वर्षातले पठन-पाठनमा समस्या, खेलमैदान भत्कियो

वर्षातले पठन-पाठनमा समस्या, खेलमैदान भत्कियो

केन्द्रबिन्दु
0
Shares

दुनै (डोल्पा), ३० असार । यहाँको एक विद्यालयमा अविरल रुपमा परेको बर्सातले खेलमैदान लगायतका संरचनामा क्षति पुर्‍याएपछि पठनपाठनमा समस्या उत्पन्न भएको छ । 

एक सातादेखि अविरल रुपमा परिरहेको बर्सातले तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाअन्तर्गत वडा नं ८ ओक्टमा पर्ने रारा निम्न माध्यमिक विद्यालय अगाडिको सिँढी, पर्खाल तथा खेलमैदान भत्काएपछि पठनपाठनमा समस्या उत्पन्न भएको प्रधानाध्यापक लङ्कमान रोकायले जानकारी दिनुभयो । 

विद्यालयको बाहिरी संरचनामा क्षति पुर्‍याएकाले कक्षा कोठासम्म आवत जावत गर्न समस्या हुनाका साथै विषयगत खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्न समेत समस्या भएको प्रधानाध्यापक रोकायले बताउनुभयो । बर्सात जारी रहेकाले फेरि पनि कक्षाकोठा नै भत्किने हो कि भन्ने डरले त्रासपूर्ण वातावरणमा पठनपाठन सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । 

उक्त विद्यालयमा प्रावि र निमावि तहमा गरेर ३०६ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । रासस 

 

Logo