भूकम्पपीडित किसानलाई रु ६२ लाख राहत

भूकम्पपीडित किसानलाई रु ६२ लाख राहत

केन्द्रबिन्दु
0
Shares

३१ असार, चितवन । भूकम्पबाट गोठ, खोरलगायत पूर्वाधारमा क्षति पुगेका पशुपालक किसानलाई राहत वितरण शुरु गरिएको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । 
कार्यालयका प्रमुख डा डिल्लीराम सेढाइँकाअनुसार जिल्लाको ईच्छाकामना गाउँपालिकाबाट उक्त राहत वितरण शुरु गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यक्रमअन्तरगत ती किसानलाई जीविकोपार्जनमा सुधार ल्याउन तथा पशुपक्षी पुर्नस्थापन कार्यक्रम सञ्चालन गरी राहत दिन थालिएको हो । 

सो कार्यक्रम अन्तरगत यो वर्ष जिल्लाका ६१४ जना किसानले रु ६२ लाख छ हजार प्राप्त गर्ने छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार आएको राहत रकम वितरण गर्न शुरु गरिएको हो । 

समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले असारको दोस्रो साता बसेकोे समितिको बैठकले सो राहत वितरणको अनुमोदन गरेको बताउनुभयो । सोही निर्णयानुसार जिल्लामा राहत दिन थालिएको हो । 

यसरी राहत पाउनेमा दारेचोकका १५३, चण्डिभञ्याङका ८२, लोथरका १२० परिवार छन् । यस्तै अन्य राहत पाउने किसानमा कोराकका १०६ घर, कविलासका १६, सिद्धिका तीन, भरतपुरको एक तथा खैरहनी र रत्ननगरका ११÷११ घर रहेका पशुसेवा कार्यालय चितवनका प्रमुख डा सेढाईले जानकारी दिनुभयो । उक्त कार्यक्रम अन्तरगत २०० गोठ, असी गोठ, कुखुराको खोर ६० वटामा क्षति पुगेकाले राहत दिइने छ । 

यस्तै जीविकोपार्जन अन्तरगत बोका ८० वटा, बाख्रा ३० वटा, कुखुरा दुई हजार, बुंगुर १०० वटा, डाले घाँसका विरुवा सात हजार तथा मिनरल ४०० केजी वितरण हुने छ । पशुआहार नेपिएर ६५ हजार थान वितरणसँगै तीन पटक पशुस्वास्थ्य व्यवस्थापन कार्यक्रम हुने जनाईएको छ । रासस

Logo