गोबिन्द केसीको अनसनबारे एमालेले मुख खोल्यो

गोबिन्द केसीको अनसनबारे एमालेले मुख खोल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २७ साउन । डा.गोबिन्द केसीको अनसनप्रति बेवास्ता गरेको भन्दै पार्टीको चौतर्फी आलोचना भएपछि नेकपा एमालेले बिज्ञप्ति नै जारी गरेर धारणा सार्वजनिक गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले चिकित्सा विधेयक पारित गरी गोविन्द केसी र उनका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

पढ्नुहोस विज्ञप्तिः

नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बस्यो । बैठकमा चिकित्सा शिक्षाको क्षेत्रसग सम्बन्धित विभिन्न माग राखी अनसनमा बसिरहनुभएका डा. गोविन्द केसीको सन्दर्भमा छलफल भयो । हाम्रो पार्टीको नेतृत्वको सरकारले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्रा. केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउदै तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ टेबुल गरेको यहा स्मरणीय छ । हाम्रो पार्टी प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गर्दै आएको कुरा सबैको जानकारीका लागि सूचित गर्दछौं ।

सरकार स्वयम्को अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि उक्त विधेयक पारित भएको छैन । यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वेध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ । आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा नेकपा (एमाले)लाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति रहेको छ ।

तसर्थ, हाम्रो पार्टी छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्मा छलफल गरी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । साथै, गोविन्द केसी र उहाँका प्रतिनिधिसँग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

Logo