काँग्रेसका इमानदार तथा सादगी नेता जोशीको निधन

काँग्रेसका इमानदार तथा सादगी नेता जोशीको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ । 

दम र निमोनियाको उपचारमा रहनुभएका नेता जोशीको आज साँझ ७ : ३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उहाँका भतिजा विष्णु जोशीले राससलाई जानकारी दिनुभयो । घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उहाँ ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो । 

विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ २००३ सालमा कलकत्तामा नेपाली का‌ंग्रेस स्थापना भएदेखि नै सक्रिय हुनुहुन्थ्यो । जोशी इमानदार, कर्मठ र सादगी नेताका रुपमा चिनिनुहुन्छ । उहाँ प्रजातन्त्र प्राप्तिको आन्दोलनमा निरन्तर सक्रिय हुनुहुन्थ्यो । 

नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहनुभएका उहाँ अविवाहित हुनुहुन्थ्यो ।

आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उहाँ विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो । काँग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । रासस 

Logo