कडा खाले रुघाखोकी प्राणघातक बन्दै

कडा खाले रुघाखोकी प्राणघातक बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : उपचारका क्रममा गत अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको ज्यान गयो । उनको मृत्यु ‘एच१ एन१ पीडीएम ०९ टाइप ए’ नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकीका कारण भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् । जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचार क्रममा मृत्यु भयो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । 

मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्याधिक मदिरा सेवन गर्ने गरेको भेटियो । उपचारका क्रममा त्यस्तै रुघाखोकीले पोखराका ७६ वर्षीय एक पुरुषको ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ । यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एच १ एन १’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् ।

१६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि भारतमा उपचार क्रममा त्यस्तै प्रकृतिको रुघाखोकीबाट मृत्यु भएको थियो । चिकित्सकले उनलाई पहिले ‘लिम्फोमा क्यान्सर’ बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन् । पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ । महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ । महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ । सरकारले काठमाडौं टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार दिएको बताएको छ ।  अन्य केही स्थानमा छिटो रोग पत्ता लगाउने प्रविधि ‘किट’ सुविधा भए पनि त्यो भरपर्दो नभएको महाशाखाले बताएको छ ।

मृत्युका घटना निजी अस्पतालबाट पनि आएकाले त्यसबारे थप अनुसन्धान आवश्यक परेको महाशाखाको भनाइ छ । ती बिरामी रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला अस्पताल पुगेका थिए । नेपालमा पछिल्लो ६ वर्षयता हरेक वर्ष मौसम परिवर्तनका बेला यो रोग फैलिन थालेको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०१२ यता यो रोगका बिरामी घट्नेबढ्ने भइरहेका छन् । तापक्रममा परिवर्तन आउने समय खासगरी जनवरीदेखि अप्रिलसम्म र जुलाईदेखि अगस्टसम्म यो रोग फैलाउने ‘भाइरस मौलाउने गरेको छ । चिकित्सकका अनुसार यो रोग सबै मानिसमा देखा पर्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता बढी छ भने सामान्य औषधिले पनि ठीक हुन सक्छ ।

तर, उनीहरूमा रुघाखोकीसँगै अन्य कुनै समस्या छ भने गम्भीर असर पर्छ । समयमै उपचार नभए मृत्यु नै हुन्छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसिएन डा.अनुप बास्तोलाका अनुसार यो रोगले खासगरी मिर्गौला, क्यान्सर, मुटु, फोक्सोको समस्या भएका, मधुमेह, थाइराइड र एचआईभी संक्रमण देखिएका व्यक्तिमा छिट्टै आक्रमण गर्छ ।

समयमै उपचार हुन नसके वा रोग प्रतिरोधात्मक क्षमतामा कमी आए ज्यानै जान पनि सक्ने उनी बताउँछन् । अत्यधिक अल्कोहल सेवन गर्ने, धूमपान गर्ने व्यक्ति, बालबालिका, गर्भवती महिलालगायत पनि यो रोगको जोखिममा पर्ने गरेका छन् । अन्य मानिस पनि यसबाट सचेत हुनुपर्ने तर आत्तिन नपर्ने उनको भनाइ छ ।

समयमै परीक्षण भए यसको उपचार सम्भव भएको डा.बास्तोलाले बताए । यो रोगविरुद्ध खोप पनि लगाउन सकिने चिकित्सकको भनाइ छ । तर, खोप अति महँगो हुने भएकाले सकेसम्म खोप लगाउने अवस्था नआओस् भनेर सचेत हुनुपर्ने उनीहरूको सल्लाह छ ।

Logo