ओखलढुंगा र सिन्धुली जोड्ने झोलुङ्गे पुल निर्माण

ओखलढुंगा र सिन्धुली जोड्ने झोलुङ्गे पुल निर्माण

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा, ८ साउन । ओखलढुंगाको जलकिनी र सिन्धुलीको खाङसाङ जोड्न सुनकोशी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । 

पुल निर्माणपछि ओखलढुंगाको चम्पादेवी, सुनकोशी गाउँपालिकाका जनतालाई काठमाडौँ, सिन्धुली, उदयपुरलगायत जिल्लामा आवातजावत गर्न सहज भएको छ । पुल सञ्चालनमा आएसँगै त्यस क्षेत्रका किसानलाई आफ्नो खेतबारीमा उत्पादन भएका कृषिजन्य सामग्रीलाई बजारसम्म पुर्याउन सहज भएको छ । 

सस्पेन्सन बृज डिभिजन ललितपुरकोे रु एक करोड ४६ लाखको लागमा निर्माण सम्पन्न भएको उक्त पुलको लम्बाइ २८० मिटर रहेको छ । सो पुलको उद्घाटन गर्दै ओखलढुंगा क्षेत्र नं २ का सांसद् रामहरि खतिवडाले पुल निर्माण सम्पन्न भएसँगै ओखलढुंगाको चम्पादेवी र सुनकोशी गाउँपालिकाका जनता प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । 

उहाँले सांसद विकास कोषबाट जलकिनीदेखि नवलपुरको सडकको ट्र्याक खोल्नको रु १० लाख प्रदान गर्ने घोषणा गर्दै उहाँले नवलपुरमा सिन्धुली र ओखलढुङ्गा जोड्ने पक्की पुल निकट भविश्यमै निर्माण थालनी हुने विश्वास दिलाउनुभयो । 

सुनकोशी नदीमा ओखलढुंगा र सिन्धुली जोड्न थोल्मे–बल्खु, पञ्चकन्या बलखु, नाङ थान–टोक्सेल, नवलपुर–पलापु झोलुङ्गे पुल निर्माण भइसकेका छन् । 

सस्पेन्सन बृज डिभिजनका महानिर्देशक जीवनकुमार श्रेष्ठले झोलुङ्गे पुल निर्माणसँगै यहाँका बासिन्दाको जीवनस्तर उकास्ने कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा ओखलढुंगाका पूर्वसांसद चन्द्रकान्त दाहाल, मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतिराज राई, नेपाली काँग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारलगायतले नवनिर्मित झोलुङ्गे पुलबाट यस क्षेत्रका जनता निकै लाभान्वित हुने बताउनुभयो । रासस 

Logo