बाढी प्रभावित क्षेत्रमा हैजाको खतरा, पूर्वाञ्चलमा अहिलेसम्म ४६ मृत्यु

बाढी प्रभावित क्षेत्रमा हैजाको खतरा, पूर्वाञ्चलमा अहिलेसम्म ४६ मृत्यु

केन्द्रबिन्दु
0
Shares

 

इटहरी, ३२ साउन ।

अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा ब्यापकरुपमा दुगन्ध फैलिएको छ ।

त्यो क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमा समेत हैजाको त्रास देखिएको छ । सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक सङ्गघ संस्थालगायतले पुरिएका र भत्किँएका घरको उत्खनन गर्ने कार्यमा संलग्न मानिसमा पनि हैजाको संक्रमण फैलन सक्ने अवस्था रहेको छ ।

इटहरीको बूढीखोला किनारमा मात्र झण्डै दुई हजार मानिस विस्थापित भएका र ती सबै अहिले इटहरी उपमहानगरपालिका क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा आपत्कालीन शरणमा बसेका पीडितमा स्वास्थ्य समस्या देखिएको छ । त्यहाँ अत्यावश्यक औषधि आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बूढीखोला पूर्व र पश्चिमपट्टिको मानव बस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझै पनि तथ्यांक सार्वजनिक भएको छैन । ती बस्तीका घरपालुवा गाईभैँसी बाख्रा सुगुरसमेत धेरै बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसको समेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

बाढीबाट विस्थापित परिवारका घर तत्काल बसोवास गर्नसक्ने अवस्थामा नरहेकाले तिनको मर्मत र पुनःनिर्माण गर्ने कार्यमा करोडाँै लाग्नसक्ने अनुमान गरिएको छ ।

बाढीग्रस्त क्षेत्रमा पिउने पानी व्यवस्थापन वा सहयोग गरिदिन बाढी प्रभावितले आग्रह गरेका छन् ।

पूर्वाञ्चलमा ४६ जनाको मृत्यु

पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४६ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् ।

आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा ११ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

त्यस्तै, बाढी पहिरोमा परेर पाँचथरमा तीनजना, झापामा दुईजना, मोरङमा चारजना, सप्तरीमा एक गरी १५ जना बेपत्ता रहेको छ, भने बाढी पहिरोमा परेर मोरङमा तीनजना र सप्तरी र सुनसरीमा एक–एक जना घाइते भएका छन् ।

बाढी पहिरोका कारण ती जिल्लामा ३८९ वटा घर पूर्णरुपले क्षति भएको, ३६३ वटा चौंपाया र दुई हजार २७५ वटा हाँस, कुखुरा मरेको सो कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पूर्वक्षेत्रीय तालीम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणका साथै सम्बन्धित जिल्ला र स्थानीय प्रहरी इकाइ गरी चार हजार पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

विस्थापित परिवारलाई स्थानीय विद्यालय, मन्दिर र सङ्घसंस्थाको सार्वजनिक भवन राखिएको पीडित परिवारलाई स्थानीय समाजसेवी र विभिन्न सङ्घसंस्थाबाट राहत वितरणलगायतका कार्य भइरहेको छ ।

झापामा बाढीले थप एकको मृत्यु, अझै चारजना वेपत्ता
यसैबीच झापामा बाढीका कारण थप एक जनाको मृत्यु भएको छ । कन्काई नदीले बगाउँदा शिवसताक्षी नगरपालिका–७ की १७ वर्षीया निमा तामाङको मृत्यु भएको हो ।

योसँगै झापामा बाढीका कारण मृत्यु हुनेको संख्या १२ जना पुगेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । बेपत्ता भएका चारजना अझै सम्पर्कमा आउन नसकेको कार्यालयले जनाएको छ ।

रेडक्रस झापाले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार जिल्लाका १३ स्थानीय तहका दुई हजार ५२४ परिवार प्रभावित भएका छन् भने दुई हजार ४४४ परिवार विस्थापित भएका छन् । यहाँका १२१ घर पूर्णरुपमा क्षति भएका छन् ।

हालसम्म बाढीपीडितलाई केही त्रिपाल, कम्बल, झुल, म्याट र भाँडाब्र्तन उपलब्ध गराइएको रेडक्रस झापाका अभिषेक पोखरेलले बताए । रासस

Logo