साझा प्रकाशनको लेखा परीक्षण सार्वजनिक गरिने

साझा प्रकाशनको लेखा परीक्षण सार्वजनिक गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १५ साउन । साझा प्रकाशनले विगत नौ आर्थिक वर्षदेखिको लेखा परीक्षण प्रतिवेदन आगामी भदौभित्र सार्वजनिक गर्ने भएको छ । 

प्रकाशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलन तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आव २०६४/६५ देखि २०७२/७३ सम्मको लेखा परीक्षण नभएकाले परीक्षण गराई सार्वजनिक गर्ने बताउनुभयो । 

“प्रत्येक वर्ष लेखा परीक्षण गराउनुपर्नेमा अहिलेसम्म भएको थिएन”, उहाँले भन्नुभयो “हामीले सो प्रतिवेदन तयार गर्न लाग्दा वर्तमान नेतृत्व र सञ्चालकप्रति विभिन्न भ्रम फैलाउने काम भएको छ ।” 

यस्तै, विगतमा भएको अनियमितता छानबिनका लागि संस्थाले अध्यक्ष शर्माको संयोजकत्वमा गठन गरेको समितिले पनि भदौभित्र प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । “विभिन्न समयमा संस्थाको हिसाब पारदर्शी नभई आर्थिक असन्तुलनका कारण संस्थाले संकट व्यहोर्नु परेको गुनासो सार्वजनिक रुपमा आएकाले छानबिन समिति गठन गरिएको हो”, उहाँले भन्नुभयो । 

कार्यक्रममा सरकारबाट ऋण र अनुदान गरी प्राप्त रु ३० करोडमध्ये रु १४ करोड १३ लाख सोझै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई दिइएको र अन्य रकम बैंक ऋण, बक्यौता तलबलगायतमा खर्च भएको विवरण सार्वजनिक गरियो । अध्यक्ष शर्माले रु ६३ करोड घाटामा रहेकाले सरकारको सहयोगबाट मात्र चल्ने नसक्ने जनाउँदै वर्तमान व्यवस्थापन पाठ्यपुस्तक उत्पादन र लोकप्रिय पुस्तक प्रकाशनमा केन्द्रित भएको बताउनुभयो । 

संस्थाका अंशियार, पूर्वकर्मचारी र सञ्चारकर्मीले साझाबारे उठेका विभिन्न सवालबारे प्रश्न राखिएको कार्यक्रममा सञ्चालकहरु दीनानाथ शर्मा, प्रदीप नेपाल, डा कृष्णहरि बराललगायत उपस्थिति हुनुहुन्थ्यो । रासस 

Logo