वर्षाले उदयपुर धानबालीमा ठूलो क्षति

वर्षाले उदयपुर धानबालीमा ठूलो क्षति

केन्द्रबिन्दु
0
Shares

गाईघाट(उदयपुर), २९ साउन ।

शुक्रबार बेलु्कीदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिका– ४ र ५ स्थित सिसुवा खोला र सेती खोलामा भीषण बाढी आउँदा धान बालीमा ठूलो क्षति भएको छ । 

स्थानीय लालसिसुवाका दीपक परियारका अनुसार सिसुवा खोलामा आएको बाढी धानबालीमा पसेपछि सिसुवाखोला आसपासमा पच्चीस बिगाहा भन्दा बढी खेतको धानबाली नष्ट भएको छ । 

यस्तै सेतीखोलाको बाढीका कारण बीसौं बिगाहा जग्गाको धानबाली पुरिएको स्थानीय धनबहादुर भुजेलले बताए । 

यस्तै शनिबार आएको भीषण बाढीले बेलकाको जहडामा केही विद्युत्को पोलसमेत ढालेर विद्युत् अवरुद्ध बनाएको स्थानीयवासी होमबहादुर मगरले बताए । 

ठोक्सिला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास राईले पनि ती स्थानमा बाढीले क्षति पुर्याएको पुष्टि गरेका छन्  । 

वर्षाका कारण क्षतिका सम्बन्धमा तथ्यांक संकलन गर्न समेत समस्या भएको प्रहरी उनले बताए । 

निरन्तर बाढी आएपछि बेलका क्षेत्रका सेतीखोला, लालसिसुवा खोला आसपास बसोवास गर्दैआएका स्थानीयवासी सुरक्षित स्थानतर्फ सर्न थालेको पनि स्थानीयले जनाएका छन् । 

यस्तै भिषण वर्षाका कारण त्रियुगा नगरपालिका– ११ बरुवा खोलामा आएको बाढीले शनिबार स्थानीय अनिष खड्काको एउटा ट्याक्टर बगाएको स्थानीयवासी राजकुमार राउतले बताए  । 

नदीले ट्याक्टर बगाए पनि ट्याक्टर चालकले भने बाढीमा पौडिएर ज्यान बचाएको उनले जानकारी दिए । रासस 

Logo