संझनामा नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल

संझनामा नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली समाजलाई नयाँ वैचारिक मोड दिने पहिलो मार्स्कवादी विश्लेषकका रुपमा समेत चिनिन्छन्। पुष्पलाल बिना नेपाली कम्युनिष्ट क्रान्तिको इतिहास कहिल्यै पूर्ण हुन सक्दैन। त्यसैले पुष्पलाल आज टुक्रा-टुक्रामा विभाजित भएर एकअर्काको सत्तोसरापमा उत्रिएका सबै कम्युनिष्ट घटकहरुले जप्ने साझा नाम बनेको छ। उनी नेपाली कम्युनिष्ट आन्दोलनमा सबैका अगुवा हुन्।

२०३५ साल साउन ७ गते अर्थात आजकै दिन भारतको नयाँ दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो। मृत्युपछिका ३९ वर्षमा पनि उनी नेपालीहरुको मन-मनमा अमर भएर बसेका छन्।

पुष्पलालाको पूरा नाम पुष्पलाल श्रेष्ठ हो। तर उनी ‘जातपातले राजनीति चल्दैन र नेपाली जनताको हित गर्न सक्दैन भन्ने मान्यता राख्थे। त्यसैले उनको नामको पछाडी थर कहिल्यै झुन्ड्याएनन्। उनको जन्म विस १९८१ असार १५ गते रामेछापको भंगेरीमा भएको थियो। उनी सहिद गंगालाल श्रेष्ठका माइला भाई हुन्।

वि.सं. २००५ सालमा पुष्पलालले विश्वप्रसिद्ध कम्युनिष्ट घोषणपत्रलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए। उनी कम्युनिष्ट सिद्धान्तलाई नेपालमा भित्र्याउने प्रणेता हुन्।

कम्युनिष्ट पार्टी स्थापना

वि.सं. २००६ सालमा राणातन्त्र विरोधी आन्दोलनलाई राजावाद र बुर्जुवा सुधारवादको भ्रमबाट मुक्त गर्दै सामन्तवाद–साम्राज्यवाद विरोधी आमूल परिवर्तनको दिशामा मुलुकलाई अघि बढाउने उद्देश्यले पुष्पलालको पहलकदमी र नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भयो। त्यसबेला जनता र राष्ट्रको स्वार्थ र हितको प्रतिनिधित्व गर्दै तत्कालीन मुख्य शत्रु राणातन्त्रको समाप्तिका लागि पुष्पलालले ठूलो लडाइँ लडे।

नेपाली क्रान्तिका सिद्धान्तकार  पुष्पलालले नेपाली समाजको पहिलोपटक वैज्ञानिक विश्लेषण गरे। उनले नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो  भनेर त्यतिबेला विश्लेषण गरेका थिए।

अर्धसमान्ती र  अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो भन्ने विश्लेषण गर्दे नयाँ जनवादी क्रान्तिका रणनीति र कार्यनितिसम्बन्धी अवधारणा अगाडि सारेका थिए। यसैगरी नेपाली क्रान्तिको न्युनतम् कार्यक्रम नयाँ जनवादी क्रान्ति र अधिकतम कार्यक्रम (लक्ष्य) वैज्ञानिक समाजवाद र साम्यवाद हो भनेर सैद्धान्तिकरूपमा घोषणा गर्ने पहिलो सिद्धान्तकार पनि उनी हुन्। सिद्धान्त, संगठन र संघर्षमा अर्थात् तीन ‘स’ को सिद्धान्तमा उनको जोड थियो।

राजा महेन्द्रको २०१७ सालको प्रतिगमन ‘कु’ पछि भूमिगत भएर उनले पार्टीलाई गतिशिल बनाउन भूमिका खेलेका थिए।  राजतन्त्रात्मक पञ्चायती व्यवस्था हटाउन संयुक्त जनआन्दोलनको विकल्प नरहेको ठहरका कारण  पुष्पलालको दूरदृष्टिको चर्चा आजसम्म पनि गरिन्छ।

गुट-फुटको इतिहास

नेपाली कम्युनिष्ट आन्दोलनमा फुट र गुटको अवस्थालाई हराउन नसकिएको तथ्य बिर्सन वा नकार्न सकिँदैन। रायमाझीको निस्कासनपछि आपसमै मौलाएको तुलसीलालको कुन बाटो र पुष्पलालको मूल बाटो नामक विवादले वि. सं. २०२२ मा नेपाली कम्युनिष्ट आन्दोलन साना–साना टुक्रामा विभाजित हुन पुग्यो। नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः एकीकरण गर्ने क्रममा वि.सं. २०३५ साल पुस ११ गते नेकपा (माले) गठन भयो। यसरी कम्युनिष्ट आन्दोलन पुनर्गठनको प्रक्रियामा लैजाने  पुष्पलालको योगदान अतुलनीय छ तर हालसम्म पनि नेपाली कम्युनिष्ट आन्दोलन भने विभाजनको अवस्थामा छ। 

नेपालमा निरंकुशता अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता पनि पुष्पलाल हुन्। पुष्पलालले वि.सं. २०२५ सालमा अगाडि सारेको संयुक्त जनआन्दोलनको धारणा वि.सं. २०४६ मा आएर कार्यान्वयन भएको थियो। यसैको जगमा टेकेर वि.सं. २०६२/२०६३ को जनआन्दोलनमार्फत् नेपालमा राजतन्त्र उन्मूलन र गणतन्त्र स्थापना भयो। 

नेपालमा वाम तथा प्रजातान्त्रिक आन्दोलनमा महत्र्वपूर्ण योगदान पुर्‍याएका पुष्पलाल कम्युनिष्ट आन्दोलनको साझा सम्पत्ति र एउटा लोकप्रिय सर्वोच्च व्यक्तित्व हुन्।

(पुष्पालाल स्मृति दिवसका सन्दर्शमा )

Logo