आचार्य खेमराज केशवशरण रहेनन्

आचार्य खेमराज केशवशरण रहेनन्

केन्द्रबिन्दु
0
Shares

रत्ननगर (चितवन), १९ साउन । नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको गए राति निधन भएको छ । उहाँ ८१ वर्षको हुनुहुन्थ्यो । 

विभिन्न रोगसँगै निमोनियाबाट थला पर्नुभएका उहाँलाई एक महिनाअघि मस्तिष्काघातसमेत भएको थियो । चितवनको देवघाटमा बस्दै आउनुभएका उहाँको सोही रोगका कारण गएराति १० बजे काठमाडाँै महानगरपालिका वडा नं ७ स्थित कालोपुल नजिकै सिफलमा रहेको आफ्नै निवासमा गए राति १० बजे निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी गराउनुभयो । 

उहाँका दुई छोरा र दुई छोरी छन् । अमेरिकामा बस्ने जेठो छोरा नआइपुगेकाले उहाँको भोलि शुक्रबार काठमाडौँको आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

आचार्य खेमराजको अन्तिम इच्छा देवघाट पुग्ने थियो । सोही इच्छाअनुसार उहाँलाई भेन्टिलेटर र अक्सिजनसहित हेलिकप्टरमा राखेर २६ दिनअघि देवघाट ल्याइएको थियो । त्यसपछि विस्तारै उहाँको स्वास्थ्यमा सुधार आएको र भेन्टिलेटर र अक्सिजन छुटाउँदासमेत स्थिर भएको थियो । चितवनको गर्मीले असर गर्न थालेपछि चार दिनअघि उहाँलाई काठमाडौँ लगिएको थियो । 

मोरङ जिल्लाको लेटाङको जाँतेमा जन्मिनुभएका उहाँ २०३५ सालदेखि चितवनको पवित्र तीर्थस्थल देवघाटमा बस्दै आउनुभएको थियो । आचार्य खेमराज केशवशरण संस्कृति वाङ्मय क्षेत्रका आध्यात्मिक व्यक्ति हुनुहुन्थ्यो । 

सनातन हिन्दु दर्शनका व्याख्याता उहाँका तीन दर्जन भन्दा बढी कृति प्रकाशित छन् । रेडियो नेपालमा लामो समय उहाँले धार्मिक कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 
स्थानीयवासी जगन्नाथ पोखरेलका अनुसार शुरुमा उहाँले देवघाटमा अन्तर्राष्ट्रिय शरणागति आश्रम खोल्नुभयो । त्यहाँ माध्यमिकस्तरको पढाइसमेत हुन्थ्यो । पछि राधा माधवी मन्दिर बनाउनुभयो । 

“उन्नाइस भाषामा प्रवचन दिन्छु भन्नुहुन्थ्यो,” लक्ष्मीनारायण मन्दिर देवघाटका पुजारी माधवप्रसाद आचार्यले भन्नुभयो – “नेपालीसहित अँग्रेजी, संस्कृति, नेवारी, बंगाली, मराठी भाषामा प्रवचन गरेको त हामीले पनि सुन्यौँ ।” रासस 

Logo