सप्तरीका तीन हजार घर डुबानमा, एक हजार परिवार विस्थापित (हेर्नुहोस फोटोफिचर)

सप्तरीका तीन हजार घर डुबानमा, एक हजार परिवार विस्थापित (हेर्नुहोस फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

सप्तरी २८, साउन । लगातारको परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको जनजीबन कष्टकर बन्दै गएको छ । बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् । 

जिल्लाको खाँडो, बिगुल, जिता, मोहुली, खडक र बलान खोलामा आएको बाढीले जिल्लाको दक्षिण पूर्र्वी तथा पश्चिमी भेगका अधिकांश गाउँ तथा शहरी क्षेत्र डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार सप्तरी सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिका आज डुबानमा परेका छन् । 

बाढीका कारण यातायात, कलकारखाना, शिक्षण संस्था, सरकारी कार्यालयका कामसमेत प्रभावित भएको छ । राजविराज लगायत विभिन्न गाउँपालिका र नगरपालिकामा रहेका सरकारी कार्यालयको परिसरमा तीन फिटसम्म पानी पसेको छ ।  राजविराजको मुख्य सडकमा तीन फिट भन्दा माथि पानी जमेको छ भने राजविराजको वडा नं १, २, ३, ४, ५देखि १५ वडासम्म डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

हनुमाननगर कंकालनी नगरपालिका– १ देखि १४ वडाको पोर्ताहा, भारदह, मधुवापुर, बेरवा, सकरदही, जोगीनीयाँ, हनुमानगर र सप्तरीकै अति विकट मानिएको कोशी टप्पुमा अवस्थित कोशी नदीबाट आएको पानीले गोवरगाढाको बस्ती पूर्णरुपमा जलमग्न भएको छ । त्यस्तै सोही नगरपालिका– २ स्थित सकरदही र भारदहको बीचमा रहेको पश्चिमी नहरमा पानी निकासी बन्द भएको छ । 


यसैगरी जिल्लाको पश्चिममा रहेको बलान खोलामा आएको बाढीले डाकनेश्वरी, बोदेवरसाइन नगरपालिकाको अधिकांश गाउँ डुबानमा परेका छन् । खडक नदीमा आएको बाढीले बोदेवरसाइन नगरपालिका–६ स्थित जोगीयाटोलमा कटान सुरु भएको र त्यहाँ त्रासको अवस्था रहेको स्थानीयवासीले जनाएका छन् । 

सो नदीले करिब दुई सय मिटर गाउँकोसमेत जमिन कटान गरेको स्थानीयवासी रोशन गोइँतले बताउनुभयो । यसैगरी कोशी नदी र खाँडो नदीमा अत्यधिक बाढी आएका कारण जिल्लाको दक्षिणी भेगका देउरी भरुवा, तोपा, कजोली, लोनीया, सकरपुरा, रम्पुरा मलहनीया, इनरुवा र तिलाठी गाउँ पूर्णरुपमा डुबानमा परेको र त्यहाँका बासिन्दा गाईभैँसी, बाख्रालिएर सुरक्षित स्थान र सडकमा आएर खुला आकाशमुिन पानीमा भिज्दै बसेका छन् । 

उनीहरुलाई खाद्यान्न र त्रिपालको आवश्यकता रहेको छ । यसैबीच सप्तरीको इनरुवामा रहेको एउटा मुगा फर्मलाई बाढीले बगाएको छ । राजविराज– ७ स्थित पाँचवटा घर र कारागार छेउमा रमियादेवी मेहतरको दुईवटा घरसमेत बाढीले क्षतिग्रस्त भएको छ । त्यस्तै राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पूर्णरुपमा जलमग्न भएको छ, भने कम्पाउण्डवालसमेत भत्केको छ र उद्योगको काम ठप्प भएको त्यहाँको प्रशासनले जनाएको छ । त्यहाँ रहेका मलेठ, रायपुर, रुपनी, पोवापिप्राही, शम्भुनाथ , तैरोहता वीरेनबजार बर्दाही बनैनीया पूर्णरुपमा जलमग्न भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

Logo