प्रदेश नं. २ मा चुनावी तयारी सुरु, पहिलो दल बन्ने कांग्रेसको दाबी

प्रदेश नं. २ मा चुनावी तयारी सुरु, पहिलो दल बन्ने कांग्रेसको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ। आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्‍याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ। 

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त गर्ने र निर्वाचन कार्यक्रमबारे तयारी थालेको आयोगले जनाएको छ। जिल्लामा मतपत्र समेत पठाइसकिएको छ। पहिले नै मतपत्र पठाइसकेकाले आयोगले नयाँ निर्णय नगरेसम्म मतपत्रमा नयाँ निर्वाचन चिह्न थप गरिनेछैन।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार २ असोजको निर्वाचनका लागि नयाँ मतपत्र छापिने छैन। राजपा दल दर्ता प्रक्रियामा रहेकाले आयोगले नयाँ निर्णय नगरेको हो। राजपाले माग गरेअनुसार छाता चिह्न दिने हो भने मतपत्र पुनः छाप्नुपर्ने हुन्छ। तर, आयोगले अहिलेसम्म यो निर्णय गरिसकेको छैन।

तत्काल उक्त चिह्न दिन नसकिने आयोगले बताइसकेको छ। २ नम्बरमा पहिलो दल  बन्ने कांग्रेसको लक्ष्य निर्वाचन अगाडि संविधान संशोधन गर्न नसक्दा प्रदेश नम्बर २ मा सहज नतिजा नआउने चिन्ता पनि कांग्रेसलाई छ। त्यही विषयमा कांग्रेसले तराईका नेताहरूसँग छलफल गर्दैछ।

‘हामी संशोधन टुंग्याउन चाहन्छौँ, तर एमालेले मानेन। राजपा पनि अगाडि बढाउन चाहन्छ कि चाहन्न भन्ने पनि प्रस्ट छैन। संशोधनमा कसले साथ दिन्छ भन्दा पनि कोसँग जाँदा कांग्रेस कमजोर बन्छ भन्नेमा राजापामा देखिन्छ,’ नेता प्रकाशशरण महतले भने, ‘यी सबै विषयलाई चिर्दै हामी रणनीति बनाउन छलफल गर्न लागेका हौँ।’

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० तहमा पछि परेको कांग्रेसले २ नम्बर प्रदेशमा पहिलो दल बन्ने दाबी गरेको छ। तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका एक सय २७ तहमा तेस्रो चरणमा निर्वाचन हुँदैछ।

संविधान संशोधनमा लचिलो बन्ने एमालेको संकेत एमालेले मधेसका मुद्दा र समस्या समाधानमा अग्रसर हुने घोषणा गरेको छ। अध्यक्ष केपी ओलीले बिहीबार मधेसका बुद्धिजीवीसँगको छलफलमा आफ्नो पार्टी समस्या समाधानका लागि विशेष अग्रसरताका साथ अघि बढेको बताए। जायज माग र समस्या समाधान गर्न मधेससँगै प्रत्यक्ष संवाद सुरु गरेको उनको भनाइ छ।

‘सत्तापक्ष एमालेलाई जानकारी नै नदिई संशोधन प्रस्ताव तयार पार्छ, दर्ता गरेपछि जे–जे तयार छन्, ती सबैमा समर्थन गरिदिनुपर्ने कुरा गर्छ, निर्णय प्रक्रियामा लैजाऔँ भन्दा संसद्बाट प्रस्ताव च्यापेर सत्तापक्ष भाग्छ,’ ओलीले भने, ‘यो देश अरूले होइन, तपाईं–हामी मिलेर बनाउने हो, बुद्धिजीवी साथीहरू भावनामा बहकिएर या आग्रह पालेर होइन, तथ्यसहित बताइदिनुस्, हामी सबै कमजोरी सच्याउन तयार छौँ, यो संवाद एमाले तराईका समस्या समाधानमा अझ तीव्रताका साथ अग्रसर भयो भन्नका लागि आयोजना गरिएको हो।’

उनले कुनै वैरभाव नराखी सबै मतभेद सुविस्तारसहित खुला दिलले छलफल गरेर समाधान दिन एमाले मैदानमा आएकोसमेत प्रस्ट्याए।

Logo