डोलेश्वरमा भोलिदेखि मेला, टोकन अनिवार्य

डोलेश्वरमा भोलिदेखि मेला, टोकन अनिवार्य

केन्द्रबिन्दु
0
Shares

३१ असार, काठमाडौँ । सूर्यविनायक नगरपालिका– ८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा भोलिदेखि सुरु हुने साउने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले डोलेश्वर मन्दिरमा भोलिबाट ३८ दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि केदारनाथको शिर डोलेश्वर मन्दिरसम्म कलशयात्रा गरी समुद्घाटनसँगै मेला सुरु हुने उनले बताए ।

आगामी भदौ ६ गतेसम्म सञ्चालन हुने मेलामा रु.दुई करोड बराबरको आर्थिक तथा जिन्सी संकलन गर्ने लक्ष्य राखेको उनको भनाइ थियो । गत वर्षको साउन मेलामा रु. एक करोड ६६ लाख संकलन गरेको बताउँदै उनले यसवर्ष रकम थप हुने र संकलित रकम मन्दिरको गुरुयोजना निर्माणमै खर्च गरिने बताए ।

मेला भर्न नेपाल र विभिन्न देशबाट करिब २० लाख दर्शनार्थी आउने अनुमान गर्दै लाइन बसेको एक घण्टामै दर्शन गर्ने व्यवस्था मिलाएको समितिका वरिष्ठ उपाध्यक्ष किरण थापाले जानकारी दिए । लाइन नमिचियोस भनेर लाइनमा बस्नेलाई १ नम्बरदेखि १०० सम्मको टोकन बाँड्ने र त्यही टोकनको नम्बरअनुसार लाइन बस्ने व्यवस्था गरिएको उनको भनाइ छ । रासस

Logo