मेलम्चीको पाइपलाई बनाउदा भएका खाल्डोहरु पुरिदै

मेलम्चीको पाइपलाई बनाउदा भएका खाल्डोहरु पुरिदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना सुरु भएको छ ।

सडक दूरवस्थाका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले साउन १ गते आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाई १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिनुभएको थियो । यसको समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र पनि गठन गरेको थियो ।

मेलम्ची आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिचछ्याएको थियो । मनसुन सुरु भइसकेकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारी साधनको आवागमनमा असर पर्ने भएकाले निर्देशनालयले बाँकी सडकखण्ड खन्न पूर्णरुपमा बन्द गरेको छ । सामाखुसी क्षेत्रमा पाइप बिच्छ्याउने निर्देशनालयको कार्यक्रम नरहेको जनाइन्छ ।

निर्देशनालयले थोक वितरण प्रणालीका लागि ६० दशमलव ६ किलोमिटर पाइपलाइन बिच्छ्याउनुपर्नेमा हालसम्म पानी पोखरीहरुसम्म पानी प्रवाहका लागि महत्वपूर्ण ५१ दशमलब ५ किलोमिटरको काम सकेको छ । त्यसैगरी, वितरण सञ्जाल सुधारका लागि ६ सय ७० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा हालसम्म ६ सय १० किलोमिटर पाइपलाइन बिच्छ्याइएको छ । उपत्यकामा पानी वितरण गर्न पानी भण्डारणका लागि महांकालचौर, पानीपोखरी, बाँसबारी, टिग्नी, बालाजु र खुमलटारका पानी पोखरीको काम सकिएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौँका विभिन्न स्थानमा निरीक्षण गरी बिग्रिएका सडकलाई तुरुन्तै मर्मत गर्न निर्माण व्यवसायीलाई स्थलगत रुपमै निर्देशन दिनुभयो । बत्तीसपुतली, रातोपुल, चावहिल, चुच्चेपाटी, कपन क्षेत्रमा बिग्रिएका सडकको मर्मत सुरु गरिएको निर्देशनालयले जनाएको छ । यी सडकलाई आगामी दश दिनभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो ।

कुल ७ सय ३० किलोमिटर वितरण सञ्जालमध्ये २ सय ३० किलोमिटर सडकमा र ५ सय किलोमिटर पाइप पैदलमार्ग (फुटपाथ) मा बिच्छ्याइएको निर्देशनालयले जनाएको छ । २ सय ३० किलोमिटरमध्ये पनि मूल सडकमा २६ किलोमिटर मात्र पाइप बिच्छ्याइएको उहाँले जानकारी गराउनुभयो । यसमध्ये २४ किलोमिटरमा अस्थायी कालोपत्र ‘प्राइम कोट’ गरी सकिएको छ । चावहिल र महाराजगञ्ज क्षेत्रका केही भागमा दुई किलोमिटर सडकमा ‘प्राइम कोट’ गर्न बाँकी छ ।

यसैगरी, चावहिल, चुच्चेपाटी क्षेत्रमा बर्सातको पानी जम्न नदिन जम्मा भएको माटो फाल्ने काम शुरु गरिएको छ । रासस

Logo