के साँच्चै छन् त यति, बिग फुट र भ्याम्पायर

के साँच्चै छन् त यति, बिग फुट र भ्याम्पायर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ साउन ।
तपाईंले नेपालको हिमालय क्षेत्रमा पाइने ‘यति’ का बारेमा कत्तिको सुन्नु भएको छ ? पक्कै पनि धेरै कुरा सुन्नुभएको हुनुपर्छ । तर तपाईंले यो पौराणिक/काल्पनिक हिममानव जस्तो देखिने जीवलाई देख्नुभएको छ ? पक्कै पनि छैन होला !

‘यति’ प्रतिको कुतुहल तपाईं हाम्रो क्षेत्रमा पाइने हुनाले मात्र भएको होइन, यो जीवको खोजी वैज्ञानिकहरूले व्यापक रूपमा वर्षौंदेखि गर्दै आएका छन् । तर यतिको अस्तित्व अझै पनि फेला पार्न सकेका छैनन् । बेलाबेलामा हिमालमा ठुला ठुला पदचिन्हका तस्बिरहरू आउने हुनाले यो जीव हिमालय खण्डमा पाइने यतिकै हो भन्ने अनुमान भने गरिन्छ ।
‘यति’जस्तै अहिलेसम्म नदेखिएका तर यो पृथ्वीमा अस्तित्व छ भन्ने गरिएका धेरै किसिमका जीवहरू विभिन्न देशमा छन् । यस्ता जीवहरूका बारेमा एक्स्पेडियाले काल्पनिक जीवका रूपमा विवरण प्रकाशित गरेको छ । त्यसमा सबै महादेशमा यस्ता किसिमका जीवको अस्तित्व रहेको अनुमान गरिएको छ ।

युनिकोर्न, चीन

चीनको पौराणिक (काल्पनिक) जीवका रूपमा युनिकोर्नलाई लिइन्छ । एउटा मात्र सिङ भएको सेतो वर्णको यो घोडालाई चिनियाँ भाषामा क्विलिङ भनिन्छ । पाँचौ शताब्दीमा यो घोडाको अस्तित्व रहेको चीनमा व्यापक चर्चा थियो । यो चर्चापछि प्रकाशित भएका धेरै कथाहरूमा क्विलिङको वर्णन गरियो ।

सन् १२२औं शताब्दीमा चीनका एक सम्राटले क्विलिङलाई समाएको बताएपछि यो जीवको अस्तित्व रहेको चीनमा विश्वास गर्न थालियो । पौराणिक मान्यताअनुसार, क्विलिङको आवाज हजारौं विण्ड चाइम्स एकै पटक बज्दा जस्तो किसिमको हुने, झगडा नगर्ने र यसको सिङ १२ फिट लामो हुने बताइन्छ ।

प्राचीन समयमा क्विलिङ चिनियाँहरूको बहुमूल्य जीवका रूपमा थियो । अहिले पनि चिनियाँहरूको विश्वासमा यो जीव अस्तित्ववान छ भन्ने नै छ । उनीहरूमा देशमा ठुला राजनेताको जन्म वा मृत्यु हुँदा यो देखिन्छ भन्ने विश्वास छ ।

बिग फुट, उत्तर अमेरिका


उत्तर अमेरिकामा बिग फुट (ठुलो खुट्टा) भएको जीव पाइन्छ भन्ने मान्यता रहेको छ । मानिसको आकृतिमा भीमकाय शरीर भएको यो जीवको अस्तित्व रहेको विश्वास यसका पदचिन्हलाई नै लिएर गर्ने गरिएको छ । पछिल्ला दुई सय वर्षदेखि यस जीवका बारेमा धेरै किसिमका कहावतहरू आएका छन् । अनुसन्धानकर्ता वैज्ञानिकहरूले बिग फुटको अस्तित्व सन् ९८६ तिर रहेको दावी गरेको प्रमाण रहेको जनाएका छन् ।

प्रत्यक्ष रूपमा देखेको दावी गर्ने धेरै मानिसहरू भएपछि यो जीवप्रति मानिसले देखाएको उत्सुकतालाई लिएर अमेरिकाको पोर्टल्याण्डदेखि ओरेगनसम्म बिग फुट हाइवेको निर्माण गरिएको छ । यो यात्राको क्रममा बिग फुटलाई देखिने आशामा धेरैले यात्रा गर्ने गरेका छन् ।

यति, नेपाल


मान्छेको जस्तो आकृति, लामो सेतो भुत्ला भएको भालुलाई अन्तराष्ट्रिय क्षेत्रमा ‘यति’को नाममा कुतुहलता छ । यो जीवको अस्तित्व नेपाललगायत भुटान, तिब्बत र भारतको हिमालय खण्डमा रहेको अनुमान गरिन्छ । केही मानिसका अनुसार यो जीव मंगोलिया र स्पेनका पर्वतहरूमा पनि रहेको भनिन्छ ।

