चूडामणि शर्मासहित ३ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

चूडामणि शर्मासहित ३ विरुद्ध विशेष अदालतमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १ साउन, काठमाडौं ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीनजनाविरुद्ध ‘कर निर्धारणमा अनियमितता गरेको’ आरोपमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैँया बिगो माग दावी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले यसअघि शुक्रबार नै शर्मालाई बिशेष अदालतमा पुर्याए पनि मुद्धा दायर हुन सकेको थिएन ।

भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ । कर निर्धारणमा अनियमितता गरेको दावी गर्दै शर्मासहित तीननाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको विशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले जानकारी दिएका हुन् ।

अख्यियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानविन थालेदेखि नै कर फस्र्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार छन् भने आयोगका सदस्य–सचिव समेत रहेका शर्मा अख्तियारकै हिरासतमा छन् ।

अख्तियारले कर फस्र्यौट आयोगका सबै फाइल झिकाएर अनुसन्धान गरेको हो । अनुसन्धानका क्रममा अर्बौंको भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ । अख्तियारले कर छली गरेका कम्पनीहरूको विवरण समेत दायर मुद्दामा उल्लेख गरेको छ ।

स्मरणीय छ, चूडामणि शर्माकी पत्नी कल्पना उप्रेतीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पनि सुनुवाई जारी छ ।

Logo