बाढी पहिरोको बबण्डर: ५० को मृत्यु, हजारौ घरबारबिहिन

बाढी पहिरोको बबण्डर: ५० को मृत्यु, हजारौ घरबारबिहिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ २९, साउन । लगातारको बर्षापछि आएको बाढी र पहिरोबाट देशभरको जनजीबन प्रभावित भएको छ ।

अहिलेसम्म देशभर ५० जनाले ज्यान गुमाएका छन् भने कयौ बेपत्ता भएका छन । हजारौ सर्वसाधारण घरबारबिहीन भएका छन् । अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा, मकवानपुर, दाङ र बर्दियामा २/२, तथा पाल्पा र धनुषामा एक/एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित सातजना सम्पर्कबिहीन भएका छन् । पानीले पुर्वमा झापादेखि पश्चिम बर्दियासम्मको तराईका अधिकांश जिल्लाहरु जलमग्न भएका छन। 

तराईका अधिकांश भूभाग जलमग्न हुँदा ३१ हजार घर डुबानमा परेको बताइएको छ। त्यस्तै पहाडी क्षेत्रमा पहिरो जाँदा जनधनको क्षति भएको छ । तराईको लाइफलाइन पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । तराई क्षेत्रका सहर विराटनगर, इटहरी, विर्तामोड, भद्रपुर, इनरुवा, राजविराज, जनकपुर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्जसहित सहर जलमग्न भएका छन् । तराई क्षेत्रका अधिकांश विमानस्थल जलमग्न भएका कारण हवाई उडान रोकिएका छन् ।

रौतहटको देवाहीगोनाही गाउँपालिका जोहरटोलमा २०० जनाभन्दा बढी मानिस बाढीको बीचमा फसेका छन् । लालबकैया नदीमा आएको बाढीले देवाहीगोनाही गाउँपालिका-२ को करुनियाघाटमा करिब सय मिटर बाँध भत्किएपछि नदीको भंगालोले जोहरटोललाई सम्पर्कविच्छेद भएको छ । उद्धारका लागि गएको सुरक्षाकर्मीको टोली साँझसम्म पुग्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनकृष्ण भण्डारीको टोली बीचैमा रोकिएको छ । नेपाली सेनासहित उद्धार गर्न गएको टोली बाढी ठूलो भएकाले घटनास्थलसम्म पुग्न नसकेको हो । उद्धारका लागि गएको ११ जनाको अर्को टोली पनि देवाहीगोनाही-९ मा फसेको छ । 

पछिल्ला अपडेट 

-सुनसरीको इटहरी उपमहानगरपालिकाको बूढीखोलामा ठूलो बाढी आएपछि खोला किनारमा बसोबास गर्ने सुकुम्बासी टोलका बासिन्दाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरीकै मलिकटोल र गैरीगाउँका हुन् । 

-यता पहिरोले घर पुरिँदा मोरङको लेटाङ नगरपालिका-१ मा शनिबार बिहान ४० वर्षीय गोपीमाया तामाङको मृत्यु भएको छ । घरमै रहेका गोपीमायाका सासू ९० वर्षीय टुलकीमाया, पति ५० वर्षीय टंक र १० वर्षीय छोरीलाई भने स्थानीयले सकुशल उद्धार गरेका छन् । 

-त्यस्तै, लोहन्द्रा खोलाले बगाउँदा केराबारी गाउँपालिका-९ कुसुमेका ५६ वर्षीय मीनबहादुर थापाको मृत्यु भएको छ । नुनसरी बक्राहा खोलामा आएको बाढीले बगाएर मिक्लाजुङ-२ का ३२ वर्षीय गंगाराम खतिवडाको मृत्यु भएको छ ।

-मोरङकै सुन्दरहरैंचा नगरपालिका-४ स्थित बूढीखोलामा आएको बाढीले बगाएर तीन वृद्धा बेपत्ता भएको भनिए पनि प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालका अनुसार सुन्दरहरैंचा-४ की ६३ वर्षीय सावित्रा थापा मगर, संखुवासभा मादीकी ६३ लीला दाहाल र झापा झिलझिलेका ८० वर्षीय गोविन्द कार्कीलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।

-लक्ष्मीनारायण मन्दिरनजिकै कुटी बनाएर बसेका उनीहरूलाई राति आएको बाढीले बगाएको हो ।झापाका अधिकांश क्षेत्र डुबानका छन् । 

-शनिबार राति ९ बजे मैनाचुलीमा कन्काई नदीको जलसतह ५.५ मिलिमिटर पुगेको थियो । ४.२ खतराको स्तर हो । कोरोबारी, कुमरखोद, पाठामारी, विर्तामोड, अर्जुनधारा, शनिश्चरेलगायत क्षेत्र डुबानमा परेको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ ।

-शिवसताक्षी नगरपालिका-१ का २८ वर्षीय लेखनाथ न्यौपाने (विजय) झिल्झिले खोलाले बगाएर बेपत्ता भएका छन् । शिवगन्ज गएर फर्कंदै गर्दा उनलाई खोलाले बगाएको हो ।

-पहिरोले सिन्धुलीको कमलामाई नगरपालिका-६ मा एकै परिवारका चार जनाको ज्यान लिएको छ । पत्रकार महासंघको जग्गामा टहरो बनाएर बसेका चार जनाको पहिरोले पुर्दा मृत्यु भएको हो । शनिबार बिहान २ बजे झरेको पहिरोले सुतिरहेका चार जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा दुर्गाकुमारी खड्का, शोभा खड्का, अनिस खड्का र मनीष खड्का रहेका छन् । सँगै सुतेका उद्यबहादुर खड्का भने भागेर बच्न सफल भएका थिए ।

-बाँकेमा एकैघरका तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । राप्ती नदीको बाढी राप्ती सोनारी गाउँपालिकामा कविराज थारूको घर बाढी पसेर भत्कँदा उनका १२ वर्षीया छोरी अञ्जु, ९ वर्षीया छोरी सरिता र ७ वर्षकी सुस्मिताको मृत्यु भएको छ । प्रहरीले अर्काे एक जना परिचय नखुलेको पुरुषको शव फेला पारेको छ ।

-बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ बढी स्थानमा पहिरो गएको छ । दाउन्नेमा सडक भासिएपछि अवरुद्ध सडक खुल्न समय लाग्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । बर्दघाट नजिकको एसमोडको सडक करिब ३५ मिटर ओरालोमा भासिएको छ । ट्र्याक खोल्न दुई वटा डोजर र जेसिभी प्रयोग गरिएको छ ।

Logo