म्यादीमा असफल भएकी तुल्सी सुनार उपप्रमुखमा सफल

म्यादीमा असफल भएकी तुल्सी सुनार उपप्रमुखमा सफल

केन्द्रबिन्दु
0
Shares

स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो। आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन्। स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उनी उत्तिर्ण भइन्। आजको अन्‍नपूर्ण पोस्टमा खबर छ। 

धेरै खुड्किला पार गरेपछि म्यादी प्रहरी बन्ने उनमा धेरै आत्मबल बढेको थियो। तर, विडम्बना अन्तर्वार्तापछि उनी अन्तिम छनोटमा परिनन्। आफू मात्र नभई सँगै आएका तीन जना साथीसमेत छनोट हुन सकेनन्। उनीहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउँछिन्। सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा छन्। घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू/ससुरा रहेको उनले बताइन्।

३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो।

कांग्रेसमा आबद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताव उनले सहजै स्वीकारिन्। टिकट पाएपछि उनी चुनावी प्रचारप्रसारमा व्यस्त भइन्। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुई जना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी भइन्।

एमालेबाट उम्मेदवार बनेकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उनी विजयी भएकी हुन्। सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाइन्।

गाउँपालिकामा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भए पनि कांग्रेसले सफलता हासिल गरेको हो। कम्युनिस्टको बलियो आधार क्षेत्र भनेर चिनिने उक्त गाउँपालिकामा यसपालिको निर्वाचनमा कांग्रेसले सफलता हात पारेको छ। गाउँपालिकाको प्रमुखमा कांग्रेसकै नेता विष्णुकुमार गिरी विजयी भए। ७ वडामध्ये ४ वटामा कांग्रेसले जित हासिल गरेको छ।

म्यादी प्रहरीमा छनोट हुन नसके पनि आफूलाई कुनै पछुतो नभएको सुनारले प्रतिक्रिया दिइन्। पाँच वर्षका लागि गाउँपालिका उपप्रमुखमा विजयी भएपछि उनले आफूलाई भाग्यमानी ठानिन्। ‘जनताले भोट हालेर मलाई विजयी गराउनुभयो’, सुनारले भनिन्, ‘पाँच वर्षसम्म जनताको सेवामा लाग्नेछु।’

जिल्लाकै दुर्गम गाउँ समेटेर बनेको उक्त गाउँपालिकावासीको जीवनशैली परिवर्तनमा आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ। ‘विकास निर्माणका पूर्वाधारले यस गाउँपालिका धेरै पछाडि परेको छ’, उनले भनिन्, ‘सबैको साथ र सहयोगले सुगम गाउँपालिका बनाउनेछौं।’ सञ्चार, विद्युत्, सडक, स्वास्थ्यलगायत सुविधाका हिसाबले यो क्षेत्रका नागरिकले अझै परिवर्तनको महसुस गर्न नसकेको उनी सुनाउँछिन।

‘धेरै महिलाको भीडमा तुल्सीजीलाई छानेको हौँ’, प्रमुखमा विजयी गिरीले भने, ‘चुनावमा हारजित स्वभाविक हो। अबका दिनमा सबै मिलेर विकास निर्माणतर्फ हाम्रो ध्यान जानेछ।’ विगतका वर्षदेखि बाढीपहिरोले सताइरहने यस क्षेत्रमा विशेष योजना बनाएर अघि बढ्ने तयारी भइरहेको समेत उनले जानकारी गराए। उत्तरपूर्वी प्युठानका विकटमा पर्ने साविकका रजवारा, अर्खा, पुँजा, लिवाङ, नारीकोट र खुङ गाविस मिलेर गौमुखी गाउँपालिका बनेको छ। यसै महिनामा पहिरोमा पुरिएर रजवारमा एकजनाको ज्यान गइसकेको छ। थुप्रै घर पहिरोको उच्च जोखिममा छन्। रजवारा, अर्खा क्षेत्र पहिरोको उच्च जोखिममा रहेका कारण विशेष योजना बनाएर अघि बढ्ने तयारी गरेको प्रमुख गिरीले बताए।

Logo