राजमार्गको धादिङ खण्ड अवरुद्ध, राहत र उद्धारमा कठिनाइ

राजमार्गको धादिङ खण्ड अवरुद्ध, राहत र उद्धारमा कठिनाइ

केन्द्रबिन्दु
0
Shares

मलेखु (धादिङ), २९ साउन ।

पाँच दिनदेखि लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा पहिरो गएको छ । 

पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा गएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । धादिङबँेसी–काठमाडाँै यातायात पहिरोका कारण अबरुद्ध भएकाले पहिरो पन्छाएपछि एकातर्फी यातायात सञ्चालनमा ल्याइएको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए । 

गजुरी गाउँपालिकाको गौदीमा,बेनिघाट रोराङगाउँपालिका अन्तर्गत जवाङमा र ज्यामिरेघाटमा आएको पहिरोले यातायत सेवा अवरुद्ध भएको छ । प्रहरीकाअनुसार पृथ्वीराजमार्गको साना–साना पहिरोको संख्या २० भन्दा बढी रहेको र सो पहिरो हटाउने कार्य भइरहेको छ । 

आज बिहान जोगिमाराको जावाङमा सडक माथिबाट आएको पहिरोले बा १३ च ७१४९ न को जिपलाई पुरे पनि यात्रु भने सुरक्षित रहेका छन् । यसैगरी उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दूङमा पहिरो जाँदा बिचल्लीमा परेका ३४ परिवारलाई दुई दिनदेखि राहत सामग्री पुर्याउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। 

पैदलमार्गबाट सो स्थानमा जान तीन दिन लाग्ने र पैदलमार्गसमेत पहिरो आएर जान नसकिने भएको उद्धार तथा राहत सेवा उपलब्ध गराउन नसकिएको हो । 

हिन्दूङ गाउँमा ९६ घर रहेपनि ३४ परिवालाई तत्काल राहत दिनुपर्ने गरी जिल्लाविपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । रेडक्रसले अन्तर्राट्रिय गैरसरकारी संस्थाको सहयोगमा गैर खाद्यान्न सामग्री पुर्याउन तयारी गरेपछि हेलिकप्टरको अभावमा लान नसकिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति नारायण तिमल्सिनाले बताए । 

उत्तरी धादिङको पैदलमार्ग समेत अवरुद्ध 

पहिरोले उत्तरी धादिङ जोडने पैदल मार्ग अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षाका कारण पैदल मार्ग अवरुद्ध भएपछि उत्तरको झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङमा आवतजावत बन्द भएको छ । 

दुई दिनअघि हिन्दूङगाउँमा खसेको पहिरोका कारण उद्धारमा कठिनाइ भएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । 

सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको हिन्दूङगाउँवासी दुई दिनदेखि नै गाउँ छाडेर अन्यत्र बसेकाले राहतको प्रतिक्षामा रहेको सोही स्थानका धनसिं तामाङले टेलिफोनबाट जानकारी दिए । 

सदरमुकामबाट हिँडेर जानेबाटोको ठाउँ–ठाउँमा पहिरो गएको छ । लपाफेदी, धार्ना, डुन्डुरे, सेर्तु, स्याम्बोफोमा पहिरोले मानिस हिँड्न मिल्ने अवस्था छैन । पहिरो गएको स्थानमा वैकल्पिक बाटो नभएको र पानी नरोकिएसम्म पैदलमार्ग बनाउन नसकिने सेर्तुका विजय तामाले बताए । रासस

Logo