नारायणीमा पनि पानीको बहाव कम हुँदै

नारायणीमा पनि पानीको बहाव कम हुँदै

केन्द्रबिन्दु
0
Shares

नवलपरासी, ३० साउन ।

नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ ।

आइतबार राती खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव आज बिहानबाट विस्तारै घट्दैै गएको छ ।

नदीमा पानीको बहाव ७ दशमलब तीन मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राती नदीमा पानीको बहाव करिब ७ दशमलव तीन मिटर भए पनि बिहान झरेर करिब ५ दशमलव ८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए ।

नेपालको बाटो हुँदै जाने भारतीय नहर बन्द गरिएको छ भने गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले गण्डक ब्यारेजका सबै ढोका खोलिएको अवस्था छ ।

अहिले नारायणी नदी आसपासका क्षेत्रमा समस्या देखिएको छैन । यद्यपि, जिल्लामा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिए ।

बाढी आउने क्रम अझ बढ्दै गयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मिटर पुगेमा उच्च जोखिम मानिन्छ । पहाडी क्षेत्रमा लगातार वर्षा हुँदा नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको हो ।

यसैबीच वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउँमा स्थानीयवासी प्रभावित बनेका छन् । सहर केन्द्रितभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कष्टकर बन्दै गएको छ

नारायणी नदीका वन्यजन्तु फेला

यसैगरी नवलपरासीस्थित नारायणी नदीका वन्यजन्तु फेला परेका छन् । कुनै जीवित अवस्थामा र कुनै मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गैंडा, मृग, हरिण, जरायो, बंँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका हुन् ।

नारायणीमा बढदै गएको पानीमा बग्दै आएको एक गैंडा नारायणी नदीको १६ नम्बर ठोकरमा बाहिर निस्किन सफल भएको छ । जीवित फेला परेका वन्यजन्तुलाई प्रहरीमा बुझाइएको छ ।

ती सबै जनावर वर्षाको भेलका कारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदीमा ल्याएका हुन् । तर कति संख्यामा वन्यजन्तु बगाएर ल्याएको कुनै यकिन तथ्यांक भने छैन ।

सो गैंडा नर्सहीस्थित उखुबारीमा बसेको स्थानीयवासी आरपी उपाध्यायले बताए । उपाध्यायका अनुसार, यसबाहेक मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेला परेका छन् । केही वन्यजन्तु मरेको अवस्थामा नदीमा देखिने गरेको पाइएको छ । रासस

Logo