डोक्लाम विवादमा नेपाल तटस्थ बस्ने

डोक्लाम विवादमा नेपाल तटस्थ बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : चीन–भारत सीमा क्षेत्रको तनावमा नेपालले पूर्णरूपमा तटस्थ रहने रणनीति लिएको छ । चीन–भारतबीच सन् १९६२ मा सीमायुद्ध हुँदा पनि नेपाल तटस्थ बसेको थियो । अहिले पनि दुई छिमेकी बीचको तनावमा सोही रणनीति अख्तियार गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

चीन, भुटान र भारतबीच डोक्लाम क्षेत्रमा देखिएको तनावमा नेपालले कुनै पक्षको समर्थन गरेको छैन । भारत र चीनबीचको सीमा विवाद शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने पक्षमा नेपाल रहेको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताए ।

‘डोक्लाममा देखापरेको चीन–भारत सीमा विवादमा नेपालको स्पष्ट नीति छ । यो विषय शान्तिपूर्ण कूटनीतिक तरिकाले वार्ताको माध्यमबाट समाधान होस् भन्ने चाहन्छौं’,’  महराले सोमबार मन्त्रालयमा पत्रकारसँग भने । महराले भारत र चीनबीच युद्ध होस् र युद्धको माध्यमबाट समस्याको हल खोजियोस् भन्ने पक्षमा नेपाल नरहेको स्पष्ट पारे ।

उनका अनुसार भारतीय वा चिनियाँ उच्चाधिकारी नेपाल आउँदा वा नेपालका उच्च पदाधिकारी भारत या चीन जाँदा डोक्लाम तनावबारे कुराकानी नगर्ने नीति सरकारले लिएको छ । ‘प्रधानमन्त्रीको ७ भदौदेखि ११ गतेसम्मको भारत भ्रमणमा डोक्लाम मुद्दामा छलफल हुँदैन । त्यस्तै, चिनियाँ उपप्रधानमन्त्री यहाँ आउँदा पनि त्यसबारे हामी कुरा गर्दैनौँ । यो विवादमा हामी कसैको पक्ष लिँदैनौँ’, महराले भने ।

भारत र चीनले डोक्लाम मुद्दामा नेपालको समर्थन खोज्न सक्ने आशंका व्याप्त रहेका बेला मन्त्री महराले भने, ‘हामीलाई भारत र चीनले आफ्नो पक्षमा तान्न खोजेको भन्ने कुरा गलत हो । भारत र चीन दुवैले हामीलाई आफ्नो पक्षमा आउन दबाब दिएका छैनन् ।’

महराले चीन र भारतबीचको विवादमा के पोजिसन लिने भन्ने निर्णय नेपाल आफैंले लिने बताए । परराष्ट्रमन्त्री महराका अनुसार सरकारले चीन र भारतबीच डोक्लामबारे देखिएको तनावबारे काठमाडौंस्थित चिनियाँ र भारतीय राजदूतसँग चासोचाहीँ व्यक्त गरिसकेको छ । ‘मैले यहाँस्थित चिनियाँ र भारतीय राजदूतसँग डोक्लममा उत्पन्न तनावबारे कुराकानी गरेको छु । उहाँहरूसँग के कुरा गरें त्योचाहिँ तत्काल भन्न उपयुक्त हुँदैन’, महराले भने ।

Logo