शर्माको सुनुवाइ हेर्दाहेर्दैमा आज

शर्माको सुनुवाइ हेर्दाहेर्दैमा आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १५ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा आजका लागि राखिएको छ । 

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि मंगलबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । 

शर्माका तर्फबाट आज वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता ललितबहादुर बस्नेतले बहस गर्नुभएको थियो । त्यसअघि गत आइतबार अधिवक्ता डा भीमार्जुन आचार्य, सतीशकृष्ण खरेललगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राख्नुभएको थियो । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । सोही इजलासले यही साउन ८ गते शर्माको विशेष अदालतमा रहेको मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो । 

गत असार ४ गते न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । 

कर फछ्र्याेट आयोगका सदस्यसचिवसमेत रहनुभएका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस 

Logo