च्यातिएको मतपत्रको छिटो समाधान दिन उम्मेदवारद्धारा आग्रह

च्यातिएको मतपत्रको छिटो समाधान दिन उम्मेदवारद्धारा आग्रह

केन्द्रबिन्दु
0
Shares

चितवन, २ साउन । भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् ।

दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दा समेत भरतपुर महानगर भने अन्योलमा छ । भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वोच्च अदालतनमा पुगेको छ । उक्त मुद्दाका कारण यहाँ जितेर बसेका जनप्रतिनिधिले समेत काम गर्न पाएका छैनन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त समूहबाट महानगरपालिका प्रमुखका उम्मेदवार रेणु दाहालले चाँडै निर्णय आए मतदातालाई समेत सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो, दाहालले भन्नुभयो, काम रोकिएको जस्तो महसुस भइरहेको छ ।

नेकपा (एमाले) बाट महानगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पनि निर्णय आउन ढिलाइ भएको जनाउँदै चाँडै निर्णय आए राम्रो हुने प्रतिक्रिया दिनुभयो । विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवका आधार सर्वोच्चले हेर्ला, ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

अहिले दुवै उम्मेदवार अदालतमा निर्णयको पर्ख र हेरको अवस्थामा छन् । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध भरतपुर–१९ मा एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सो मुद्दामा अदालतले हाललाई जे जस्तो अवस्थामा छ सो अवस्थाबाट अगाडि नबढाउनू भनी आदेश दिएपछि प्रक्रिया रोकिएको छ ।

त्यसपछि पटक पटक पेशी तोक्दै आएको अदालतले आजका लागिसमेत पेशी राखिएकामा फेरि सरेको बताइएको छ ।

जेठ १४ को मध्यरात पौने १२ बजे भरतपुर–१९ को मतगणना हुँदै थियो । २ हजार ८ सय ९७ मत खसेको मध्ये १ हजार ८ सय ९ मत गनेर सकिएको थियो । यसमा ज्ञवालीले ४१ हजार ६ सय ४१ तथा दाहालले ४० हजार ९ सय ८ मत ल्याएका थिए । उनीहरुको मतान्तर ७ सय ३३ थियो । उक्त वडामा १ हजार ८ सय ९ मत गन्दा दाहालले ५१ मत बढी ल्याएकी थिइन् । अब करिब १ हजार र केही मत गन्न बाँकी थियो । अनि भरतपुर २० को ३ हजार ३ सय २ मत गन्न बाँकी नै थियो ।

राति पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो जसमा ९० मत च्यातिएको पाइएको थियो । एमालेले माओवादी कार्यकर्ताले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले कब्जा गर्न लागेका बेला मतपत्रको सुरक्षा गर्ने क्रममा च्यातिएको जिकिर गर्दै आएको छ । (रासस)

Logo