नेपाली आकाश सुरक्षित रहेको घोषणा

नेपाली आकाश सुरक्षित रहेको घोषणा

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट हटाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ। सन् २०१३ देखि नेपाल यो सूचीमा रहँदा नेपाल असुरक्षित मानिन्थ्यो । आइकाओको बिहीबार बसेको एसएससी संपरीक्षण कमिटी बैठकले नेपाललाई यो सूचीबाट हटाउने निर्णय गरेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ । ‘निकै ठूलो मिहिनेतपछि शुक्रबार नेपालले आइकाओबाट खुसीको खबर प्राप्त गरेको छ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘नेपालमाथिको गम्भीर सुरक्षा चासो हटाउँदै नेपाली आकाश सुरक्षित रहेको सुनिश्चित गरेको छ ।’

आइकाओका मापदण्ड पालनास्तर ६६.०८ प्रतिशत 
आइकाओले निर्धारण गरेका सुरक्षा अभिवृद्धिसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको सूचीमा समावेश गरिएको थियो । आइकाओले हवाई सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने आठवटा क्षेत्रमा बनाइएका मापदण्ड, सिफारिस तथा मार्गदर्शनलाई आधार मानेर नम्बर दिने गर्छ । ६० प्रतिशत औसत पार गर्ने मुलुकलाई एसएससी सूचीबाट बाहिर निकालिन्छ । सन् २०१३ मा नेपालको अन्तर्राष्ट्रिय मापदण्ड तथा सिफारिसको परिपालनादर ५४.८० प्रतिशत थियो । अहिले ६६.०८ पुगेको प्राधिकरणले जनाएको छ । आइकाओका एक सय ९१ राष्ट्रको अडिटपछि निकाल्ने एसएससी सूचीमा अब ६ वटा मुलुक बाँकी छन् । जसमा थाइल्यान्ड एक हो।

विश्वव्यापी औसत कम भएका क्षेत्रमा लाग्छौँ 
शंकरप्रसाद अधिकारी 
सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय 
आइकाओको अडिटमा विश्वव्यापी औसतभन्दा निकै कम रहेका दुई क्षेत्र संगठन र दुर्घटना जाँचको क्षेत्रमा हामीले धेरै सुधार गर्नुपर्नेछ । यसका लागि मन्त्रालयले कानुनी तथा संगठनात्मक सुधारका क्षेत्रमा काम सुरु गरिसकेको छ ।

अब इयूको प्रतिबन्ध फुकुवाको पहल थाल्छौँ 
सञ्जीव गौतम, महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण 
पछिल्लो चार वर्षमा हामीले आइकाओले औँल्याएका कमजोरी सुधारका लागि सरोकारवाला निकायको सहयोगमा निरन्तर खटिएका थियौँ । यसको सकारात्मक नतिजा आएको छ । यसैका आधारमा अब निकट भविष्यमा हामी इयूको प्रतिबन्ध फुकुवाका लागि पहल गर्दै छौँ ।

जुलाई मिसनको नतिजा 
आइकाओले सन् २००९ मा पहिलोपटक नेपालको आठवटै क्षेत्रमा उडान सुरक्षा अडिट गरेको थियो । अडिट मिसनले आइकाओको मापदण्ड र सिफारिस कार्यान्वयन तथा दुर्घटना न्यूनीकरणका लागि सुझाब दिएको थियो । अडिटमा देखिएका कमीकमजोरी र सिफारिसको मूल्यांकन गर्न पुनः सन् २०१३ मा आइकाओबाट अर्को मिसन नेपाल आएको थियो । सो मिसनको संपरीक्षण अडिटबाट नेपालले वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने सम्बन्धमा आइकाओबाट निर्धारित प्रक्रिया पालना नगरेको पाइएपछि गम्भीर सुरक्षा चासोको सूचीमा समावेश गरिएको थियो । त्यसपछि नेपालले सन् २०१७ मा अन्तिमपटक अडिटका लागि आइकाओबाट टोली माग गरेको थियो । सोहीअनुरूप २० देखि २७ असारसम्म आइकाओको टोलीले अडिट गरेको थियो । सोही टोलीले प्रतिवेदनका आधारमा नेपाल एसएससीबाट हट्न सफल भएको हो ।

कालो सूची हटाउन युरोपेली युनियनमा अपिल गर्ने तयारी 
अन्तर्राष्ट्रिय नियामक निकाय (आइकाओ) को गम्भीर सुरक्षा चासोबाट हटेसँगै अब नेपालले युरोपेली युनियन (इयू)सँग हवाई सुरक्षा सूची (कालो सूची) बाट हटाउन अपिल गर्ने भएको छ । ‘हामी अहिले पनि इयूको सेफ्टी लिस्टमा छौँ,’ प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘इयूले सेफ्टी लिस्टको आधार एसएससीसमेत बनाउने भएकाले हामीसँग अब बलियो आधार छ ।’

Logo