“सहयोग गर्नुहोस्, म बाँच्न चाहन्छु”

“सहयोग गर्नुहोस्, म बाँच्न चाहन्छु”

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ६ साउन । हेमराज गिरी १५ महिनाका हुँदा उनकी आमाले अर्कैसँग दोस्रो विवाह गर्नुभयो । बुबा पनि अर्की आमा ल्याएर अलग्गै बस्नुहुन्छ । 

आफ्ना ठूलो बुबाका घरमा बस्दै आएका सान्नी–त्रिवेणी गाउँपालिका–१ कालीकोटका १२ वर्षीय गिरीलाई एक्कासि रक्त अर्बुद (रक्त क्यान्सर) देखा प¥यो । गिरी २०७४ साल वैशाखदेखि ‘ब्लड क्यान्सर’ सँग जुधिरहेका छन् । 

गिरीको ‘बोनम्यारो’(अस्थी मज्जा) बदल्नु पर्नेछ । उनको उपचारका लागि कम्तीमा रु १५ लाख खर्च लाग्ने चिकित्सकको भनाइ छ । चिकित्सकले १० दिनभित्र बोनम्यारो बदल्न सुझाव दिएका छन् तर अथै अभावका कारण आफूहरुले उपचार सुरु गर्न नसकेको आफन्तको भनाइ छ । 

कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौँमा गिरीको उपचार गर्न दाइ (माहिला बुबाको छोरा) नवराजले समाजसेवी मिलन कार्की र देवीराम देवकोटाले सहयोग जुटाउँदै आउनुभएको छ । “जति खर्च भए पनि म बाँच्न चाहन्छु, पैसा खोजेर भए पनि उपचार भएर म बाँचेँ भने त्यो पैसा कमाएर तिर्नेछु, मलाई सहयोग गर्नुहोस्”, पीडित गिरीले सहयोगका लागि याचना गर्नुभयो । 

कान्ति अस्पतालमा उपचार सम्भव नभए थप उपचारका लागि भारत लैजानुपर्ने चिकित्सकले सल्लाह दिएको नवराजले जानकारी दिनुभयो । उपचारका लागि रु दुई लाख ७६ हजार सहयोग रकम संकलन भइसकेको छ । 

मध्यपश्चिम क्षेत्रीय अस्पतालले उनको उपचारका लागि कान्ति अस्पतालमा सिफारिस गरेको थियो । समाजसेवी कार्कीले पीडित गिरीको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारका लागि देश र विदेशमा रहनुभएका सम्पूर्णमा सहयोगका लागि आग्रह गर्नुभएको छ । “उपचार नपाएर मृत्युसँग लडिरहेको जानकारी पाएपछि हामीहरू हेमराज बचाउने अभियानमा लागेका हौँ, व्यक्तिगत खर्चबाटै मैले उपचार सुरु गरेकी छु”, कार्कीले भन्नुभयो । 

सहयोगका लागि पीडित गिरीका दाजु नवराजका नाममा रहेको मेगा बैंक (महाराजगञ्ज शाखा) को खाता नं ०२०००५००८५२६७ मा सहयोग जम्मा गर्न आग्रह गरिएको छ ।  

“हामीले सोचेभन्दा धेरै खर्च लाग्ने रहेछ, हामी एक्लैले नसक्ने भएका कारण सबैसँग सहयोगको लागि अनुरोध गर्दर्छौैँ, केही सहयोग जुटेको छ तर त्यतिले नपुग्ने रहेछ, त्यसैले सहयोगका लागि सबैमा आग्रह गर्दछु”, नवराजले भन्नुभयो ।

-सुशील दर्नाल/रासस

Logo