सगरमाथाको पहिलो आरोहण गर्ने सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले चुचुरोमा पुग्ने क्रममा बाटोमा ठुला मानिसको जस्तै आकृतिको ठुलो पद चिन्ह देखेको बताएपछि यो जीवको अस्तित्व रहेको विश्वास अन्तराष्ट्रिय क्षेत्रले गरेको थियो । हिमालय पर्वतमा फेला परेको रौंको डिएनए परीक्षण बेलायतका वैज्ञानिकले गर्दा उक्त जीवको वंशाणु नर्वेको पर्वतमा पाइने भालुसँग मेल खाएका कारण हिमालय क्षेत्रमा त्यस्तो जीवको अस्तित्व रहेको विश्वास गरिएको छ ।

भ्याम्पायर, रोमानिया

धेरै व्यक्तिहरूलाई ट्रान्सेलभानिया उपन्यासमा वर्णन गरेको स्थान जस्तो लाग्छ । तर यो ठाउँ रोमानियाको मध्यभागमा वास्तविक रूपमै रहेको छ । ट्रान्सेलभानियामा रहेको ब्रान किल्ला अहिले पनि रोमानियाको सर्वाधिक लोकप्रिय पर्यटकीय केन्द्रको रूपमा कायम छ ।

सन् १८९७ मा ब्राम स्ट्रोकरले रोमानियाका राजकुमारको विषयमा लेखेको ड्रयाकुला उपन्यासमा उक्त स्थान र भ्लाड थ्री पात्रको चित्रण गरिएको थियो । भ्लाड आफ्ना शत्रुहरूको रगतको भोको हुने गरेको थियो । ब्रामले रोमानियाको भ्रमण नै नगरी प्राचीन समयको उपन्यासका रूपमा यसरी चित्रण गरे जसले गर्दा उक्त कुरा धेरैले वास्तविकताकै रूपमा ग्रहण गरे । यो मान्यता अझै पनि व्याप्त छ ।

लोचनेस मोन्स्टर, स्कटल्याण्ड

ब्रिटिश लोककथामा लोच नेस मोन्स्टरको कथा पाइन्छ । यो कथाको लहैलहैमा लागेर धेरैजना लोचनेसको खोजीमा लागे । भेट्टाइला वा देखिएला भन्ने आशामा धेरैले यसको खोजी पनि गरे । तर सन् १९३३ मा इन्भरनेस कुरिअरले नेसीको तस्बिरसहित समाचार प्रकाशित गरेपछि यो जीवप्रतिको कौतुहल फेरि बढेको थियो । त्यसपछि यो जीवको तस्बिर लिन र रहेको स्थानको खोजी गर्न धेरै फोटोपत्रकार र जीव वैज्ञानिकहरू लागे । उनीहरूले त्यसपछि अहिलेसम्म यो जीवको अस्तित्व देख्न पाएका छैनन् ।

रेड ड्रागन, वेल्स

वेल्सको लोकोक्तिमा रेड ड्रागनको ठुलो प्रभाव छ । पाँचौं र छैटौं शताब्दीमा तत्कालीन राजा आर्थरले शत्रुहरूको आक्रमणलाई रेड ड्रागनकै सहयोगमा निस्तेज पारेको कथा छ । उक्त रेड ड्रागनले केल्टिक नेताहरूले ल्याएको सेतो ड्रागनलाई आफ्नो हुँकारको भरमा पराजित गरेको उल्लेख छ । जसको कारण वेल्सले आफ्नो झण्डामा रेड ड्रागनलाई राखेको छ ।

निन्जेङ, अन्टार्कटिका

जापानका ह्वेल माछाका अनुसन्धानकर्ताहरूले अन्टार्कटिकामा अनुसन्धान गर्दा सन् १९९० मा मानव आकृतिको जीव देखे । ती वैज्ञानिकहरूका अनसार उक्त जीव ६५ देखि १ सय फिट लम्बाइको थियो । उसको हात, ख्ुट्टा, पाखुरा मानिसको जस्तै र हातमा पाँच वटा औंला पनि थिए । जापानी भाषामा निन्जेङको अर्थ मानिस भएको कारण यो जीव अरूहरूका लागि कल्पनाको जीवका रूपमा रह्यो । धेरै वैज्ञानिकहरूले समुन्द्रमा दुर्लभ रूपमा देखिने कुनै माछालाई निन्जेङ भनेको हो कि भनेर शंका गरे । (एजेन्सी)

Logo