नेपाल–चीनबीच तीन समझदारी–पत्रमा हस्ताक्षर

नेपाल–चीनबीच तीन समझदारी–पत्रमा हस्ताक्षर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ३१ साउन ।

नेपाल र चीनबीच तीनवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसका साथै चीन नेपालमा गएको गोरखा भूकम्पपछि बन्द गरिएको तातोपानी नाका खोल्न पनि सकारात्मक देखिएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
वाङ, गच्छदारका साथै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार, भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । यसमा १५ अर्ब नेपाली रुपैयाँ थप सहायता आउनेछ । यो रकम अरनिको राजमार्गको स्तरोन्नति र रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च गरिनेछ ।

यस्तै, पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । सवा २ अर्ब रुपैयाँको यो सम्झौताको समयावधि तोकिएको छैन ।
नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ ।

सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ ।

द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । यसमा चिनियाँ पक्षले सैद्धान्तिक सहमति जनाएको छ ।

 

Logo