कस्तो भयानक वधशाला, जहाँ मारिन्छ लाखौं सर्प

कस्तो भयानक वधशाला, जहाँ मारिन्छ लाखौं सर्प

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २ भदौ ।

सर्प भन्नसाथ हामीमा डर पैदा हुन्छ । सर्पलाई हामी शत्रुवत् व्यवहार गर्छौ । किनभने सर्पको टोकाइ प्राणघातक पनि हुनसक्छ । तर, सबै सर्प विषालु हुँदैनन् । र, सबै प्रजातिका सर्पले टोक्दैनन् पनि । यद्यपि हामी सर्प देख्नसाथ मार्न झम्टन्छौं ताकि त्यसको खतरा सामना गर्न नपरोस् ।

अर्कोतिर सर्पलाई नाग देवताका रूपमा पुज्ने समाज पनि छ । विभिन्न जातजातिले विशेष पूजाआजामा सर्पलाई पुकार्छन् । त्यस्तै हाम्रा देवी–देवतासँग पनि सर्पको घनिष्ठता रहेको पाइन्छ । चाहे त्यो भगवान शिवको मालाकै कुरा गरौं वा विष्णु भगवानको बिच्छ्यौनाको, दुवै सर्प नै हुन् । भगवान कृष्ण जन्मिएपछि उनका पिताले बोकेर जेलबाहिर निकाल्दै गर्दा भयानक वर्षा भयो र नाबालक शिशुलाई नागहरूले ओत दिए भन्ने धार्मिक कथन छ ।

त्यसो त पर्यावरणमा सर्पको अहम् भूमिका छ । वातावरणमा भएको विषाक्त पदार्थ सर्पले ग्रहण गर्छ र वातारण शुद्धीकरणमा प्राकृतिक भूमिका खेल्छ ।

तर, संसारमै सर्पप्रति मानिसको सम्बन्ध वैमनष्यपूर्ण छ । सर्पप्रति कति पनि दयाभाव राखिँदैन । कुरा गरौं, इन्डोनेसियाको ।

संसारको सबैभन्दा ठुलो सर्पको वधशाला छ इन्डोनेसियाको जावाई गाउँमा । उक्त वधशालामा दिनहुँ हजारौं सर्प मारिन्छ । यसरी मार्नुको कारण सर्पप्रतिको भयले होइन । न त्यसलाई निर्मूल पार्न नै । खासमा सर्पको छाला उतारेर बिक्री गर्नका लागि हो । यस क्षेत्रको आम्दानीको मुख्य स्रोत पनि त्यही हो ।

युरोपको फेसन जगतमा सर्पको छालाको उच्च माग छ । त्यहाँ दक्षिणपूर्वी एसियाबाट सर्पको छाला निर्यात हुन्छ । अहिले यस भेगमा अजिंगर प्रजातिको सर्प तीव्र रूपले घटिरहेको छ ।

यसरी युरोपियन फेसनका निम्ति सर्पको छाला बिक्री गर्नेमा इन्डोनेसिया अगाडि छ । इन्डोनेसियामै सर्पको छालाबाट ब्याग, जुत्ता, पर्स, बेल्ट बनाइन्छ ।

इन्डोनेसियाका वधशालाहरूमा सर्पलाई अत्यन्तै क्रूर ढंगले मारिन्छ । त्यहाँ पहिला सर्पलाई तातो पानीमा उसिनेर त्यसको छाला निकालिन्छ । त्यसको छाला उतारेपछि सर्पको मासु समेत बिक्री गरिन्छ । (एजेन्सीको सहयोगमा)

Logo