पहिरोले मुहान बगाएपछि पाँचथरमा खानेपानीको हाहाकार

पहिरोले मुहान बगाएपछि पाँचथरमा खानेपानीको हाहाकार

केन्द्रबिन्दु
0
Shares

पाँचथर, ३० साउन ।

अविरल वर्षाका कारण फालेलुङ र हिलिहाङ गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ । 

पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो । 

स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला, साम्रेखोल्सी, टुवाखोल्सी, देवीथान, महभिर, अँधेरीखोला, अमले खोल्सी, गुहेखोल्सीहरु थापिएका मुहान अधिकांश ट्यांकी तथा बिच्छ्याइएका पाइप तथा मुहान बगाएको हो । 

अहिले आकासेपानीको भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । खानेपानीको मुहानको संरक्षण गरिदिन, टुटफुट भएका, बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई उनीहरुले आग्रह गरेका छन् । 

फालेलुङ–३ मांलेबु र खोलाघारीमा सञ्चालित दुईवटा खानेपानी आयोजनाको मुहान बगाउँदा त्यस भेगका १८३ घरपरिवारमा खानेपानीको समस्या भएको हो । 

फालेलुङ गाउँपालिका–३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङका अनुसार गोर्खा वेलफेर स्किमले डेढ वर्षअघि निर्माण गरेको मांलेबुङ खानेपानी आयोजना र दुई वर्षअघि निर्माण गरिएको खोलाघारी खानेपानी आयोजना शुक्रबार बिहानको पहिरोले बगाएको हो । मांलेबुङ खानेपानी आयोजनाको तीन स्थानबाट मुहान थापिएको छ । तीनवटै स्थानको मुहान पहिरोले बगाएको हो । 

त्यस्तै खोलाघारी खानेपानी आयोजनाको पानी उपभोग गर्दै आएका एक सय घरले खानेपानीको अभाव झेल्नुपरेको छ । रासस 

Logo