‘नेपाल उच्च शिक्षा मेला’ राजधानीमा सुरु

‘नेपाल उच्च शिक्षा मेला’ राजधानीमा सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २८ साउन । काठमाडौँमा आजदेखि ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ । 

‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गरे । यस्तो मेला सरकार र विश्वविद्यालय आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उहाँले निजी क्षेत्रबाट भए पनि प्रयास सुरु भएकोमा यसको सराहना गर्नुभयो ।

मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी रहेको आयोजक एजुकेशन डटकमका निर्देशक तारामान रावलले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा अध्यापन गर्ने विषय, शुल्क, छात्रवृत्ति, परामर्श लगायतका सेवा प्रदान गरिने छ । नेपालका कलेजले पनि अन्तर्राष्ट्रियस्तरको शिक्षा दिन सक्षम रहेको तथा विद्यार्थीलाई स्वदेशमा नै शिक्षा लिनुपर्ने सन्देशका साथ मेला आयोजना गरेको उहाँको भनाइ छ । 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजले मेलामा सहभागिता जनाएका छन् । ती विश्वविद्यालयबाट सञ्चालित स्नातक र स्नातकोत्तर तहको पढाइबारे जानकारी गराइने आयोजकले बताएका छन् । 

विशेष गरी बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिटिटिएम, बिबिएम, बिएचसिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सीसिएसआइटी, बिडेभ्सलगायत कोर्ष पढ्न चाहनेले मेलाबाट लाभान्वित हुनेछन् । मेलामा विद्यार्थीलाई मात्र नभई अभिभावकलाई समेत परामर्श दिने व्यवस्था मिलाइएको छ ।

Logo