिराम शर्माले विज्ञ समूहले सर्वसाधारणको भावनालाई समेटेर प्रतिवेदन पेश गर्ने र सोहीअनुरुप नै काम हुने विश्वास व्यक्त गर्नुुभयो । रासस
इतिहासअनुसार प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त पार्न दुई वर्ष लगाएर विसं १७२७ मा रानीपोखरी निर्माण गरिएको इतिहासमा उल्लेख छ ।
गोरखा भूकम्पबाट पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरको संरचनामा समेत क्षति पुगेको थियो ।
प्रतिक्रिया