बाढीको बितण्डा: देशभर डुबान, दुई दर्जनको मृत्यु

बाढीको बितण्डा: देशभर डुबान, दुई दर्जनको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभर बितण्डा मच्चाएको छ ।

पछिल्लो जानकारी अनुसार देशभर २३ जना भन्दा बढीको ज्यान गुमाएका छन भने केहि बेपत्ता भएका छन् । बाढी पहिरोले दर्जनौ घर गोठ भत्केका छन् भने सयौ पशुचौपाय बगाएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, रौतहट लगायतका जिल्लाहरु डुबानमा परेका छन् ।

अहिलेसम्म इटहरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १, सिन्धुलीमा ४, पाचथरमा ४  र मोरङमा १ जनाको मृत्यु भएको छ । अहिले बिराटनगर महानगरपालिका पूरै जलमग्न रहेको छ । जाजरकोटका दर्जन ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । त्रिवेणी नलगाड नगरपालिका –३ करुवास्थित भेरीखोला चिलिखोलेसा लघु जलविद्युत योजनाको नहर बगाएपछि विद्युत् सेवा ठप्प भएको छ । 

त्यस्तै बाढीका कारण चितवनको दक्षिणी क्षेत्रमा पर्ने माडी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । माडीको वनकट्ठा, अमिलिया, सिमरा, धोवाह, रतनीका बस्ती डुबानमा परेका छन् । यहाँका ठाडा खोला र रिउ नदीमा बाढी आएको छ । 

महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् । जलेश्वर जनकपुरसहित ग्रामीण सडक मटिहानी जलेश्वर परिक्रमा सडक, भिठ्ठामोड जलेश्वर सडक, मटिहानी जनकपुर रामजानकी पथ, जलेश्वर हर्दी हुलाकी सडक, जनकपुर लोहारपट्टी सडक खण्डको यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । 

महोत्तरी जिल्लाको दुई गाउँका १७ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअुनसार लगातारको वर्षाका कारण जिल्लाको पिपरा गाउँपालिका – ४ पासवान टोलमा स्थानीय वृहस्पति पासवान, नथुनी पासवान, दिनेश पासवान, मला पासवान र पिपरा– २ का इब्राहिम राईनका घर पूर्ण रुपमा ढलेर विस्थापित भएका छन् । जिल्लाको सम्सी गाउँपालिका– ४ गँैंढाभेटपुरमा १२ घर मुसहर र दुसाध विस्थापित भएका छन् । 

त्यस्तै राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् । उता बाँकेको बैजापुरका नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । 

त्यस्तै तुलसीपुर घोराही सडक खण्डको हातिखौवामा बाढीले करिव १० मिटर सडक बगाउँदा यातायात सेवा बन्द भएको छ । अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । 

त्यस्तै हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा पहिरो गई हेटौँडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ ।

बबर्इ र पश्चिम सेती नदीको आठ स्थानमा उच्च खतरा

अविरल बर्षासंगै आएको बाढीका कारण बबर्इ र पश्चिम सेती नदीको आठ स्थानमा उच्च खतराको साइरन बजेको छ ।

२४ घण्टामा ववइ नदी अन्तरगत पर्ने चेपाङ स्टेशनमा १७२, तुल्सीपुरमा १७३, घोराहीमा १५८, पदमपुरमा १६४, अम्वपुरमा २८३ पानी परेपछि साइरन बजेको जल तथा मौषमविज्ञान विभागले जनाएको छ । यता पश्मिच राप्तीमा ४२७, नारायणीको मादि क्षेत्रमा २०५ र गोविन्दवस्तीमा १६७ मिलिमिटर पानी परेको वाढी पूर्वानुमान महाशाखाको तथ्याङक छ ।

उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध 

देशभर डुबान भएपछि गृहमन्त्रालयले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके लगायतका जिल्लाहरुका बिभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ । 

खोज,उद्धार र राहतका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,तालिमप्राप्त सुरक्षाकर्मी र अन्य उपलब्ध जनशक्ति उच्च प्राथमिकताका साथ परिचालन भइरहेको पनि गृहमन्त्रालयले बताएको छ ।

Logo